मङ्गलबार, १२ अगस्ट २०२५

हामी नेपाली सोझा कि मूर्ख?

News Image
• • •

अरुण सरकार

हाम्रो देशको विडम्बना के छ भने राष्ट्र निर्माणको चर्चा र योजना धेरैजसो विदेशी भूमिमा हुन्छ, तर कार्यान्वयनको मैदानमा नेपाल सुनसान रहन्छ। 

काठमाडौंका सडकमा, गाउँका चौतारामा र गाउँपालिकाको सभाहलमा देश विकासको विस्तृत बहस हुने सट्टा, यस्ता कुरा कतारको क्याफे, दुबईको अपार्टमेन्ट वा अमेरिकाको नेपाली रेस्टुरेन्टमा सुनिन्छ।

प्रश्न उठ्छ विदेशमा बसेर देश विकास सम्भव छ कि छैन? उत्तर स्पष्ट छ— छैन। नेपालमा हामी आफ्नैबारे कहिलेकाहीँ द्विविधामा पर्छौँ— हामी सोझा हौँ कि मूर्ख?

हामी नेताको गलत कामको दिनभर चर्चा गर्छौँ— ‘यो नेताले यस्तो गर्‍यो, त्यो नेताले यस्तो गर्‍यो।’ तर जनताले आफैं के गर्‍यो त?— चुनावमा पैसा खाने र पार्टीगत निष्ठा हेरेर मत दिने। भ्रष्टाचार देख्दा मौन बस्ने। सामूहिक समस्या भए पनि व्यक्तिगत फाइदाका लागि बिक्ने।

देश बनाउने कुरा विदेशी भूमिमा सीमित रहँदा, नेपालभित्रको नागरिक चेतना कमजोर रहन्छ। विदेशमा नेपालीहरूको जमघट हुन्छ, चर्चाहरू हुन्छन्— ‘अब नेपालमा यस्तो गर्नुपर्छ’, ‘अब देश बदल्नुपर्छ’।

तर यी बहसका मुख्य समस्या के के हुन त-

* सन्दर्भहीनता—देशभित्रको वास्तविक अवस्थासँग प्रत्यक्ष सम्पर्क हुँदैन।
* कार्यान्वयनको कमी—विदेशमा बनाएको योजना नेपाल फर्केपछि कार्यान्वयन हुँदैन।
* भावनात्मक मात्र—आवेशमा बोलेर घर फर्किँदा बिर्सने बानी।

राष्ट्र निर्माणको कार्यतालिका नेपालमै बसेर, नेपाली जनताको सहभागितामा बनिनुपर्छ। विदेशमा नेपालीहरूको जमघट हुन्छ, चर्चाहरू हुन्छन्— ‘अब नेपालमा यस्तो गर्नुपर्छ’, ‘अब देश बदल्नुपर्छ’।

अमेरिका, रुस वा चीनका नेताहरूले कहिल्यै विदेशी भूमिमा गएर आफ्नो देशको विकास एजेण्डा घोषणा गर्दैनन्।

उनीहरूले चुनावी अभियानको समय आफ्नै देशभित्र जनताको बीचमा गएर कार्यक्रम प्रस्तुत गर्छन्। विकासको योजना र एजेण्डा आफ्नै भूमिमा राखिन्छ, ताकि जनताले प्रत्यक्ष सुन्न र प्रश्न गर्न सकून्।

तर नेपालमा भने उल्टो छ— यहाँ विदेशमा बसेर ‘देश बनाउने’ योजना बन्छ, र नेपाल फर्केपछि त्यस्तो उत्साह हराउँछ। अझै चुनावी समय आयो भने, विकासको सट्टा विनाशको एजेण्डा हावी हुन्छ एकअर्काको बदनाम, चरित्रहत्या, र व्यक्तिगत आक्षेप। हामी नेताहरूको आलोचना गर्छौँ, तर आफैं जिम्मेवारीबाट भाग्छौँ।

सडकमा फोहोर देख्दा सफा नगर्ने।
विद्यालयको गुणस्तरबारे चुप बस्ने।
कर तिर्नुपर्ने बेला बहाना बनाउने।
स्वदेशी वस्तुको प्रयोगभन्दा विदेशी वस्तुको खपत बढी गर्ने। 

जब जनताले आफ्नै कर्तव्य पूरा गर्दैनन्, तब नेता मात्र दोषी हुँदैनन्। देश बिग्रनमा हामी सबैको बराबरको हात हुन्छ। नेपालमा एउटा नयाँ ट्रेन्ड देखिन्छ— विदेशमा बसेर केही समय कमाएर फर्किने र ‘अब म देश बनाउँछु’ भन्दै राजनीतिमा प्रवेश गर्ने।

त्यो कुरा हामी स्वदेशमा बस्नेले पत्याउने र लहैलहैमा लागेर देशमा पुनः अशान्ति र अराजकता फैलाउने काम गर्ने प्रवृतिले पनि यो देशले भने जस्तो फड्को मार्न सकेको छैन।

यहाँ विदेशबाट आएका नेपाली जसले धेरैजसो अवस्थामा यस्तो कुराको जानकारी राख्दैनन्! मात्र भाइरल हुन्छन् जसले गरिँदा उनीहरूसँग वास्तविक राजनीतिक अनुभव हुदैन।

