पश्चिमाहरुले जस्तै आविस्कार गर्न नेपालमा संस्कार बसाल्नुपर्छ: महावीर पुन

पश्चिमाहरुले दिनहूँ नयाँ आविस्कार गर्छन्। नयाँ आविस्कारको लागि प्रत्यत्नशिल छन्। त्यसैले आविस्कार गरेका छन्। सामान्य कामका लागि पनि हामी उनीहरुकै भरपर्नु परेको छ। नूनदेखि सुनसम्म बाहिरबाट नल्याई हुन्न।

यही बीचमा नेपालमै नयाँ शोध–खोज गर्नुपर्छ भन्ने अभियान बोकेर हिँडेका सामाजिक अभियन्ता हुन महावीर पुन। नेपालको ग्रामीण इलाकामा पहिलोपटक इन्टरनेट सेवा सञ्चालनमा ल्याएका पुनले सरकारी निकायको सहयोग नपाएपछि जनस्तरबाट सहयोग उठाएर राष्ट्रिय आविस्कार केन्द्रको स्थापना गरे।

महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविस्कार केन्द्र र आविस्कारमा नेपालपछि पर्नुको कारण के ? यावत विषयमा बिएल नेपाली सेवाकाे लागि श्याम मगरले  गरेकाे कुराकानी प्रस्तुत छ :


राष्ट्रिय आविस्कार केन्द्रबाट नयाँ आविस्कार के आउँदै छ ?

नयाँ भन्ने नै हुँदैन। पुरानो भन्ने पनि हुँदैन। केही न केही गरिरहेका हुन्छौँ। बनाउँदा बनाउँदै बनेन् भनेर बीचैमा छोेडेर पनि जान्छन्। आउने जाने त निरन्तर भईरहेको छ। चलिरहन्छ। अनुसन्धान भन्ने कुरा टुंगो नै हुँदैन। प्रोजेक्ट होइन। प्रोजेक्ट चलाए जस्तो पनि होइन। प्रोजेक्ट चलाए पो के भईरहेको छ भन्ने थाहा हुन्छ। प्रोजेक्ट चलाएको त होइन नि।

आविस्कार केन्द्रमा यति जना भन्ने पनि हुँदैन। यो वर्ष यति चिज हुँदैछ भन्ने पनि हुँदैन। यो त चेञ्ज भईराख्छ।

अहिले कति जनाको टिम छ तपाईंसँग? के–के काम भईरहेका छन् ?

त्यही त थाहा हुन्न। ३०, ४०, ५०, ६० जना भईरहन्छन्। एउटा टिम भन्ने हुन्न। नयाँ केही गर्न चाह्यो भने आउने। प्रयास गर्ने हो। भयो भने भईहाल्यो। भएन भने भएन। बनाउन प्रयास गर्ने हो।

कोही–कोहीले एक/दुई वर्षदेखि केही गराउने प्रयास गरिरहेका छन्। अहिलेसम्म भएको छैन। कसैले एक/दुई महिना प्रयास गरेर छाेडेका छन्। अनुसन्धान केन्द्रमा यस्तै बन्छ। यस्तै बनाउने भन्ने थाहा नै हुँदैन।

आउन त दिनदिनै आउँछन्, मान्छेहरु। फोन आउँछ। भनेको जस्तो बनाउँन सक्दैनन्। अचम्म–अचम्मका आइडिया पनि ल्याउछन्, कोही। आइडिया राम्रो। तर, आविस्कार केन्द्रमा गर्न नसकिने खालका आइडिया पनि ल्याउछन्, कोही। ठूल–ठूला टेक्नोलोजी प्रयोग गर्नुपर्छ। अत्याधुनिक मेसिनको प्रयोग गर्नुपर्ने हुन्छ। महँगो मेसिन भयो भने मात्र अनुसन्धान अघि बढाउन सकिने खालका हुन्छन्। पहिलादेखि नै हामीले ठूला–ठूला मेसिन जोड्ने कोशिस गरेका हाैँ तर अहिलेसम्म सकेका छैनौँ। रिसर्चका लागि औजारहरु त चाहिन्छ नि।

त्यस्ता मेसिन जोड्न धेरै वर्ष लाग्छ। कसैले एक/दुई वर्षमा जोड्ने कुरा पनि आउँदैन। मेसिनहरु पनि नयाँ–नयाँ आईरहेका हुन्छन्। पुराना मेसिनहरु डेट एक्सपायर जस्ता हुन्छन्। त्यसकारण ठूला मेसिन चाहिन्छ। नत्र भने कामै गर्न सकिन्न। अहिलेलाई यो गर्न सकिन्न बाबु हो भनेर फिर्ता पठाउनुपर्छ।

