‘राजसंस्थाको पक्षमा सडक तातेका बेला राप्रपाका नेताहरु बेपत्ता भए’

कमल प्रभात

काठमाडौं
File Photo
File Photo

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री हुन्, राजेन्द्रप्रसाद लिङ्देन। जसले राप्रपाकाे जारी एकता महाधिवेशनमा अध्यक्ष पादकाे लागि आफ्नाे उम्मेदवारी दिएका छन्। राजसंस्था अथवा राजा, जनताले प्रत्यक्ष निर्वाचित गरेको कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक सांसद, क्षमताको आधारमा संवैधानि अङ्गहरुमा नियुक्ति, दलितले होइन गरीबले आरक्षण पाउनु पर्ने, पूर्णरुपमा भ्रष्ट्रचार मुक्त समाज निर्माणलगातका मुद्दाहरू लिएर अध्यक्षमा उम्मेदवारी दिएका लिङ्देनसँग कमल प्रभात विकले गरेकाे कुराकानी प्रस्तुत छ :

अध्यक्ष पदमा तपाईंको उम्मेदवारी किन ?

मेरो उम्मेदवारी कुनै पदीय महत्वकांक्षाभन्दा पनि राष्ट्रिय प्रजातान्त्र पार्टी आफ्नो जीवनको अशाध्यै कमजोर अवस्थामा छ। ३१ वर्षको इतिहासमा हाम्रो पार्टी खिइदै–खिइदै कम्जोर हुँदै आउने क्रममा अहिले सर्वाधिक कम्जोर अवस्थामा छ। यो राष्ट्रिय पार्टीको रुपमा समेत छैन। विभाजित हाम्रो पार्टी फेरि हामीले एकीकण गर्‍यौँ। एकीकरण गरेको दुुई वर्ष वित्दा पनि हाम्रा नेताहरुले पार्टीमा सुधार र विकासका कुनै संकेतहरु देखाउनु भएन। यो बीचमा ठूला–ठूला राष्ट्रिय मुद्दाहरु र घटनाहरु भए त्यस्तो अवस्थामा राप्रपा कहाँ छ भन्ने थाहा भएन। त्यस्तो अकर्मण्य मात्रै भएन, बरु उहाँहरु झगडा गरेर बस्नुभयो।

एकछिन एकले अर्काेलाई सघाए जस्तो गर्‍यो भने पनि फेरि दुई महिनापछि उहाँहरु झगडा गर्नुहुन्छ। त्यसपछि पार्टी विभाजन हुन्छ। त्यो पार्टी विभाजनबाट रोक्नको लागि र अहिले उहाँहरुले जुन ढङ्गले पार्टीलाई अगाडि बढाईरहनु भएको छ। त्यही ढङ्गले पार्टीलाई सुस्त हिसाबले अगाडि लैजाने हो भने पार्टीले बढीभन्दा बढी उपलब्धि गर्‍यो भने पनि तीन प्रतिशत कटाउने मात्रै हाे। कुनै पार्टीसँग मिलेर दुई/चार सीट जित्ने। र, ८/१० सीटको पार्टी बनाउने र सत्ता सझेदारी गर्ने अनि पालोपोलो मन्त्री खानेभन्दा ठूलो उहाँहरुको उद्देश्य देखिएन।

हाम्रो पार्टीको उद्देश्य त्यतिमात्रै होइन। राप्रपालाई देशको अग्रणीय पार्टी बनाउने, ठूलो पार्टी बनाउने र त्यसको बलबाट राजसत्ता र हिन्दूराष्ट्र पुनस्र्थापना गर्ने भनेर हिँडेका हामी २/४ सीटमा अल्झिनु हुँदैन। अब राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको नेतृत्वमा हामीले विकल्प खोज्नुपर्छ। एउटा विकल्प तय गरेर राप्रपालाई देशमा हिन्दू राष्ट्र चाहिन्छ, राजसत्ता चाहिन्छ, भ्रष्ट्रचारको अन्त्य हुनुपर्छ देशभित्रै हाम्रो भाइछोराहरुले गरी खाने वातावरण गराउनुपर्छ भन्ने सबैको सझा केन्द्रको रुपमा विकसित गर्ने उद्देश्यका साथ नेतृत्व परिवर्तन एउटा प्रस्तानविन्दु हुनुपर्छ भनेर मैले उम्मेदवारी दिएको हुँ।

राजसंस्थाले चाहिँ यो पार्टीमा के चाहान्छ ? पुरानै नेतृत्व कि नयाँ ?

त्यो कुरा त म कसरी जानौँ। तपाईंहरु त्यही गएर सोधे हुन्छ। तर, मैले के अनुमान गर्छु भने राष्ट्रिय प्रजातन्त्र पार्टी जसले नेपालमा राजसंस्था चाहिन्छ भनेर हिँडेको छ। त्यो पार्टी यसरी निदाएर सुतेर बसेको, देशभरीका मानिसहरु राजसंस्थाको पक्षमा सडकमा निस्किएको बेला राप्रपा बेपत्ता भएर बसेको कुरा त त्यो संस्थालाई पनि मनपर्छ जस्तो त मलाई लाग्दैन।

भेटघाट भएर कुराकानी त भएको होला नि ?

भेटघाट भनेको त कमल थापाले पनि अस्ति गर्नुभयो। हामीले पनि कहिलेकाँही भेटघाट गर्छाैँ तर यो विषय यसरी छलफल भएको छैन।

पदाधिकारी चयनमा सहमतिका कुराहरु पनि छन्। यदि त्यस्तो भयो भने तपाईं पछि हट्नुहुन्छ कि नाई ? 

