पूर्वराजा ज्ञानेन्द्रको आशीर्वादमा लिङ्देनको उदय, ‘पूर्वपञ्च’को पगरी फुकालेको राप्रपाको नयाँ चिनारी के ?

कमल प्रभात

काठमाडौं

संवैधानिक राजतन्त्रको वकालत गर्ने देशको प्रमुख दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनले नयाँ अध्यक्षका रुपमा राजेन्द्र लिङ्देनलाई निर्वाचित गरेको छ।

राप्रपाको विद्यार्थी राजनीतिबाट आएका लिङ्देनले पञ्चायत कालदेखि एक प्रमुख राजनीतिक हस्त खेलाडी एवम् बहालवाला अध्यक्ष कमल लापालाई निर्वाचनमै २२७ भोटको अन्तरले पराजित गरिदिए।

लिङदेनलाई कमल थापाले नै राजनीतिमा अघि बढाएका थिए। कमल थापाकै ‘स्कुलिङ’बाट आएका लिङ्देनलाई राप्रपाकै अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीले सार्वजनिक रुपमा अध्यक्षका रुपमा अघि सारे। अनि पशुपतिसमशेर राणाले पनि मौन बसेर समर्थन जनाए।

०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले दलका नेताहरुलाई घरमै नजरबन्द गरी ‘सैनिक कू’ मार्फत् सत्ता हत्याएपछिको शाही सरकारमा थापा उपप्रधानमन्त्रीसहित गृहमन्त्री थिए। ०६३ को राजनीतिक परिवर्तनसँगै नेपाल गणतन्त्र बन्यो। राजा ज्ञानेन्द्र नारायणहिटी छाडेर नागार्जुन बसाइँ सरे।

त्यसपछि ‘राजतन्त्रसहितको हिन्दू अधिराज्य’ स्थापनाको एजेण्डासहित थापाले ‘राप्रपा नेपाल’ नामको राजनीतिक दल गठन गरेका थिए। पहिलो संविधानसभामा ४ सीट जितेको राप्रपा नेपालले संविधानको विपक्षमा मतदान गरी आफूलाई ‘सैद्धान्तिक प्रतिपक्षी’ का रुपमा स्थापित गरेका थिए।

दोस्रो संविधानसभा निर्वाचनमा राप्रपाले आफ्नो अवस्थामा सुधार गर्‍यो। प्रत्यक्षतर्फ चुनाव नजिते पनि काठमाडौंबाट राप्रपा नेपालले समानुपातिकतर्फ सबैभन्दा बढी मत पाएको थियो। ६०१ जनाको संविधानसभामा २५ सीटसहित मजबुत उपस्थिति देखाएको थियो। 

नेपालको राजनीतिका एक जना दरिला हस्ति हुन्, कमल थापा। उनैलाई  विस्थापित गर्दै राप्रपाको कमाण्ड सम्हालेका छन् तर निर्वाचन परिणाम सार्वजनिक हुनेबित्तिकै थापाले ट्वीट गर्दै लिङ्देनलाई बधाई त दिए तर हारको कारण पनि सँगसँगै खुलाए– पूर्व राजा ज्ञानेन्द्र शाहले आफूलाई हराए भनेर।

थापालाई हराएका लिङ्देनले अब राप्रपाको एकल नेतृत्व गर्ने छन् तर राजाले आफूलाई हराएको स्पष्ट घोषणा गरेका थापाले राप्रपामै बसेर लिङ्देनको नेतृत्वलाई सघाउने संभावना चाहिँ अत्यन्तै कम देखिन्छ। त्यसैले एकता महाधिवेशनबाट दोस्रो पुस्ताले नेतृत्व जितेको देखिए पनि एकल अध्यक्षका रुपमा पार्टीलाई अघि बढाउनु लिङ्देनका लागि सहज देखिँदैन।

राप्रपालाई धेरैले ‘पूर्वपञ्चहरुको पार्टी’ भनेर चिनिन्छ तर पञ्चायती व्यवस्थाको पतनपछि राजनीतिमा आएका दोस्रो पुस्ताका नेता लिङ्देनको उदयले अब राप्रपामाथिको ‘पूर्वपञ्च’ भन्ने उपमा अब कमजोर हुने छ तर कमल थापाले अघि बढाएको उक्त ‘कञ्जर्वेटिभ फोर्स’ लाई नयाँ चिनारीसहित स्थापित गर्नु लिङ्देनका लागि सबैभन्दा ठूलो चुनौती हो। पुरानो चिनारी मेटिने तर नयाँ बन्न नसक्ने अवस्था आयो भने ‘बूढाहरुको पार्टी’ भनेर स्थापित राप्रपा ‘न हाँस, न बकुल्ला’को अवस्थामा पुग्न सक्ने खतरा बढी छ।

विजयी घोषणा भएपछि लिङ्देनले भनेका छन्,‘अब राप्रपामा गुट छैन।’  उनले आफ्नो जितले अन्य पार्टीका युवापुस्तालाई समेत नेतृत्व दावी गर्नको लागि प्रोसाहित गरेको बताएका छन्।

०५९ साल असोज १८ को तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनलाई समर्थन गर्न गठित राप्रपा नेपालको केन्द्रीय समितिमा थापाले नै लिङदेनलाई प्रवेश गराएका थिए। अहिले चुनावका क्रममा भने उनै कमल थापाको मुख्य आलोचकका रुपमा उभिए। पछिल्लो समयमा उनले पटक–पटक नेतृत्व गरेका कमल थापाले राप्रपामा सुधार र विकासको कुनै संकेत नदेखिएको आरोप लगाएका  थिए।

नेपाली राजनीतिका एकजना हस्ती कमल थापालाई लिङदेनले यसरी पराजित गर्लान् भन्ने आँकलन शायद् थापाले पनि गरेका थिएनन्। थापाले लिङ्देन पराजित गर्न राप्रपाका पञ्चायतकालदेखिका हस्तीहरू पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्ददेखि, दीपक बोहोरा, बुद्धिमान तामाङदेखि धु्रवबहादुर प्रधान, जयन्त चन्दसम्मको साथ पाएका थिए तर पूर्वराजा ज्ञानेन्द्रको साथ थापालाई हराउन  काफी भएको कमल थापाको आरोपबाट सहजै अनुमान गर्न सकिन्छ।

अध्यक्ष जिते पनि पार्टीभित्रको समीकरण हेर्दा लिङ्देनका लागि भावी दिन त्यति सजिलो छैन। मतगणनाको परिणामअनुसार लिङ्देनले अध्यक्ष जिते पनि पदाधिकारीसहित केन्द्रीय कार्यसमितिमा कमल थापा पक्ष नै हाबी छ। त्यसैले एकता जोगाएर अघि बढ्नु र राप्रपालाई ‘देखिने’ शक्तिको रुपमा स्थापित गर्नु लिङ्देनका लागि कठिन हुनेछ।

‘राजसंस्थाको पक्षमा सडक तातेका बेला राप्रपाका नेताहरु बेपत्ता भए’

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, को हुन् लिङ्देन ?

प्रकाशित मिति: : 2021-12-05 20:42:00

प्रतिकृया दिनुहोस्