कोही गाडीको इन्जिन गराउँछु भनेर आउँछन्। गाडीको इन्जिन बनाउने मेसिन किन्न त एउटैलाई १५ देखि २० करोड पर्छ। १५, २० करोडको मेसिन त किन्न सकेका छैनौं, हामीले। मेडिकल, अस्पतालमा प्रयोग हुने मेसिन बनाउँन पनि त्यस्तै औजारहरु चाहियो। ज्ञान, सीप पनि हुनुपर्‍यो। एकैचोटी ठूलो मेसिन बनाउँन पनि गाह्रो हुन्छ। सानोबाट सुरु गरेर ठूलो बनाउँदै जाने हो।

अहिले आविस्कार केन्द्रमा २५, २६ वटा काम भईरहेका छन्। अस्ति भरतपुरको प्रदर्शनीमा १० वटा कम्प्लिट भनौं वा अहिले मोटामोटी बजार परिक्षण भईरहेका १० वटा सामान लगेको हो। सोलार ड्रायर, सागसब्जि राख्ने बाक्स, कफी बनाउने मेसिन, चियापत्ति सुकाउने मेसिन, फलाम काट्ने मेसिन, अन्न, गेडागुडी भुट्ने मेसिन, ड्रोन जस्ता चिजहरु लगेका थियौं। अरु, १० चिज निकट भविष्यमा आउँछन्।

भनेपछि, आविस्कार केन्द्रले पाैसाकाे अभावका कारण नयाँ आविस्कार रोक्नु परेको छ ?

त्यो आविस्कार केन्द्रका लागि मात्र होइन। संसारभरकै समस्या हो। अहिले हामीले गर्न सक्ने भनेकै ५, १० लाख, २० लाखसम्मको काम गर्न सक्छौं। त्यतिको खाँचो पनि हुँदैन। तर, अनुसन्धान गर्न करोडौं खर्च लाग्ने भयो भने त अहिले नै गर्न सक्दैनौं। 

त्यसकारण अहिले जो गरिरहेका छौं। ती साना–साना अनुसन्धान हुन्। ठूला अनुसन्धान भन्न मिल्दैन। साना अनुसन्धानभन्दा पनि अहिले अनुसन्धान गर्न सिकिरहेका छन्, भन्ने हो। किनभने अनुसन्धान गर्न एउटा तरिका हुन्छ। प्रोसस (प्रक्रिया) हुन्छ। त्यो प्रोसेस सिक्ने हो। स्टेप बाइ स्टेप नयाँ चिज बनाउने। अनुसन्धान गर्ने हो।

अहिले म सँग भएको टिमले सिकिरहेको छ। सिकिसकेपछि भोलि गएर ठूलो काम पनि गर्ला। कोही त्यसै छोडेर जालान्। छोडेर गए त सिक्ने कुरा नै भएन।

पश्चिमा मुलुकले जस्तै गरी आविस्कारमा फड्को मार्न हामीलाई अझैं कति समय लाग्ला ?

समय लाग्दैन। सबै लाग्ने हो भने समय लाग्दैन। ५, १० वर्षको कुरा हो। सबै लाग्ने हो भने। पूरा जनता। सिंगो राष्ट्र नै लाग्ने हो भने। नलाग्ने हो भने त सय वर्षमा पनि हुँदैन।

अहिलेको स्थिति हेर्ने हो भने ५० वर्ष भन्दा छिटो नहोला जस्तो देखिन्छ। अहिलेको सरकार। जनताको मनस्थिति। किनभने, सबैको ध्याउन्न के छ भने विदेश जाने। नेपालमै बसेर केही गर्ने भन्ने सोचाई नै छैन। बसेर गर्छु भन्नेहरुलाई पनि त्यस्तो वातावरण छैन। सहयोग छैन। समाजले त्यस्तो किसिमको सहयोग जुटाउँदैन। सरकारले पनि त्यो वातावरण बनाउँदैन। त्यसकारण अहिलेकै स्थिति हो भने त धेरै वर्ष लाग्छ। नहुन पनि सक्छ, अलिहेकै सोचाई।अहिलेकै स्थिति हो भने।

अहिले नेपालीहरुलाई महँगा–महँगा सामग्री प्रयोग गर्ने बानी परिसकेको छ। लत बसि सकेको छ। कुलतै भनौं न, किनभने नराम्रो कुरा त मनै पर्दैन। महँगो हुन पर्‍यो। विदेशमा बनेको त्यस्ता सामान प्रयोग गर्ने कुलत बसिसकेको छ। त्यो स्टेजमा पुर्‍याउन त्यही अनुसारको साथ चाहियो।प्रयास गर्नुपर्छ। त्यो प्रयास गर्दैैन। नगरेपछि कति वर्ष लाग्छ भन्ने ? गर्‍यो भने थोरै वर्षमा पनि हुन्छ। गरेन भने धेरै वर्ष पनि लाग्छ।

आविस्कार केन्द्रमा आउनेहरुले प्रयास गरिरहेका छन्। ग्रुप–ग्रुप भएर आउँछन्। कसैले कहिल्यै नगरेको काम भएको हुनाले छोडेर पनि जान्छन्। अनुसन्धान गर्ने चिज भनेको एकदमै फोकस गरेर गर्ने चिज हो। त्यति फोकस हुन सक्दैन। आउने जाने भन्ने त साधारण कुरा हो।

सरकारी निकायभन्दा पब्लिकस्तरबाट आविस्कार केन्द्रलाई बढी सपोर्ट भए जस्तो देखिन्छ। तर, तपाईंले भनि सक्नुभयो नेपालीहरु स्वदेशी उत्पादनभन्दा विदेशी उत्पादन प्रयोग गर्न बढी रुचि राख्छन् ? आविस्कार केनद्रलाई पब्लिक स्तरबाट पनि जति चाहिने हो त्यति सपोर्ट नमिलेको हो ? के भन्नु हुन्छ ?

