निर्वाचनबारे युवा भन्छन्– चुनावी एजेण्डा हेरेर मात्र भोट हाल्नुपर्छ

Breaknlinks
Breaknlinks

निर्वाचन आयोगले वैशाख ३० मा स्थानीय तहको निर्वाचन मिति तय गरेसँगै गाउँ–नगरमा चुनावी प्रभाव देखिन थालिसकेकाे छ। यतिबेला नेताहरू घोषणापत्र बोकेर टाेल–टाेलमा पुग्न थालेका छन्।

चिया पसल, चोक–गल्लीदेखि सामाजिक सञ्जालमा पनि चुनाव कै गफगाफ र चर्चा चलिरहेको छ। चुनावी विषयलाई लिएर कसैले आलोचना गरेका छन् त कसैले प्रशंसा। कतिपयले राम्रो काम गरेकाहरूलाई फेरि उठाउनुपर्ने बताइरहेका छन्।

चुनाव नजिकिँदै गर्दा राजधानी शहर पसेका युवा–विद्यार्थीहरू मताधिकार प्रयाेग गर्न र चुनावी अभियानका लागि गाउँ फर्किन थालिसकेका छन्। यतिबेला आकांक्षीसँगै मतदाताहरू पनि उत्साहित छन्।

देशभर स्थानीय निर्वाचनको माहोल तातिरहेका बेला के भन्छन् त युवा–


स्थानीय तहको निर्वाचनबारे के भन्छन् युवा ?


बागलुङकाे जैमिनी नगरपालिकाका एमसेन पुन भोट हाल्न गाउँ जाने तयारीमा छन्। देश र जनताको लागि बफादार हुने दललाई अगाडि बढाउन भोट हाल्न जरूरी रहेको भन्दै उनी गाउँ जान लागेका हुन्।

०७४ को चुनावमा उनले राष्ट्रिय जनमाेर्चामा भोट हालेका थिए। गाउँमा शिक्षा, स्वास्थ्यलगायतको समस्यालाई समाधान गर्नको लागि भोट हाल्नुपर्ने उनको भनाइ छ।

‘गणतन्त्र, धर्मनिपेक्षता, राष्ट्रियताको रक्षा र संघीयताको खारेजीको आवाज उठाउने काम जनमोर्चाले गरेको छ’, उनले भने, ‘त्यसैले जनमाेर्चालाई नै भोट हाल्नुपर्छ।’ चुनावी गठबन्धन भएको खण्डमा उसैलाई भोट हालेर जिताए गाउँ परिर्वतन हुने उनको विश्वास छ।

त्यसैगरी गुल्मीकाे इस्मा गाउँपालिका अम्मरपुरका कमल पराजुली आउँदो चुनावमा भोट हाल्ने/नहाल्ने भन्नेमा दोधारमा छन्।

उनी भन्छन्, ‘मलाई मन पर्ने उम्मेदवार भए भोट हाल्न जान्छु, नत्र आफैँ स्वतन्त्र उम्मेदवारी दिने सोच बनाएको छु। म २०६४ सालदेखि भोट हाल्दै आएको व्यक्ति हुँ। विभिन्न संगठनमा आवद्ध भएँ, तर आजसम्म त्यस्तो राम्रो नेता भेटेको छैन। अबको चुनावमा सोचेर राम्रो काम गरेकालाई मात्र भोट हाल्छु। अझ राजनैतिक दल भनेरै त भोट नै हाल्दिनँ। उम्मेदवार राम्रो भए भोट हाल्नु स्वाभाविक हो। संघीयता लागू गरेर देशलाई डुबाउन खोज्ने नेतालाई भोट हाल्दिनँ।’

यस्तै बागलुङकाे जैमिनी नगरपालिकाका दिपेन्द्र सिग्देल भोट हाल्न जरूरी रहेको बताउँछन्। आफूलाई जनमोर्चा मनपर्ने बताउँदै उनले भने, ‘मलाई विचार, विधि, शैली राम्रो लाग्ने पार्टी जनमोर्चा नै हो। जनमोर्चाले जितेको ठाउँमा त्यहाँका प्रतिनिधिले गरेको काम राम्रो छ। त्यसैले जनमोर्चालाई नै भोट हाल्छु।’


बादी समुदायको माग : पहिले लालपुर्जा, अनि भोट 


पार्टी सानो भएपनि जनमोर्चाले गर्ने काम ठूलो भएको उनले बताए। ‘पार्टीले उठाउने गरेको हरेक मुद्धा राष्ट्रको हितमा हुन्छ’, उनी भन्छन्, ‘केन्द्रमा गठबन्धन कायमै रहेकाले हाम्रो नगरमा पनि यो लागू हुने देखिन्छ, त्यसैले मेरो भोट गठबन्धनलाई हुनेछ।’

‘राष्ट्रकाे हितविपरीत एमसीसी परियोजना पास गर्ने, देश बेच्नेहरूलाई स्थानीय तहबाटै हराउनका लागि पनि जनमोर्चालाई भोट हाल्नुपर्छ’, उनले भने।

