कोरोनापछि लयमा फर्किएको बाह्रकुने दह [भिडियाेसहित]

Breaknlinks
Breaknlinks

दाङको बाह्रकुने दह जिल्लाका प्रमुख पर्यटकीय स्थलमध्येको एक हो। यो दह विशेष गरेर धार्मिक पर्यटकीय स्थलका रुपमा रहेको छ।

सिरानमा अग्लो पहाड। वरपर सुसाइरहने जंगल। जंगलको बीचमा शान्त ताल नै बाह्रकुने दह हो। तालको बीचमा एउटा मन्दिर छ। ताल बाहिर अन्य मन्दिर पनि छन्।

जहाँ पूजापठा गरे मागेको पुग्ने विश्वास गरिन्छ। यो दह घोराही उपमहानगरपालिका वडा नं. १३ मा अवस्थित छ। घोराही बजारदेखि उत्तरतर्फ रोल्पा जानेबाटो हुँदै करिब १० मिनेटको मोटर यात्रा गरे दहमा पुग्न सकिन्छ।

यो तालमा १२ वटा कुनाहरु भएको हुनाले यसको नाम “बाह्रकुने ताल” रहन गएको भनाइ छ। सुन्दर प्रकृतिको मनोरम दृश्य देखिने बाह्रकुने तालको सौन्दर्य अतुलनीय छ। खासगरी माघेसंक्रान्तिको दिन यहाँ श्रद्धालु भक्तजनहरूको ठूलो मेला लाग्ने गर्दछ।

बाह्रकुने दहको पश्चिमतर्फ ज्यामिरे दह छ। बाह्रकुने दहमा पुग्ने जोकोही पनि ज्यामिरे दहमा पुग्ने गरेका छन्। यो पनि जंगलको बीचमा शान्त ठूलो तालका रुपमा रहेको छ।

कोरोना महामारी पछि बाह्रकुने दहमा पुजापाठ गर्न, घुम्न जानको भिड रहने गरेको छ। अहिले बाह्रकुने दह क्षेत्रमा विभिन्न संघ संस्थाहरुले कार्यक्रमसमेत गर्न थालेका छन्।

आउने माघेसंक्रान्तिमा मेला लगाउनका लागि तयारी पनि थालिएको छ। बाह्रकुने दह हुँदै ज्यामिरे जाने बाटोमा केही दिनअघि मात्र सरसफाई गरिएको छ।

यस्तो छ बाह्रकुने दह

प्रकाशित मिति: : 2021-11-22 16:37:00

प्रतिकृया दिनुहोस्