लेकसाइड अब २४ घण्टै खुला, व्यवसायी उत्साहित 

पर्यटकीय नगरी पोखरा। देशदेखि विदेशसम्म सधैँ आकर्षणको केन्द्रमा रहने गर्छ। कोरोना महामारीपछि ठप्प यहाँको पर्यटन विस्तारै तंग्रिदै छ।पर्यटकको आगमनले व्यवसाय चलायमान बन्दै छ।

लेकसाइड र यहाँको पर्यटन व्यवसायसँग जोडिएर एउटा बहस सधैं सतहमा आउने गर्छ। लेकसाइड २४ घण्टा खुल्न पाउनुपर्छ। प्रशासनले यसको अनुमति दिनुपर्छ। अन्तत: लेकसाइड अब २४ घण्टै खुल्न पाउने भएको छ।

लेकसाइडका व्यवसाय २४ घण्टा खुला राख्न पाउने अनुमति गृह मन्त्रालयले दिएको छ। व्यवसाय २४ घण्टा खुला राख्न पाउने भएपछि व्यवसायी उत्साहित बनेका छन्। सरकारको यो निर्णयको व्यवसायीले खुलेरै स्वागत गरेका हुन्।

व्यवसायी हरि भुजेल गृह मन्त्रालयको यो निर्णयसँग उत्साहित छन्। ‘गृह मन्त्रालयबाट अनुमति आइसकेको छ। यो एकदमै स्वागत योग्य छ,’ उनले भने, ‘स्वागत योग्य भए पनि पेन्डामिकको समयमा हामीसँग जुन रुपमा नाइट क्लब, डान्सबार, लेट नाइट स्टे गर्ने गरी पर्यटक आइसकेको छैन। तर, यसले रोकिराखेको पर्यटनलाई चलायमान बनाउने छ।’

कहिलेकाहीँ काठमाडौंदेखि पोखरा आउने पर्यटक बिच बाटोमा पहिरोले ढिला हुने, ट्राफिक जामले राति १२ बजे मात्रै पोखरा आइपुग्ने अवस्था कहिलेकाहीँ सिर्जना हुन्छ। यसले पर्यटकलाई खाना दिन पनि नपाउने अवस्था हटेको उनले सुनाए।

‘१०/११ बजे नै पुलिस सिट्ठी बजाउँदै आउँछ। रेष्टुरेन्टको हकमा,’ उनले भने, ‘हाम्रो इन्टरनेशनल एयरपोर्ट पनि बन्दैछ। एयरपोर्ट बनेपछि २४ आवर मध्यरात पनि टेकअप र ल्याण्ड गर्छ। यसले राम्रो म्यासेज दिएको छ।’

व्यवसायी ज्याक तामाङ पनि सरकारको यो निर्णयको खुलेरै तारिफ गर्छन्। यद्यपि, २४ घण्टै खुल्ने नाउमा गलत परिभाषा गरिएको उनको भनाई छ।

‘रात्रिकालीन व्यवसाय २४ घण्टा भन्छ। रात्रिकालीन व्यवसाय कि राति मात्र हुनुपर्यो। रात्रिकालीन व्यवसाय मेक्सिमम राति २/३ बजे मात्रै हो,’ उनले भने, ‘त्यसपछि बेकरीहरु आउन पर्यो। कफीसप आउनुपर्छ, त्यसरी हो २४ घण्टा आउने।’

यद्यपि, २४ घण्टा रात्रिकालीन व्यवसाय खुल्न पाउनु राम्रो रहेको उनको भनाई छ। ‘हामी पनि बाहिर गएर खानपिन गरिरहेको बेला बन्द गर भन्दा त नराम्रो हुन्छ। त्यसमाथि लेकसाइड, स्वदेशी विदेशी, स्वदेशी नै हो धेरै रमाउने,’ उनले भने। रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने अनुमति पाए पनि व्यवस्थित हुनुपर्ने उनको भनाई छ।

अर्का व्यवसायी गणेश थापा रात्रीकालीन व्यवसायले व्यवसायीलाई हर्षित बनाएको सुनाउँछन्। रात्रिकालीन व्यवसायले सुरक्षाको चुनौती थप्छ कि भन्ने प्रश्नमा उनले रात्रिकालीन व्यवसायले पर्यटकहरु थप सुरक्षित हुने बताउँछन्।

‘रातिमा घटना हुने भनेको त एकान्त भएर हो। व्यवसाय खुलेपछि चहलपहल हुन्छ, कसरी असुरक्षित भयो ?’ उनले प्रश्न गरे। दिउँसोमा चहलपहल हुँदा घटना घट्न सक्ने डर कम भए जस्तै रात्रिकालीन व्यवसायले सुरक्षाको जोखिम पनि कम हुने उनको तर्क छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुन्दर तिवारीले रात्रिकालीन व्यवसाय सञ्चालनको लागि सुरक्षा प्रोटोकल तयार पार्न लागेको बताउँछन्।

‘सरकारले रात्रिकालीन व्यवसाय खुला गर्न अनुमति दिएको छ। रात्रिकालीन व्यवसाय खुला गर्न अनुमति दिनु भनेको चहलपहल बढोस्, आर्थिक प्रगती होस् भनेर हो,’ उनले भने, ‘अब हामी कसरी अघि बढ्ने, सुरक्षा सतर्कतालगायतका विषयमा प्रोटोकल तयार पार्दै छौं।’

प्रकाशित मिति: : 2022-03-13 18:16:00

प्रतिकृया दिनुहोस्