यसैगरी रोल्पाकाे गंगादेव गाउँपालिकाका तिलक केसी पनि भोट हाल्न गाउँ जाने तयारीमा छन्। आफ्नो गाउँमा गठबन्धन भए कसैलाई भोट नहाल्ने उनी बताउँछन्।

‘गठबन्धन हुन्छ भने मेरो भोट कसैलाई हुँदैन। गठबन्धन भएको खण्डमा मेरो आफ्नै स्वतन्त्र उम्मेदवारी रहनेछ। हाम्रो लडाई भनेको माओवादीसँग हो। त्यसैले हाम्रो पालिकामा गठबन्धन आवश्यकता छैन’, उनले भने, ‘म साधरण जनता होइन, विद्यार्थी मोर्चाको इकाई उपसभापति भएकोले केन्द्रले जे भन्छ, त्यही पालना गर्नु आवश्यक मान्दिनँ। गाउँको दीगो विकास गर्ने भनेको कांग्रेसले हो। त्यसैले कांग्रेसलाई भोट हालेर जिताउने हाम्रो कर्तव्य हो।’


२२ वर्षीया सुवेक्षा भन्छिन्– माओवादीलाई जसरी पनि जिताउनुपर्छ


यस्तै कञ्जनपुरकाे बेलौरी नगरपालिकाकी कविता चौधरी स्थानीय चुनावमा भोट हाल्नुपर्ने बताउँछिन्। ‘म भोट हाल्न गाउँ गएँ भने जनमोर्चालाई मेरो भोट हुनेछ’, उनले भनिन्।

आफूलाई जनमोर्चा मनपर्ने भन्दै उनले भने, ‘आजसम्म देश र जनताको हितकाे लागि काम गर्ने एउटा मात्र पार्टी भनेको जनमोर्चा नै हो’, उनले भनिन्।

साेही सन्दर्भमा दोलखाकाे कालिञ्चोक गाउँपालिकाका रविन पाण्डे पनि भोट हाल्न गाउँ जाने बताउँछन्।

स्थानीय तहको विकास गर्न र मताधिकारको प्रयोग गरी सभ्य नागरिकको पहिचान देखाउनका लागि भोट हाल्न आवश्यक रहेको उनले बताए।

यो पटक आफ्नै मान्छेको उम्मेदवारी रहेकोले चुनावमा उनलाई नै भोट हालेर जिताउने उनको इच्छा छ।

‘चुनावी एजेण्डा हेरेर मात्र राम्रो व्यक्तिलाई भोट दिने हो। अहिलेको समग्र सन्दर्भ हेर्दा एमालेले गरेको काम राम्रो छ। त्यसैले एमालेलाई भाेट हाल्छु।’

त्यसैगरी मकवानपुरकाे थाहा नगरपालिकाकी शोभा गाेपाली आफू हाल स्थानीय चुनाव केन्द्रीत भएको बताउँछिन्। आफ्नो मताधिकारकाे सुनिश्चित गर्नका लागि भोट हाल्न जरूरी रहेको उनले बताइन्।

‘पहिलेको चुनावमा पनि जनमोर्चालाई भोट हालेको हुँ, अब पनि जनमोर्चालाई नै भोट हाल्छु’, उनले भने। जनमोर्चा राम्रो पार्टी भएको बताउँदै उनले भनिन्, ‘आफ्नो भोट गलत मान्छेलाई नजाओस्, त्यसैले जनमोर्चालाई भोट हाल्नुपर्छ।’


को–को छन् रामपुरमा मेयरका आकांक्षी


प्युठानकाे स्वर्गद्वारी नगरपालिकाका तिलक पुन चुनावको प्रचारमा लागेकाे बताउँछन्। भोट हाल्नु भनेको आफ्नो मताधिकार सुनिश्चित गर्नु र सभ्य नागिरकको पहिचान देखाउनु रहेको उनले बताए।

‘एक भोटको पनि धेरै महत्व हुन्छ। त्यसैले आफ्नो गाउँमा राम्रो गरेको व्यक्तिलाई जिताउनुपर्ने अहिलेको आवश्यकता हो’, उनले भने, ‘गाउँलाई विकास चाहिएको छ। गाउँ विकासको लागि मान्छे चिन्ने समय आएको छ।’

उनी भन्छन्, ‘हाम्रो पालिकामा गठबन्धन हुने सम्भावना छ। गठबन्धन भए मेरो भोट गठबन्धनलाई नै हुनेछ। प्रतिगमनकारीलाई गाउँदेखि केन्द्रसम्म सखाप गर्न गठबन्धन आवश्यक छ। गठबन्धन नभएको खण्डमा भोट जनमोर्चालाई हाल्ने छु।’

प्रकाशित मिति: : 2022-04-09 08:21:00

प्रतिकृया दिनुहोस्