मालिक भएर होइन, नोकर बनेर नागरिककाे सेवा गर्छु : उमेश राई (अन्तर्वार्ता) 

Breaknlinks
Breaknlinks

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदैछ। सोही कारण विभिन्न दलका उम्मेदवारहरुलाई जनताको ढोका ढक्ढकाउन भ्याइनभ्याइ छ। यता मतदाताहरु पनि आफूले चुनेका उम्मेदवारहरूलाई जिताउन उत्साहित बनेका छन्। यतिबेला नगरपालिका, गाउँपालिका तथा वडाका उम्मेदवारहरुबीच प्रतिस्पर्धा नै चलिरहेको छ।

सोही प्रतिस्पर्धामा छन्, पथरी शनिश्चरे नगरपालिका वडा नम्बर–४ को वडाध्यक्षमा उम्मेदवारी दिएका उमेश राई। उनले मंगोल नेशनल अर्गनाइजेशनबाट उम्मेदवारी दिएका हुन्। उनै राईसँग बिएल नेपाली सेवाका लागि ईश्वरी राईले गरेको कुराकानीः

तपाईंले वडाध्यक्षमा किन उम्मेदवारी दिनुभयो?

राजनीतिलाई नियालेर हेर्ने हो भने त्यहाँ भष्ट्राचार भइरहेको छ। राज्यबाट पाउनुपर्ने अधिकार जनताले पाएका छैनन्। सोही भष्ट्राचार रोक्न र जनताले पाउनुपर्ने हक अधिकार दिलाउनको लागि मैले वडाध्यक्षमा उम्मेदवार दिएको हुँ। मैले देशलाई परिवर्तन गर्न नसकेतापनि वडालाई अवश्य व्यवस्थित बनाउनेछु।

वडाध्यक्षमा उम्मेदवारी दिएसँगै तपाईंले चुनावको तयारी कसरी गरिरहनुभएको छ?

हामीले निर्वाचनलाई ध्यानमा राखेर चुनावको तयारीमा जुटिरहेका छौँ। जनताको घर–घरमा पुगेर उहाँहरुको कुरा सन्दै हाम्रो कुरा पनि सुनाइरहेका छौँ। हामीले घरदैलो कार्यक्रमलाई व्यापक गरिरहेका छौँ।

तपाईंले चुनावलाई कत्तिको चुनौतीकाे रुपमा लिनुभएको छ?

चुनाव धेरै चुनौतीपूर्ण छ। किनकि, अहिलेको चुनाव महंगो भएको छ। चुनावमा उठ्नकै लागि मान्छेले लाखौँ लाख खर्च गरिरहेका छन्। खर्च गरेर उम्मेदवार बनेकाहरुले आफ्नो स्वार्थ मात्र पूरा गर्न चाहन्छन्। त्यसैले म बिनाखर्च चुनावमा उठेको हुँ। मेरो स्वार्थ भनेकै भष्ट्रचार रोक्नु र जनतालाई अधिकार दिलाउनु हो।

उम्मेदवारी त दिनुभयाे, तर तपाईंले नै जित्नुहुन्छ भन्ने आधार के छ?

चुनाव जित्ने मेरो मुख्य आधार नै मतदाताहरु हुनुहुन्छ। उहाँहरुको सहयोगले नै म यो पटकको चुनाव जित्न सक्नेछु। आशा छ, उहाँहरुले मलाई जिताएर सेवा गर्ने मौका दिनुहुनेछ।

चुनाव जितिसकेपछि तपाईंको प्राथमिकता के-के मा रहनेछ?

मेरो पहिलो प्राथमिकता भनेकै भष्ट्राचार अन्त्य गर्नु हो। साथै जनतालाई सेवा सुविधा दिनु हो। शिक्षालाई अगाडि बढाउनु, बेरोजगारीलाई रोजगारी दिनु र महिलालाई सीप मूलक तालिम प्रदान गर्नु मेरो कर्तव्य हो। किनकि, जनताहरुको सुख नै मेरो खुसी हो। वडाध्यक्ष बनेर नमुना वडा बनाउनु नै मेरो लक्ष्य हो। 

चुनावी अभियानका क्रममा मतदाताहरुबाट के–कस्ता प्रतिक्रिया पाइरहनुभएको छ?

अहिलेसम्म म जहाँ पुगेको छु, त्यहाँका जनताहरु आक्रोशित हुनुहुन्छ। ‘जो आएपनि हामीलाई केही भएन’ भन्दै रिसाइरहनुभएको छ। मैले उहाँहरुको आक्रोश सहेर मेरा भावी योजनाहरु सुनाएपछि मात्र उहाँहरु शान्त हुनुभयो। मेरा कुरा सुनेर उहाँहरुले विश्वास गर्नुभएको छ। ‘तपाईंलाई हामी भोट दिएर जिताउने छौँ’ भन्दै आश्वासन दिइरहनुभएको छ। उहाँहरुबाट सकारात्मक प्रतिक्रिया पाइरहको छु। त्यही कुरामा म धेरै खुसी छु।

अन्त्यमा, तपाईं मतदाताहरुलाई के भन्न चाहनुहुन्छ?

यो पटकको चुनावमा मलाई तपाईंहरुले अमूल्य मत दिएर जिताउनुहुन्छ भन्ने मेरो आशा छ। म तपाईंहरुलाई कुनै गुनासो राख्ने ठाउँ दिने छैन। एकपटक विश्वास गरेर मलाई जिताउनु हुन मेरा वडावासीसँग आग्रह गर्दछु। म वडामा मालिक भएर होइन, नोकर बनेर नागरिककाे सेवा गर्छु। त्यसैले मंगोल नेशनल अर्गनाइजेशनको चुनाव चिन्ह्र ‘कुखुरा’ मा मत दिएर मलाई जिताउनुहोस्। 

प्रकाशित मिति: : 2022-05-05 18:57:00

प्रतिकृया दिनुहोस्