आइतबार, १३ जुलाई २०२५

अचाक्ली बढ्याे कागतीको मूल्य, व्यवसायी भन्छन्- भारतमा मूल्यवृद्धि हुँदा नेपालमा पनि बढ्याे

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2022-04-19 15:11:00
Breaknlinks
• • •

पछिल्ला समय नेपाली बजारमा तरकारी तथा फलफूलको मूल्य महँगिएको छ। तरकारी तथा फलफूलको मूल्य बढेपछि उपभोक्ताहरु मारमा परेका छन्। दैनिक भान्छामा प्रयाेग हुने ग्यास सिलिण्डरदेखि तरकारीसम्मको मूल्यवृद्धि भएपछि आम सर्वसाधारण चिन्तित छन्।

नेपाली बजारमा खाने तेलदेखि पेट्रोलियम पदार्थलगायतका वस्तुकाे मूल्य बढेको छ। यसकाे मार आम सर्वसाधारण मात्र नभएर व्यवसायीहरुमा पनि प्रत्यक्ष रुपमा परेको छ।

यत्तिमात्रै हाेइन, हरेक नेपालीको भान्छामा प्रयाेग हुने कागतीको मूल्य पनि अचाक्ली बढेको छ। मंगलबारको तरकारीकाे मूल्य सूची हेर्दा एक गोटा कागतीको मूल्य २० देखि २५ रुपैयाँसम्ममा किनबेच भएको छ।

पछिल्लो समय भारतमा पनि कागतीको मूल्यले बढेकाले यसकाे प्रभाव नेपालमा परेकाे बागबजारस्थित इच्छुमती टुकुचा तरकारी केन्द्रका व्यवसायीहरू बताउँछन्।

‘कागती तथा अन्य तरकारीको मूल्य बढिरहँदा आम मानिस चिन्तित हुनु स्वाभाविक हो। यदि नेपालमा कागती आफैँ उत्पादन गर्ने हो भने यति धेरै मूल्यवृद्धि हुँदैन थियो होला। कागतीको मात्र ढुवानी गर्दा मूल्य एकदमै चर्को पर्छ। कागतीको हरेक एक किलोमा ढुवानी खर्च लाग्ने गरेको छ’, बिएल नेपाली सेवासंग कुराकानी गर्दै तरकारी व्यवसायी सन्जिव कुमार मल्लले भने, ‘नेपालमा कागती उत्पादन एमदमै कम रहेको र प्राय जसो कागती नेपाल भित्रिने भनेको भारतबाटै हो। भारतमा पनि कागतीको मूल्य बढी नै छ।’

उनले भने, ‘नेपालमा मूल्यवृद्धिको मुख्य कारण आयातनिर्यातमा फरक पर्ने र तरकारी तथा फलफुल भनेको आर्थिक मन्दीमा पर्ने कुरा हो। कमजोरी सरकारको हो। बजारमा मूल्यवृद्धि किन भयो भनेर प्रश्न गर्छन्, तर उत्पादनमा कहिल्यै ध्यान दिँदैनन्। नेताहरुलाई त झन बजारमा तरकारीको मूल्य कति छ, अत्तोपत्तोसमेत छैन।’

कागती प्रतिगाेटा बेच्दा आफूहरु मर्कामा परेकाेले केजीमा बेच्न सुरु गरेकाे व्यवसायी मल्लले बताउँछन्।

‘हामीले कागती केजीमा बेच्न सुरु गरिसकेका छौँ। किनभने, ग्राहकहरु कागतीको तौल नाप्न थाल्छन्, हामी व्यापारीहरुले उहाँहरुले नापेको कागतीको तौलअनुसार बेच्नुपर्ने हुन्छ। मर्कामा उपभोक्ताहरु मात्रै हाेइन, हामी व्यवसायीहरु पनि परेका छाैँ। हाम्राे मर्का कसले बुझ्ने र खोइ?’, उनी दुखेसाे पाेख्छन्।

नेपाल कृषिप्रधान देश भएतापनि दैनिक प्रयोग हुने तरकारीलगायतका धेरै वस्तुहरूको उत्पादन निकै कम हुन्छ। उत्पादन भएका वस्तुहरूले उचित बजार पाउँदैन।

मूल्यवृद्धि भयो भनेर आवाज उठाउनेहरु त धेरै छन्, तर त्यही आवाज उठाउनेहरुलाई थाहा छैन कि हामी व्यापारीलाई हाम्रो तरकारी बिक्री नहुँदा कुहिएर गइरहेको छ। यसकाे जिम्मा कसले लिने त?

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?