बुधबार, २७ अगस्ट २०२५

दश सुपर स्टार दानवबाट मान्छेलाई रक्षा गर्ने ‘इटर्नल्स’ बनेपछि...

• • •

ओस्कार अवार्ड बिजेता निर्देशक क्लोई जाओले एञ्जेलिना जोली, रिचर्ड मेडन, सलमा हायक र किट हेरिङ्ग्टन जस्ता सुपर स्टारलाई लिएर निर्माण गरेको 'सुपर हिरो'को सिनेमा 'इटर्नल्स' शुक्रबार विश्वव्यापी रूपमा रिलिज भएको छ।

सिनेमा क्षेत्रका चर्चित नामहरू भएको कारण दर्शक सिनेमा हेर्न जानु कुनै नौलो कुरा भएन तर मार्वल सिनेमेटिक युनिभर्सको पहिलेको सिनेमा जस्तो 'रौँ' ठाडो पार्ने एक्सन दृश्यभन्दा मानवता र भावनालाई जोड दिइएको छ। यसबाट एक्सन दृश्य हेर्न पल्केका 'टिन एजर्स' दर्शक निरास हुनसक्ने छन्।

सिनेमाको कथा अनुसार दश अमर सुपर हिरोको समूह 'इटर्नल्स'लाई पृथ्वीको रक्षा गर्न ब्रह्मांडबाट पठाइएको हुन्छ। यो समूहले सात हजार वर्षदेखि रहेको डेबिएण्ट्स नामको दानवबाट मान्छेहरुलाई रक्षा गर्नुपर्छ। यो समूहको नेता एजेक (सलमा हायक) भए पनि सबैभन्दा शक्तिशाली इकरीस (रिचर्ड मेडन) छन्।

समूहमा यिनीहरुको साथै बलवान गिल्ग्मेस (ड्न लि), भाबुक सरसी (जेमा चेन), साहसी फास्टोस (ब्रायन टायरी हेनरी), अरुलाई हँसाई रहने किङ्गो (कुमाइल अली नान्जिनी), बलवान थिना (एन्जेलिना जोली), अरुको मस्तिष्कलाई नियन्त्रण गर्न सक्ने ड्रयूग (बेरी कियोगन) र आफ्नो रुप बदल्न सक्ने स्प्राइट (लिया मैकह्यू) छन्। साथै डेबिएण्ट्सलाई खत्तम गरिसकेपछि टोली नेता एजेकको आज्ञा अनुसार पृथ्वीको अर्कै–अर्कै ठाउँमा सामान्य जीवन बिताउन जान्छन। तर, केही समयपछि उनीहरुलाई डेबिएण्ट्स मरेको छैन भन्ने सूचना आउँछ र फेरि सबै एकै ठाउँमा जम्मा हुन्छन। तर, त्यो दानव डेबिएण्ट्स नभई अर्कै कोही हुन्छ र उनीहरुलाई डेबिएण्ट्सको बारेमा एउटा ठूलो रहस्यको बारेमा जानकारी हुन्छ। त्यो रहस्य के थियो ? यो सिनेमा हेरेपछि मात्र थाहा पाउन रमाइलो हुन्छ।

फिल्म समाप्त हुने समयमा केही इन्टरल्सहरू फाेटाे: Marvel Studios

बोल्न र सुन्न नसक्ने तथा समलिङ्गी सुपर हिरो भएको यो सिनेमामा एक्सनलाई भन्दा इमोसन्स (भावना)लाई महत्व दिइएको छ यद्धपि मुटु हल्लिने एक्सन नभएको भने होइन। यसको सबै जस द्वन्द निर्देशक जेम्स कक्स र उनको सम्पूर्ण टिमलाई जान्छ।

सिनेमाको स्पेसल इफेक्ट र भिज्यूल इफेक्ट पनि अत्यन्तै उच्चस्तर को छ। सबै कलाकारहरु सुपर स्टार भएको कारण यिनीहरुको अभिनयमा खोट लगाउने ठाउँ छैन। सानो भूमिकामा हिन्दी सिनेमाका हास्य कलाकार हरिस पटेलले पनि अभिनय गरेका छन् तर सिनेमा मा उनको खास काम नभएको कारण उनी हुनु र नहुनुमा कुनै फरक पर्दैन।

समग्रमा निर्देशक जाओ आफ्नो प्रयासमा सफल छन्। तर, सिनेमा कलाकारहरुको भीड भएको कारण कुनै–कुनै ठाउँमा कथा अल्मल्लिएको हो कि जस्तो लाग्छ।

सुपर हिरोको कथा मनपर्ने र अंग्रेजी भाषामा राम्रो दखल भएकाहरुले यो सिनेमा अवश्य हेर्नुहोला तर पंक्तिकार जस्तो अंग्रेजी भाषा राम्रोसँग नबुझ्ने दर्शकलाई भने सिनेमा हेरेको हो भन्दा हो भन्ने जवाफ दिनुबाहेक कुनै खास मनोरन्जन गर्दैन।

सोमबार, कार्तिक २२, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!