जनसंख्याको हिसाबले भन्ने हो भने एकदमै थोरै पब्लिक सपोर्ट छ। किनभने, ३ करोड नेपालीको जनसंख्यामा ५०, ६० हजार १ लाखले सहयोग गरेको होला। त्यो भनेको राष्ट्रिय आविस्कार केन्द्रको महत्व बुझेकाले मात्रै गर्ने हो। बाँकी ३ करोडमा १ लाख घटायो भने त १ प्रतिशत पनि होइन। १ प्रतिशतले पनि सहयोग गरेको छैन। यसको महत्व नै बुझेको छैन। त्यसकारण यसको महत्व बुझाउँन एउटै कारण के छ भने प्रयास गर्दै जाने हो। प्रयास गर्दै विस्तारै काम देखाएर, गफ गरेर होइन। काम गरेर महत्व बुझाउने हो। बुझ्छ। नबुझेर सुख पनि छैन।

सरकारी निकायबाट कत्तिको सहयोग मिलेको छ ?

सरकारलाई म केही पनि भन्दिनँ। सरकारको सहयोग भन्दा पनि समाजबाट सहयोग छैन, भन्छु। किनभने सरकार पनि यही समाजबाट बनेको हो। यही समाजबाट जन्मेको। हुर्केको। चुनावमा चुनिएर माथि गएर सरकार बनेको हो। त्यसकारण सरकार पनि समाजको एउटा अंग हो। समाजमा जे जस्तो किसिमको सोचाईं हुन्छ। त्यही सोचाईंको प्रतिबिम्ब सरकार हो। 

नेपाली समाज ओभरअल हेर्दा के हो भने आविस्कार, अनुसन्धानको महत्व नबुझेको समाज हो। नेपाल त्यही कारण पछि परेको हो। अनुसन्धान, आविस्कारको महत्व आजभन्दा सय वर्षअघि, दुई सय वर्षअघि नै बुझिदिएको भए, अहिलेको स्थिति हुने थिएन। सरकारले सहयोग नगर्नु भनेको समाजको एउटा अंग भएको हुनाले एउटा संस्कार अथवा समाजमा त्यस्तो किसिमको चलन, संस्कार नबसेको हुनाले सरकारमा सहयोग गर्ने सोचाईं नआएको हो।

आविस्कार केन्द्रलाई परिस्कृत गर्दै लैजान कस्ता योजना बनाउनु भएको छ ?

योजना बनाउने होइन। आविस्कार केन्द्र कुनै युनिभर्सिटी जस्तो होइन। कुनै अस्पताल बनाएको जस्तो होइन। यो निरन्तर रुपमा चलिरहने प्रक्रिया हो। थप्दै जाने हो। समयअनुसार मान्छेको आवश्यकता पनि बद्लिदै जान्छ। बद्लिदै गएको आवश्यकता अनुसारको व्यापार हुने सामान बनाउने। त्यसकारण नयाँ बनाउने भन्ने हुँदैन। यो प्रक्रिया निरन्तर अघि बढाउनुपर्छ।

के भयाे भने हामी पनि अन्य विकसित देशहरुले जस्तै आविस्कार गर्न सक्षम हुन्थ्यौं ?

मुख्य कुरा भनेको नै संस्कार बसाल्ने हो। समाजमा त्यसको संस्कार बसाल्नुपर्छ। मैले अघि पनि भने एक प्रतिशत नेपालीले पनि यसको महत्व बुझेको छैन। बाँकी ९९ प्रतिशत जनतालाई त आविस्कार भनेको के हो ? थाहै छैन। यसको व्यापक महत्व बुझाउँन नबुझेकाहरुलाई सम्झाउँदै जानुपर्छ। म एक जनाले सम्झाएर साध्य लाग्ने हुँदैन। आविस्कारहरु नेपालमा धेरै भन्दा धेरै गर्नका लागि संस्कार बसाल्नुपर्छ। संस्कार नबसालि केही पनि काम हुँदैन। यो अनुसन्धानको मात्र होइन अरु काम पनि हुँदैन। समाजमा यो संस्कार बस्यो भने सरकारमा जानेहरुले पनि स्वतः त्यो संस्कार लिएर जान्छन्। र, उनीहरुले संस्कार लिएर गएपछि काम गर्छन्।

प्रकाशित मिति: : 2022-01-03 19:40:00

प्रतिकृया दिनुहोस्