आँगनमा ट्यांकी र पोल छ, पानी र विद्युत छैन

आँगनमा ट्यांकी र पोल छ, पानी र विद्युत छैन घोराही उपमहानगरपालिका–१ उपल्लो माले निवासी धनी तिवारीको घर आँगन छेउमै खानेपानीको ट्यांकी छ। त्यहीको अर्को कुनामा विद्युतको पोल गाडिएको छ। 

खानेपानी ट्याङकी र पोल घर आँगनको छेउमा भए पनि न उनले पानी पाएकी छिन् न त बत्ती नै बाल्न पाएकी छिन्। करिब दुई बर्षअघि बनाइएको खानेपानी ट्यांकी डेढ बर्षदेखि रित्तै छ।

गाउँदेखि करिब आधा घण्टा टाढा डाईचिराबाट उपल्लो मालेमा पानी पुर्र्याउनका लागि राखिएको मोटर बिग्रिएपछि डेढ बर्षदेखि ट्यांकीमा पानी छैन भने विद्युत पोल गाडेर तार तानेको एक बर्ष भैसक्दा समेत बत्ती बाल्न नपाएको धनी तिवासीले बताइन्। 

‘भएको छैन भन्ने हो भने घरछेउमै खानेपानीको ट्यांकी छ। विद्युतको पोल गाडेर तार तानिएको छ, तर बत्ती पानी केही छैन’, उनले भनिन्।

तिवारीले घरमा विद्युत जडानका लागि वाइरिङ गरेकी छिन्। तर पनि मिटर बक्स पाउन नसक्दा बत्ती दिन नसकेको विद्युत कार्यालयले बताउने गरेको उनले बताइन्।धनीले जस्तै मालेकै मालती पुनमगरले पनि गाउँमा विद्युत पुगेपछि घर वाइरिङ गरेको एक बर्ष भयो। गाउँमा विद्युत पोल गाडेर तार तानेपछि बिजुली बत्ती बाल्ने आशमा घरमा वाइरिङ गरेर मिटर बक्सका लागि २५ सय रुपैयाँ दिइसके पनि मिटर बक्स पाउन नसकेको उनी बताउँछिन्।

बत्ती नहुँदा अँध्यारोमा बस्नुपर्ने बाध्यतासँगै मोबाइल चार्ज गर्नका लागि एक घण्टा हिँड्नुपर्ने बाध्यता रहेको उनले बताइन्।

‘गाउँमा विद्युत आएपछि खुशी लागेको थियो। तर पोल गाड्न एक बर्ष लाग्यो र गतबर्ष तार तानेपछि बत्ती आयो तर बाल्न पाएका छैनौँ’, उनले भनिन्न्, ‘जसले गर्दा मोबाइल चार्ज गर्नसमेत एक घण्टा हिँडेर सिमलतारा जानुपर्ने बाध्यता रहेको छ।’ उनले विद्युत जस्तै खानेपानीको पनि समस्या रहेको बताइन्।

गाउँमा खानेपानी ल्याउनका लागि बिग्रिएको मोटर नबन्दा एक बर्षदेखि एक गाग्री पानी ल्याउनका लागि दैनिक एक घण्टा हिँड्नुपर्ने अवस्था रहेको मालतिले।

‘पानी फाल्ने मोटर बिग्रिएपछि ट्यांकी रित्तै भएको छ। त्यो बनादिनका लागि पटक–पटक वडा कार्यालयलाई आग्रह ग¥यौँ तर हाम्रो भनाई सुनुवाई नै हुँदैन’, उनले भनिन्, ‘मोटर नबन्दा करिब आधा घण्टाको दूरीमा रहेको डाईचिरा भन्ने स्थानमा रहेको मुहानको पानी खान बाध्य छौँ।’

उनले त्यो पनि गर्मी दिनमा सुकेपछि करिब दुई घण्टा बढी समय लाग्ने ठाउँमा जानुपर्ने बाध्यता रहे पनि सम्बन्धित निकायले स्थानीयको समस्यालाई बेवास्ता गर्दै आएको बताइन्।

