ध्रुब बस्याल
शालीन छविकी नेतृ हुन्, शोभा चेम्जोङ पालुङ्वा। नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि उनी स्थानीय तह निर्वाचन नजिकिएसँगै उम्मेदवारीकाे दौडमा छिन्। मोरङको उर्लाबारी नगरपालिकामा मेयरको आकांक्षी उनी आफूसँगै देशभरका महिलाहरुलाई मेयरमा प्रतिस्पर्धा गर्ने वातावरण बन्नेमा विश्वस्त छिन्।
महिला सशक्तिकरणका सवालमा सशक्त आवाज उठाउँदै आएकी पालुङ्वा महिला अधिकारकर्मीको रुपमा परिचित छिन्। उर्लाबारी– ५ निवासी पालुङ्वा एकल महिला हुन्।
कांग्रेस क्षेत्रीय सभापति रहेका उनका श्रीमान सनम पालुङ्वाको अल्पायुमै निधन भइसकेको छ। हाल एक छोराका साथमा जीवन निर्वाह गर्दै आएकी उनी कांग्रेस राजनीति र महिला हकहितका सवालमा आफूलाई समर्पित गरेको बताउछिन्। प्रस्तुत छ, कांग्रेस नेतृ पालुङ्वासँग गरिएको कुराकानीको सम्पादित अंशः
उर्लाबारीको मेयर पदमा आकांक्षीमा तपाईं पनि हुनुहुँदो रहेछ नि ?
मेरो आकांक्षा स्वभाविक हो। राजनीतिमा लागिसकेपछि चुनाव आउँदा उम्मेदवारीको आकांक्षा राख्नु नौलो विषय हैन। मेयरमै किन ? अरु पनि पद छन् नि ? अरु पदमा आउँदै नआउने भन्ने हाेइन तर मैले चाहिँ मेयर पदको अपेक्षा गरेकी हुँ। स्थानीयस्तरमा भूमिकाको हिसाबले, पार्टीगत क्रियाशीलताको हिसाबले पनि म मेयरकै लागि उपयुक्त हुँ जस्तो लाग्छ।
तपाईंको राजनैतिक पृष्ठभुमिबारे बताइदिनु न ?
मेरो राजनीति जीवन खुल्ला किताबजस्तै छ। १५–१६ वर्ष नै भएछ सक्रिय राजनीतिमा लागेको। मेरो कार्यक्षमताले भ्याएसम्म पार्टी संगठनको काम गरिरहेकै छु। पार्टीले दिएका सबै जिम्मेवारी पूरा गरेको छु। सामाजिक काममा पनि उतिक्कै खटेको छु। यो मैले भन्नुभन्दा पनि स्थानीय बासीले महसुस गरेकै कुरा हो।
टिकट हात पार्न कतिको सहज देख्नुभएको छ ?
नेतृत्व गर्ने सवालमा महिला कमजोर छैनन्। सक्षम छन्। अवसर दिइएको छैन। राजनीतिक दलको महिलाप्रति हेर्ने दृष्टिकोण फरक छ। महिलालाई नेतृत्वमा पुर्याउन नखोजेकाले संविधानमै लेखिएको समानुपातिक समावेशिताको मर्म आत्मसात नभएको जस्तो ‘फिल’ भएको छ। आफ्नो काम, कर्तव्य र अधिकारप्रति महिलाहरु सजग छन्। जिम्मेवारीवहन गर्ने सवालमा पुरुषभन्दा कम छन् भन्ने त हुँदै होइन। ७ सय ५३ वटा पालिका र ६ हजार ७ सय ४३ वटै वडाहरुमा महिलालाई सकिन्छ भने ५० प्रतिशत स्थान सुनिश्चित गर्नुपर्छ। कम्तिमा ३३ प्रतिशत महिलाले गाउँपालिका, नगरपालिका र वडाको प्रमुख पद सम्हाल्नुपर्छ भन्ने हाम्रो माग रहिआएको छ। उर्लाबारी नगरपालिकामा मेयर कांग्रेसले जितेको स्थान हो। यहाँ मेयर दोहोरिनुपर्छ भन्ने आवाज पनि उत्तिक्कै सुनिन्छ।
तपाईं उप–मेयरमा उठ्दा कसो होला ?