जनताको दुःख र संघर्ष बुझेका हुदैनन्। विदेशी जीवनशैली र सोच देशमा जबरजस्ती थोपर्ने प्रवृत्ति सुरु गर्छन् तथा विदेशी माटो अनुसारको आचरण भित्राउने कोशिस गर्छन् जसको कारण देश विकास हुनेभन्दा पनि विनाश हुने सम्भावना बढी हुन्छ, र अझ ठूलो विडम्बना के छ भने जनताले यस्ता व्यक्तिलाई तुरुन्त ‘उद्धारकर्ता’ मानेर नेता बनाइदिन्छन्।

यो केवल देशमाथि गरिएको पुनः गद्दारी हो। नेतृत्व विकासको सही बाटो भनेको देशमै रहेर: गाउँ/नगरको राजनीति बुझ्ने। स्थानीय समस्याको समाधान गर्ने अभ्यास गर्ने। जनतासँग लामो समयसम्म प्रत्यक्ष सम्पर्कमा रहने हो।

तर यो कुरा बुझ्ने र यस्तो कार्य गर्नेलाई यहाँ नेपाली जनताले चिन्ता पनि चिन्दैनन्। यस्तो नेताले मात्र दीर्घकालीन परिवर्तन ल्याउन सक्षम हुन्छ भन्ने कुरा जनताले कहिले बुझ्ने हो। विदेशमा बसेर संकलित पैसा वा अनुभव पर्याप्त हुँदैन त्यो अनुभवलाई नेपालको माटोमा रोप्नुपर्छ।

विदेशमा बसेर कमाउनु गलत होइन तर त्यहीँबाट ‘देश बनाउने’ सपना मात्र देख्नु अवास्तविक हो। सही बाटो के हो? त्यो बुझ्नु पर्यो र विदेशमा कमाएको सीप, पूँजी र अनुभव लिएर स्वदेश फर्कनु पर्‍यो। कुनै समय चीनका देङ शियाओपिङ अमेरिकामा छात्रवृतिमा विद्यार्थी पढ्न पठाएका थिए जुन संख्या थियो हरेक वर्ष कम्तिमा ५ लाख विद्यार्थी, जसको सहजीकरण अमेरिकी राष्ट्रपति जिमी कार्टरले गरेका थिए। 

त्यो समयमा गएका विद्यार्थीमध्ये केही स्वदेश फर्किए र त्यो जानेको शिप र कला माटो सुहाउँदो हिसाबले चीनमा सुरु गरे व्यवसाय आज त्यही शिप र कलाले चीन विश्व मानचित्रमा अब्बल छ।

स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्योग सुरु गर्नु। राजनीतिक नेतृत्व होइन, आर्थिक र सामाजिक विकासको अगुवा बन्नु। बीपी कोइराला, गणेशमान सिंहजस्ता नेताहरू निर्वासनमा गए, तर अन्ततः स्वदेश फर्केर आन्दोलनको नेतृत्व गरे।

इतिहासले देखाएको छ परिवर्तनको अन्तिम लडाइँ सधैं मातृभूमिमै लडिन्छ। विदेशमा बसेर मात्र नेतृत्व गर्ने कल्पना लामो समयसम्म टिक्दैन। समस्या बुझ्न वर्षौंदेखि पानी नपाएको गाउँको पीडा विदेशमा बसेर बुझिँदैन।

सामाजिक विश्वास बनाउन नेताको काम जनताको बीचमा बस्नु हो, टाढाबाट आदेश दिनु होइन। प्रत्यक्ष कार्यान्वयन योजना तत्काल लागू गर्न सम्भव हुन्छ।

जनस्तरमा चेतना अभिवृद्धि, देश बनाउने जिम्मा नेता मात्र होइन, प्रत्येक नागरिकको हो।

स्थानीय नेतृत्व सशक्तिकरण गाउँ र नगरस्तरमै ईमान्दार नेतृत्वलाई अगाडि ल्याउनु।
विदेशी अनुभवलाई देशमा उपयोग विदेशमा कमाएको सीप र प्रविधि स्वदेशमा लागू गर्ने वातावरण बनाउने।
युवा पिढीलाई स्वदेशमै अवसर दिने रोजगारी, शिक्षा र व्यवसायका सम्भावनाहरू बढाउने।
देश निर्माणको सपना विदेशको क्याफेमा होइन, स्वदेशको चौतारामा जन्मिनुपर्छ।
विदेशमा बसेर ‘नेपाल बनाउने’ भन्ने सोच भावनात्मक हो, तर व्यवहारिक छैन।

नेपाल बन्नका लागि:

योजना नेपालमै बनाउनुपर्छ।
कार्यान्वयन नेपालमै हुनुपर्छ।
नेतृत्व नेपालमै बस्नुपर्छ।

विदेशबाट फर्किने प्रत्येक नेपालीलाई नेता बनाउनु भनेको केवल अर्को निराशाको चक्र सुरु गर्नु हो। साँचो परिवर्तन त तब मात्र सम्भव हुन्छ, जब हामी प्रत्येक नागरिकले आफ्नो जिम्मेवारी यही भूमिमा बसेर पूरा गर्छौँ। किनकि नेपाल केवल नेपालमै बसेर बन्दछ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!