एनआरएनए जापान चुनाव प्रकरण : प्रहरीको खोजीमा कुमार पन्तदेखि बद्री केसीसम्म, पक्राउ पर्ने डरले रातारात छाडे देश 

Breaknlinks
Breaknlinks

अरुलाई ‘स्टिममा बस्नुपर्छ, देशको प्रचलित नियम कानुनमा बस्नुपर्छ’ भन्दै आदर्शका गफ छाड्ने गैरआवासीय नेपाली संघ एनआरएनएका अधिकारीहरु आफैँ साइबर अपराध जस्तो गम्भीर अपराधमा संलग्न रहेको रहस्य खुलेको छ।

गत जुलाई ३० मा भएको एनआरएनए जापानको चुनावमा केन्द्रीय सचिवालयस्थित एमआइएस प्रणालीको चरम दुरुपयोग गरेको तथ्य यस अघि नै छरपस्ट भएको थियो।

तत्कालीन छानबिन समितिले दोषी सावित गरेका व्यक्तिहरुले नै फेरि चलखेल गर्न थालेपछि निर्वाचनका पीडितहरुले प्रहरीमा उजुरी गरेपछि नेपाल प्रहरीको साइबर ब्यूरोले उक्त मुद्धाको अनुसन्धान प्रक्रिया अघि बढाएको हो।

निर्वाचनमा सम्बन्धित व्यक्तिले नभएर अन्य व्यक्तिले आफूखुशी भोट हालेको देखिएपछि विवाद उत्पन्न भएको थियो। त्यसपछि एनआरएनए जापानद्वारा संस्थापक अध्यक्ष राजन प्रधानांगको संयोजकत्वमा गठित छानबिन समितिले केही केन्द्रीय पदाधिकारीहरुको निर्देशन, एनआरएनए जापानकै केही एडमिन र सचिवालयका आइटी विभागमा कार्यरत कर्मचारीहरुको संलग्नतामा योजनाबद्ध रुपमा धांधली गरिएको भन्ने सप्रमाण रिपोर्ट सार्वजनिक गरिएपछि उक्त घटनाको छानबिन गरी दोषीहरुविरुद्ध कारवाही गर्न माग गर्दै प्रहरीमा उजुरी परेको हो।

त्योबेला प्राविधिकसँग मिलेर इमेल ह्याक गर्ने संघकै केही पदाधिकारीले उक्त छानबिन रोक्न विभिन्न उपाएहरु लगाउँदै आएका थिए।

तर पीडितहरुको उजुरीपछि प्रहरीले यो मुद्धालाई गम्भीरताका साथ लिएपछि इमेल ह्याक गर्नेहरु र गर्न लगाउनेहरुको भागाभाग भएको छ। प्रहरीकाे फन्दामा परिने डरले उनीहरु विभिन्न कामको बहाना गर्दै नेपाल छाडेका छन्।

प्रहरीको साइबर ब्यूरोले आइटी विभागका सम्बद्ध कर्मचारीहरुसँग सोधपुछका साथै केन्द्रीय पदाधिकारीहरुलाई पनि बयानका लागि बोलाएको छ।

उक्त छानबिनबाट संघको एमआइएस प्रणालीको दुरुपयोग गरी केन्द्रको चुनावमा पनि जापानको जस्तै धांधली गर्ने योजनामा धक्का लागेपछि संघकै केही पदाधिकारीहरुको रुवाबासी सुरु भएको छ।

अहिले उनीहरु त्यही कुरालाई रोक्न नेतादेखि बिचौलियाको घरदैलो चाहार्न थालेका छन्।

कसरी गरियो जापानको चुनावमा धांधली ?

गैरआवासीय नेपाली संघ जापानका संस्थापक अध्यक्ष राजन प्रधानांगको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समीक्षा समिति गठन गरिएको थियो।

समितिद्वारा प्रकाशित २९२ पृष्ठ लामो प्रतिवेदनमा एनआरएनए जापानको सदस्यता नरहेकाहरुद्वारा ६० वटा ग्रुप मेल तयार गरी २ हजार ९ सय ४ मत अनधिकृत रूपमा मतदान प्रक्रियामा राखिएको तथ्य भेटिएको उल्लेख गरेको छ।

सिस्टम लग अनुसार १ हजार ७१३ सदस्यहरुको जानकारी विना नै इमेल परिवर्तन गरिएको प्रतिवेदनमा उल्लेख छ।

कुल ७ हजार ७ सय ५७ मत खसेकोमा ग्रुप मेलबाट २ हजार ९०४ र सिंगल इमेल दर्ता भएकाबाट ४ हजार ८५३ मत खसेको पाइएको प्रतिवेदन सार्वजनिक कार्यक्रममा बताइएको छ।

प्रतिवेदनमा उल्लेख भएअनुसार ६० वटा ग्रुप मेलबाट २ वटा देखि ४९६ सम्म मत राखिएको छ। निष्पक्ष निर्वाचन र मतदाताको मताधिकार विपरित ६० वटा ग्रुपमेल बनाई निर्वाचनको परिणामलाई प्रभावित परेको स्पष्ट हुने र यसरी तयार पारिएका मेलबाट २हजार ९७० मतदाताको सदस्यता बनाइएको त्यसमध्ये ९८ प्रतिशत मतदान गरिएको पाइएको संयोजक प्रधानांगले बताए।

अनुसन्धानको दायरामा को-को ?

सूचना प्रविधिको दुरुपयोग गर्दै आफ्नो अधिकार खोसिएकोप्रति चिन्तित पीडितहरुले दिएको उजुरीपछि प्रहरीले अध्यक्ष कुमार पन्तसहित पाँच जनालाई बयानको लागि बोलाएको छ।

ब्यूरोले उपाध्यक्ष बद्री केसी, महासचिव हेमराज शर्मा, सचिव गौरी राज जोशी, आइटी प्रमुख महेश श्रेष्ठ, एमआइएस निर्माणको जिम्मा लिएको इन्फिकेयर प्रालिका कर्मचारीलाई बयानका लागि बोलाएको बताइएको छ।

एनआरएनए सचिवालय बालुवाटार स्रोतकाअनुसार पन्त, केसी, शर्मा, श्रेष्ठलगायत प्रहरीले बोलाएकाहरु प्रहरीबाट जोगिन कामको बहाना बनाएर विदेशीएका हुन्।

सचिवालयमा कार्यरत एक कर्मचारीले भने, ‘प्रहरी अनुसन्धानमा तानिएका यो मात्र हाेइन, अन्य अवैध कार्यका बारेमा समेत खुल्ने डरले उहाँहरु भाग्नुभएको हो। कानुनबाट भागेर कहाँ जानुहोला र ?’ 

प्रकाशित मिति: : 2022-02-03 19:25:00

प्रतिकृया दिनुहोस्