सहमति हुँदा हाम्रो पक्षमा हुन्छ। 

कमल थापाले तपाईंलाई सहमतिमा अध्यक्ष पद दिनुहोला जस्तो लाग्छ ? 

सानो आशा बाँकी राखेका छौँ। उहाँले अहिले सम्म जे योगदान गर्नुभयाे, यदि आफूलाई संस्थापन नेता मान्नुहुन्छ भनेर राष्ट्रिय प्रजातन्त्र पार्टी सधै जिवित रहोस्, राप्रपा अगाडि बढ्यो भने मात्रै मेरो इतिहास पनि जिवित रहन्छ। र, मेरो गुमेको राजनीतिक साखः पनि फेरि मैले पाउँन सक्छु भन्ने उहाँले चाहानु हुन्छ भने अन्तिम क्षणमा आएर पनि सहहृदयका साथ मैले पनि नयाँ नेतृत्वलाई साथ दिँए भन्नु सक्नुहुन्छ।

अध्यक्ष हुनुभयाे भने पहिला तपाईं के काम गर्नुहुन्छ ? 

हामीले ६ महिनाभित्रमा राप्रपा बाहिर भएका राज र हिन्दू राष्ट्र चाहिन्छ भन्ने सबै व्यक्ति, समूह, संस्था, संगठन र पार्टीहरुलाई एकताबद्ध गरेर एउटा राष्ट्रिय शक्तिको निर्माण गर्ने छौँ। र, त्यो शक्तिको आधारमा हामीले निर्वाचनको तयारी गर्दै सडक संघर्षको पनि प्रारम्भ गछौँ। जहाँबाट छिटो हुन्छ त्यतैबाट राजसंस्था स्थापना गछौँ।

राजसंस्था ल्याएर तपाईंहरु पछाडितर्फ फर्किने भन्नुभएको हो ? 

हामी पछाडि फर्किने होइन। पुरानो व्यवस्था तर्फ जाने पनि होइन। हामीले  नयाँ व्यवस्थाको परिकपना गरेका छौँ। अबको नयाँ व्यवस्था जो राप्रपाले परिकल्पना गरेको छ। त्यो नयाँ व्यवस्थापमा राष्ट्रप्रमुखको रुपमा राजसंस्था अथवा राजा, जनताले प्रत्यक्ष निर्वाचित गरेको कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक सांसद जाे मन्त्री हुन पाउँदैनन्, क्षमताको आधारमा संवैधानि अङ्गहरुमा नियुक्ति हुने, दलितले होइन गरीले आरक्षण प्राप्त गर्ने, पूर्णरुपमा भ्रष्ट्रचार मुक्त समाज र हाम्रा भाइछोराहरुले देशमै गरी खाने वातावरण यी उद्देश्यमा हामी नयाँ बाटोका साथ अगाडि बढ्छौँ।

तपाईंले यही मात्रै भनेको भरमा जनताले पत्याउँलान ?

अहिले तपाईं पोल (सर्वाेक्षण) गरी हेर्नु न। ‘तपाईं राजेन्द्र लिङ्देलले यसो भनेको छ। यो ठिक हो कि होइन ? भनेर पोल गरेर हेर्नुहोस्। मलाई लाग्छ कि आम जनताको चाहाना यही छ। तर, यही चाहानालाई राप्रपाको नयाँ नेतृत्वले बाहिर ल्याउन सकेन, हाक्न सकेन अथवा यो नेतृत्वलाई जनताले पत्याएन। त्यसकारण एकपटक हात फेरौँ।

अब जुवाडेले त हात फेरौँ भन्छ। उहाँहरुले लामो समयसम्म नेतृत्व गरी प्रयास गरेर काम गर्नु भयो तर भएन नि। १५ वर्षमा गर्न नसकेको काम १६ वर्षमा गर्न सक्छौँ भनेर हामी पत्याउँछौँ। यो त एउटा व्यक्तिको कुरा होइन नि। पार्टीकाे मात्र कुरा होइन नि हामीले बोकेको एजेण्डाको कुरा पनि हो।

त्यसकारण अहिले मात्रै यो कार्यकारणीय पदमा स्थान परिवर्तन गरौँ भन्ने कुरा हो। अहिले उहाँलाई पार्टीबाट धकेलौ, आउट गरौँ, असफल हुनुभयो भनेको होइन, भूमिका परिवर्तन गरौँ भन्ने कुरा मात्रै हो। र, नेतृत्व परिवर्तन गरेर जाने बित्तिकै आम देशबासीहरुको साथ र समर्थन हुन्छ र राष्ट्रिय प्रजातन्त्र पार्टीले नाटकीय रुपमा देशको राजनीतिको अग्रणीय स्थान प्राप्त गर्दछ। राजतन्त्र ल्याउँछ। 

आम नागरिकलाई यो महाधिवेशनले के सन्देश देला ?

यो महाधिवेशनले नेतृत्व परिवर्तन गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी परिवर्तित भयो र सुध्रियो, विगतका सबै कमिकम्जोरीहरु सच्यायो र काँग्रेस, कम्युनिस्ट पार्टीको विकल्प मात्रै होइन, देशको मुल केन्द्रको रुपमा विकसित हुने भयो भनेर जनताले बुझ्ने छन्। हामी त्यो सन्देश दिने छौँ।

प्रकाशित मिति: : 2021-12-04 11:35:00

प्रतिकृया दिनुहोस्