जनयुद्ध सम्झाउने रुकुम महतगाउँको युद्ध पार्क (भिडियाेसहित)

सुरेन्द्र राना ‘घुमफिरे’

रुकुम पूर्व (महतगाउँ)
Breaknlinks
Breaknlinks

रुकुम पूर्वकाे भूमे गाउँपालिका– ६ अवस्थित महतगाउँ मगर जातीको बाहुल्यतासँगै र दलित मिश्रित सुन्दर बस्ती। जहाँ माओवादी सशस्त्र द्वन्द्वमा राज्यपक्षका प्रहरी र माओवादीका लडाकुबीच यही गाउँमा ठूलो भिडन्त भएको थियो।

२०५६ साल असोज ६ गते महतगाउँमा भिषण युद्ध भएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताउँछन्।

माओवादी युद्ध उत्कर्षमा थियो। माओवादी लडाकुद्वारा महतको चौकी आक्रमण गरे। घण्टौसम्म भएको भिडन्तमा डिएसपी ठूले राईलाई माओवादीले नियन्त्रमा लिएकाे थियाे। त्यसबेला नेपाल सरकारको सबैभन्दा ठूलो उच्चपदस्त अधिकारीलाई माओवादीद्वारा नियन्त्रणमा लिएका थिए। जसलाई माओवादीले ठूलाे सफलताकाे रूपमा समेत मान्ने गर्छन्।

माओवादीद्वारा सञ्चालन गरेको १० वर्षे जनयुद्धको केन्द्रविन्दु नै रोल्पा र रुकुमको पहाडी भूभाग थियो। यही भूगोल सेरोफेरो माओवादी विद्रोहीका आधार इलाका थिए। माओवादीका उच्च नेताहरुको आश्रयस्थल, बैठक गर्ने, गुरिल्लाहरुको तालिमस्थल र विभिन्न राजनीतिक गतिविधि साेही स्थानहरूमा सञ्चालन हुने गर्थ्यो।

त्यही कारण यहाँ राज्यपक्ष र विद्रोही पक्षबीच थुप्रै भिडन्तहरु भएका थिए। दुवै तर्फका मानिसले ज्यान गुमाएका थिए। हालकाे भूमे गाउँपलिका–६ (साविकको महत गाविस)मा रुकुम जिल्लामै सबैभन्दा धेरै ५८ जनाले ज्यान गुमाएका थिए।

यही युद्धको सम्झना स्वरुप महत गाउँदेखि करिब २० मिनेट पूर्व तर्फ केही उकालो हिँडेपछि तत्कालिन गाउँ, स्कुल र चौकीको नमूनामा स्यान्ड मोडेलस्वरुप तयार पारिएको छ। हातहतियारसहित गुरिल्ला कमाण्डर र लडाकुहरुको प्रतिमा बनाइएको छ। निकै कलात्मक ढंगले निर्माण गरिएको स्यान्ड मोडल हेर्दा त्यसबेलाको ससस्त्र द्वन्द्वको झल्को दिन्छ।

यो स्थललाई युद्धपार्कको रुपमा विकास गरिएको गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए।

गाउँपालिका प्रमुखका निर्वाचित भएदेखि समग्र गाउँपालिकाको विकासमा आरोहत्र खटिएका अध्यक्ष बुढामगर पर्यटनक्षेत्रमा समेत गहिरो चासो राख्ने नेताको रुपमा चिनिन्छ। अध्यक्ष बुढामगरको आफ्नै परिकल्पनामै केही वर्ष अगाडि युद्ध फिचरसमेत निर्माण भइसकेको छ।

हिजोको इतिहासलाई जिवित राख्न र आउने पुस्ता र पर्यटकहरुलाई अध्ययन अवलोकन गर्ने माध्यम होस् भनेर सम्झना स्वरुप यस ठाउँलाई विशेष महत्वमा राखेर पर्यटकीय स्थलको रुपमा पार्क निर्माण गर्ने योजना रहेको उनले बताए। यही सेरोफेरोमा माओवादी गुरिल्लाद्वारा निर्माण गरिएका ठूला–ठूला बङ्करको अवषेश समेत अझै देख्न सकिन्छ।

युद्ध पार्कमा निर्माण गरिएको युद्ध फिचर, स्यान्ड मोडल र बङ्करको संरक्षण गरेर एउटा सुन्दर पार्कको परिकल्पना गरेका छन अध्यक्ष बुढामगरले।

'अझै थप निर्माणकार्य वाँकी छ र आगामी दिनमा यसको थप पूर्वाधार निर्माणमा जोड दिँदै जाने हो,' पार्क भ्रमणको क्रममा उनले बताए।

विश्वभर फैलिएको कोरोना महामारीले यात्रामा ब्रेक लागेको थियो। रोल्पा रुकुमको भूगोल नटेकेको पनि करिब २ वर्ष हुन लागेको थियो। गत महिना अचानक पोखरेली पर्यटनकर्मी मित्र तारानाथ पहारीलगायत युवा भाइहरु अनिल पहारी र शिशिर पहारी सहितको टोली 'भटभटे टूर'मा रुकुम र रोल्पा यात्रा निस्किएका थियौं।

पोखराबाट हिँडेको हाम्रो पहिलो बास बाग्लुङको गल्कोटमा भयो। दोस्रो दिन मध्य पहाडी लोकमार्ग पछ्याउँदै वुर्तिबाङ हुँदै निशी भल्कोट, करिव ३२ सय मिटरको पातिहाल्ने छेडाँ हुँदै रुकुम पूर्वको भूमे गाउँपालिकाको केन्द्र खावाङ बजारमा पुगेका थियौं। हामीले भटभटेमा करिब २२० किमी पार गर्दै क्रान्तिकारी भूमे पुगेका थियौँ।

आर्को दिन करिब ५ किमी सहिद मार्ग हुँदै महतगाउँमा युद्ध पार्क घुम्ने अवसर जुरेको थियो।

महतगाउँमा शान्तिको प्रतिक बुद्ध प्रतिमा, सहिद स्मारक र युद्ध पार्क छ। यहाँ घुम्न आउने जो पनि आन्तरिक पर्यटक एकपटक युद्ध पार्क अवलोकन गर्न पुग्छन। साथै घुम्नलाई गाउँ सुन्दर र  स्थानीय बासिन्दाहरु आत्मिय छन्। यहाँकाे परम्परागत भेषभूसा र कला संस्कृतिमा धनि छ याे ठाउँ। प्रत्येक वर्ष असार १ गते १८ मगरात क्षेत्रकै ठूलो भूमे पर्व धुमधामले मनाइन्छ।

कसरी पुग्नेः

रुकुमकोटबाट पूर्वतर्फ मध्यपहाडी मार्ग हुँदै करिब १७ किमी खाबाङ बजार। त्यस्तै पोखराबाट वुर्तिबाङ हुँदै करिब २२० किमी खावाङ बजार। यहाँबाट करिब ५ किमी सहिद मार्ग हुँदै महतगाउँ पुगिन्छ। त्यस्तै थबाङबाट पश्चिमतिर करिब ९ किमीमा पुगिन्छ।

प्रकाशित मिति: : 2022-02-13 09:40:00

प्रतिकृया दिनुहोस्