विश्वकी चर्चित युवा राजनीतिज्ञ जसिण्डा अर्डर्न, जो ‘म’ भन्दा ‘हामी’ भन्न रुचाउँछिन्

धेरै कम त्यस्ता युवा महिला–नेतृ छन्, जो आफ्नो सुझबुझ र राम्रो नेतृत्व क्षमताबाट विश्व प्रसिद्ध छन्। पछिल्लो समय विश्वलाई नै आफ्नो प्रतिभा र नेतृत्व क्षमताबाट चकित पारेकी छिन्– न्यूजिल्याण्डकी प्रधानमन्त्री र न्यूजिल्याण्ड लेबर पार्टीकी नेता जसिण्डा अर्डर्नले।

१९८० जुलाई २६ मा न्यूजिल्याण्डको ह्यामिल्टन भन्ने ठाउँमा जन्मिएकी जसिण्डा न्यूजिल्याण्डकी एक राजनीतिज्ञ हुन् जो ३७ वर्षमै देशको प्रधानमन्त्री बनेकी थिइन्। अगस्त २०१७ मा न्यूजिल्याण्ड लेबर पार्टीकी नेता बनेकी उनी अक्टोबर २०१७ मा डेढ सय वर्षभन्दा बढी समयपछि देशको सबैभन्दा कम प्रधानमन्त्री बनेकी हुन्।

मोरिन्सभिल कलेजमा अध्ययन गरेर वाइकाटो विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध र व्यावसायिक सञ्चार विषयमा स्नातक गरेकी जसिण्डा १८ वर्षको उमेरमा न्युजिल्याण्ड लेबर पार्टीमा सामेल भएकी थिइन्।

विश्वविद्यालय शिक्षापछि जसिण्डाले प्रधानमन्त्री हेलेन क्लर्कको सल्लाहकारको रूपमा र लण्डनमा सरकारी मन्त्रिपरिषद् कार्यालयमा समेत विभिन्न भूमिकाहरूमा काम गरेकी छन्। हेलेन क्लर्क उनको राजनीतिक हिरो र संरक्षक पनि थिइन्।

जसिण्डा सन् २००८ मा संसद् सदस्यमा निर्वाचित भएकी थिइन्। त्यसैगरी २०१७ मा माउन्ट अल्बर्ट निर्वाचकहरूको लागि सांसद् र त्यसै वर्ष लेबर पार्टीको संसदीय दलको नेता बनेर उनी सेप्टेम्बर २०१७ मा प्रधानमन्त्री नियुक्त भएकी हुन्। आफू प्रधानमन्त्री भएलगत्तै उनले २०१८ मा छोरी नेभलाई जन्म दिइन्।

संसदमा आफ्नो कार्यकालमा, जसिण्डाले बालबालिका, महिला र हरेक न्यूजिल्याण्डका नागरिकको अर्थपूर्ण काम र अधिकारका लागि कडा वकालत गरेकी छिन्। उनी ल्यान्डमार्क बाल गरिबी न्यूनीकरण ऐनका लागि जिम्मेवार व्यक्ति हुन्।

शून्य कार्बन ऐनको स्थापना र भविष्यमा न्यूजिल्याण्डमा हुने तेल र ग्यास अन्वेषणमा प्रतिबन्धजस्ता पहलहरूमार्फत् जलवायु परिवर्तनमा नेतृत्व लिएकी हुन्।

राष्ट्रिय सुरक्षा तथा गुप्तचरमन्त्री र बाल गरिबी न्यूनीकरण मन्त्रीको भूमिका पनि उनैले निभाएकी छिन् जुन विशेष गरी उनको हृदयको नजिकको मुद्दा थियो। उनी मन्त्री सेवाका लागि जिम्मेवार र कला, संस्कृति तथा सम्पदा मन्त्री पनि भएकी हुन्।

उनको राजनीतिक प्रोफाइल प्रख्यात हुँदै गएपछि उनको व्यक्तित्व र व्यक्तिगत जीवनका विवरणहरू अझ राम्ररी परिचित हुन थाले। उनी प्रशारण व्यक्तित्व क्लार्क गेफोर्डसँग रोमान्टिक सम्बन्धमा संलग्न थिइन्, जो २०१६ मा एक टेलिभिजन कार्यक्रम ‘फिश अफ द डे’ को होस्ट बनेर प्रख्यात थिए।

दुवैबाट एक छोरीको जन्म भएको छ, नेभ तीन वर्ष भइन्। २०१८ मा उनी कार्यालयमा हुँदा बच्चा जन्माउने दोस्रो विश्व नेता बनिन्। त्यसलगत्तै उनले नेल्सन मन्डेला शान्ति शिखर सम्मेलनमा तीन महिनाकी छोरी नेभलाई आफ्नो काखमा लिएर भाषण दिएकी थिइन्।

जसिण्डा युवा प्रधानमन्त्री भएर लोकप्रिय त छँदै थिइन् अझ सन् २०२० देखि फैलिएको कोरोना भाइरस महामारीविरुद्ध राम्ररी काम गरेकाले विश्वभरि उनको नै प्रशंसा गरिएको छ।

अन्य देशहरूको तुलनामा न्यूजिल्याण्डले कोरोना भाइरस महामारीविरुद्ध द्रूत र कडा रूपमा कार्य गरेको छ। यस देशले भाइरस फैलिन नदिन पनि धेरै काम गरेर सतर्कता अपनाएको छ।

न्यूजिल्याण्डमा करिब ५० लाख नागरिक छन्। अझसम्म पनि भाइरसबाट जम्मा २५ जनाको मात्र मृत्यु भएको छ जुन अन्य देशको तुलनामा निकै कम हो।

भर्खरै गरिएको एक वैज्ञानिक अध्ययनमा अन्वेषकहरूले पत्ता लगाएकी महिला नेताहरूले (जसिण्डा सहित) कोरोनाभाइरसको फैलावट रोक्न ‘धेरै छिटो र निर्णायक रूपमा’ कार्य गरेका छन्।

जसिण्डाले स्वेच्छिक रूपमा आफू र कोरोना भाइरस तलब कटौतीबाट प्रभावित व्यक्तिहरू बीचको ‘अन्तर कम गर्न’ २०५ तलब कटौती पनि गरेकी थिइन्।

उनको कडा परिश्रमको प्रशंसामा गर्न गत वर्ष उनलाई बेलायतकी महारानी एलिजाबेथले फोन गरेकी थिइन्। न्यूजिल्याण्डमा पनि बेलायती महारानीलाई नै महारानी मानिन्छ।

जसिण्डा भूकम्प, आतंकवादी हमला र कोभीड रोकथाम मार्फत न्यूजिल्याण्डको लोकप्रिय नेता बनेकी छिन् र चम्किदै आएकी छिन्, जहाँ यस्तो समस्यालाई लिएर अन्य नेताहरूको आलोचना भएको पाइएको छ।

उनले नेतृत्वको लागि पूर्ण रूपमा आधुनिक दृष्टिकोण लिन्छिन्। यो स्पष्ट छ कि उनले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय समकक्षीहरूभन्दा फरक नेतृत्वलाई अँगालेकी छिन्। उनले ‘म’ भन्दा पनि ‘हामी’ को प्रयोग गर्छिन्। वास्तवमा अन्य देशको राजनीतिज्ञहरुले पनि यसरी नै सोच्ने हो भने केही फरक अवश्य हुने थियो।

प्रकाशित मिति: : 2021-11-29 17:24:00

प्रतिकृया दिनुहोस्