लामो समयदेखि धारामा पानी नआउँदा स्थानीयले खानेपानीको समस्या भोग्नका साथै कतिपय ठाउँका धाराहरुमा टुटीहरु हराएको सल्लीकोट माले टोल विकास संस्थाका अध्यक्ष बिजय तिवारीले बताए। 

उनले बिग्रिएको खानेपानीको धारा सञ्चालनका लागि वडा कार्यालयदेखि खानेपानी तथा सरसफाई डिभिजन कार्यालयलाई गए पनि समस्या समाधान नभएको बताए। 

‘खानेपानीको धारा एकपटक बिग्रिएपछि बनायौँ तर त्यो पुनः बिग्रियो। त्यसपछि बनाउनका लागि वडादेखि खानेपानी कार्यालयसम्म गयौँ’, टोल विकास संस्थाका अध्यक्ष तिवारीले भने, ‘तर बिग्रिएको धाराको मोटर बनाउन कसैले ध्यान दिएनन्। जसले गर्दा गाउँमा धारा बने पनि स्थानीयलाई जंगलकै पानी खानुपर्ने बाध्यता छ।’

उनले गाउँका करिब ६० घरपरिवारसँगै विद्यालयमा समेत खानेपानीको समस्या भएको बताए।

सम्बन्धित निकायको बेवास्ताका कारण स्थानीय खानेपानीदेखि घरमा खाना बनाउने, कपडा धुने, नुहाउनेलगायतका समस्याहरु झेल्नुपर्ने बाध्यता रहेको बताए।

प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा एक घर एक धारा पुर्र्याउने लक्ष्य रहे पनि दाङको घोराही उपमहानगरपालिका वडा नंं। १ मा भने बिग्रिएको मोटर बनाउन ध्यान नदिँदा खानेपानीका धाराहरुमा समेत क्षति पुगिरहेको स्थानीय बताउँछन्।

एकहप्तामा खानेपानी सहज हुन्छ: वडाध्यक्ष पाण्डे

घोराही उपमहानगरपालिका वडा नं। १ का वडाध्यक्ष राममणी पाण्डेले उपल्लो माले गाउँमा अहिले पानीको समस्या रहेको स्वीकार्दै एक हप्तामा भित्र समस्या समाधान हुने बताए। 

‘माले गाउँमा पानी पुर्र्याउन मोटर विग्रिएपछि गएको जेठबाट त्यहाँ पानी पुगेको छैन,’ उनले भने, ‘अबको एक हप्ता भित्रै मोटर बन्छ र पानी पुग्छ।’

उनले मोटर बनाउने जिम्मा दिएको कम्पनीले बनाउन ढिला गरेकाले यस्तो समस्या आएको बताए।

वडाध्यक्ष पाण्डेले भने, ‘पम्प बनाउन जिम्मा दिएको छ। उनीहरुले ढिला गरिदिएका छन्। मैले भनिसकेको छु। अब एक हप्तामा बन्छ।’

उनले गएको जेठमा पम्प विग्रिएकै समयमा स्थानीयलाई उपभोक्ता समिति गठन गरेर काम गर्न आग्रह गर्दा पनि  उनीहरूले ढिला गरेका कारणले अहिले थप समस्या आएको बताए। 

‘जेठ महिनामा मै हो मैले उपभोक्ता गठन गरेर काम गर भनेको तर स्थानीलयले अहिले नजिकै मुलको पानी छ भनेर टारे,’ वडाध्यक्ष पाण्डेले भने, ‘अहिले नजिकको पानी सुक्यो। टाढा जानु पर्ने बाध्यता भएको छ।’

विद्युत पनि यहि वर्षमा पुग्ने वडाध्यक्ष पाण्डेले बताए। 
 

प्रकाशित मिति: : 2022-02-23 19:43:00

प्रतिकृया दिनुहोस्