मुख्यमन्त्री शाहीकाे प्रश्न : अर्थतन्त्र खराब दिशाउन्मुख छ भनी कसले प्रमाणित गरेको छ ? (भिडियाेसहित)

महेश नेपाली

काठमाडौं

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले तलब बढाउने निर्णय स्वभाविक भएको बताएका छन्।

अन्य प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदहरुको तुलनामा कर्णालीको तलब, भत्ता कम भएको हुनाले बढाइएको मुख्यमन्त्री शाहीको मत छ।

‘अन्तकाले बढी तलव भत्ता, खान पाउने अनि कर्णालीकाले कम खाने भन्ने लाग्छ भने अलग कुरा हो,’ उनले भने,‘होइन भने यो स्वभाविक थियो। त्यसैले बढाइएको हो।’

उनले तलब बढाउने निर्णय अहिले बाहिर आए पनि अगाडि नै भइसकेको बताए।

‘१० महिना संसद चल्न नपाएका कारण अगाडि बढ्न सकेको थिएन,’ उनले भने,‘नत्र तलब बढाउने काम अगाडि नै भइसकेको थियो। अहिले त केवल प्रमाणीकरण मात्रै गरिएको हो।’

सामान्यतया शिक्षक, कर्मचारीको तलब नयाँ बजेट आएसँगै बढ्ने भए पनि मुख्यमन्त्री, मन्त्री र सांसादहरुको तलब वृद्धि बेमौसममा भएपछि प्रश्न उठीरहेका छन्।

तर, मुख्यमन्त्री शाही भने सहयोगी कर्मचारीले बढी तलब पाउने र सांसादहरुले कम पाउने कुरा प्रोटोकलले पनि नमिल्ने बताउँछन्। ‘हामीले खाली प्रोटोकल मिलाउन खोजेका मात्रै हौं,’ उनले भने,‘यो धेरै चर्चामा ल्याइनुपर्ने र आलोचना गर्नुपर्ने विषय हो जस्तो लाग्दैन।’

अर्थाशास्त्रीहरुले देशको अर्थतन्त्रमा संकट आउने अट्कल काटिरहेको बेला उनी भने प्रमाणित कसले गरेको छ भनी प्रश्न गरिरहेका छन्।

‘यदि साँच्चिकै अर्थतन्त्र खराब दिशामा गयो र संटकै आइलाग्यो भने हामी सबैले तलबै नखानुपर्ने अवस्था आउन सक्छ,’ उनले भने, ‘तपाईंहरु पत्रकारले भन्दिनु पर्‍यो अन्य प्रदेशकाले खान पाउनुपर्छ तपाईंहरुले खान पाउनु हुन्न भनेर।’

उनले कर्णाली प्रदेशले खर्चमा मितव्ययीता अपनाइरहेको बताए।

‘म हेलिकप्टर चड्दैन। यात्रा गर्नुपर्‍यो भने हवाई जहाज मात्रै प्रयोग गर्छु,’ उनले भने,‘गाडी पनि कमै मात्र चड्छु। एउटा तलबलाई मात्रै हेर्नुभएन। अरु कुरा पनि हेरिदिनु पर्‍यो।’

प्रकाशित मिति: : 2022-04-11 17:12:00

प्रतिकृया दिनुहोस्