कतिपय जितेका ठाउँमा मेयरले देखाएको ‘पर्फमेन्स’का आधारमा दोहोरिनुपर्ने चाहनालाई म अन्यथा लिदिनँ। दोहोरिन पाइदै–पाइदैन भन्ने पनि होइन। पार्टीले म बाहेक अरु कोहीलाई उम्मेदवार बनाएको अवस्थामा जिताउनु लागि पर्नुलाई म आफ्नो कर्तव्य सम्झिन्छु। यद्यपि, दौडमा म पनि छु भन्ने हो। अवसरको बाडफाँड, जिम्मेवारीको हेरफेर भन्ने पनि होला, यसो हुँदा म उम्मेदवार हुन्छु भन्ने हो। अरुको बारेमा ‘नो कमेन्ट।’
जातीय सन्तुलन मिलाउनुपर्ने अवस्थामा तपाईंको उम्मेदवारी नरहन पनि सक्ला नि ?
आवश्यक्ताअनुसार त्यो पनि मिलाउनुपर्ने हुन्छ। जनताको चाहना, यहाँको आवश्यकता के हो, उम्मेदवारी छनौटमा हुने छलफलपछि निक्र्यौल हुने नै छ।
तपाईं सत्तारुढ पार्टीमा आबद्ध भएको नाताले भन्नुपर्दा गठबन्धन गरेर चुनाव लड्ने विषयलाई कसरी लिनुभएको छ ?
यतिबेला केन्द्रदेखि प्रदेशसम्म गठबन्धनकै सरकार छ। म कांग्रेसको मेयर पदको आकांक्षी रहँदै कतिपय कुराहरु पार्टी अनुशासनमा रहेर प्रस्तुत हुनुपर्ने हुन्छ। एउटा परिस्थितिले गर्दा नेपाली कांग्रेसलाई यो मुलुकको नेतृत्व गर्ने अभिभारा सुम्पिएको छ। सत्ता सहयात्री दलको सहयोग र शुभेच्छालाई अवमुल्यन गर्ने अवस्थापनि छैन। यसो भएकाले चुनावमा जाँदा गठबन्धन गरेरै जाऔं भन्ने हो। तर, हामीले आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्नुपर्ने हुन्छ।
हामीले गठबन्धन गर्दैै गर्दा समावेशीतालाई कतै लत्याउने त होइनौँ ? यो चिन्ताको विषय छ। बढीभन्दा बढी महिला सहभागिता कसरी सुनिश्ति गर्ने यो अहम् सवाल हो।
पुरुष नै पुरुषको उमेदवारी रह्यो भने के होला ?
हाम्रो चिन्ता यसैमा छ। कानुनले स्थानीय तहको चुनावमा फरक लिङ्ग समावेशीताको कुरा गर्छ। हाम्रा पालिकाहरुमा यसो नभएर महिला ओझेलमा पर्ने हुन् कि महिलालाई प्राप्त अधिकारबाट बन्चित गरिने पो हो कि, शंका गर्ने अवस्था छ। आशा गरौं, गठबन्धनका तयारी भइरहँदा हामी यी विषयमा सचेत छौँ। महिला आकांक्षी ओझेलमा पर्ने छैनन्। समानुपातिक समावेशितालाई अक्षुण राख्नसके गठबन्धन अझ प्रभावकारी हुनेछ भन्ने मेरो निष्कर्ष हो। यहाँ एकअर्कालाई इग्नोर गर्नुपर्ने जरुरी छैन। एकले अर्कालाई रेक्सपेक्ट गरेर जाने हो।
मेयर पदमा आकांक्षा राखिरहँदा पार्टीभित्र तपाईंको दाबीलाई कसरी लिइएको छ ?
पार्टीप्रति निष्ठा र सक्रियताले गर्दा नेताहरु पनि खुसी हुनुहुन्छ। महिलाहरुले नेतृत्वमा दाबी गरिरहँला दिग्गज नेताहरु संवेदनशील भएको पाएको छु। उहाँहरु महिलाले नेतृतव लिएको हेर्न र सहयोग गर्न उत्सुक हुनुहुन्छ। मलाई लाग्छ उर्लाबारी नगरपालिकाको नगर प्रमुख पदमा प्रत्यासी बनाइ जिताउन समेत कन्जुस्याइँ गर्नुहुने छैन्। नेतृत्वसँग विश्वास छ। स्थानीय सरकारको नेतृत्व गर्न योग्य र सक्षम छु भन्ने म सबैलाई विश्वास दिलाउन चाहन्छु।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया