चुनावकाे मुखैमा देश छोड्नेहरू भन्छन्: भाेटले भाेकाे पेट भरिँदैन (भिडियाे रिपाेर्ट)

सोमबार दिउँसो नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूर नेपालको धनगढी पुगेर हजारौँ जनतालाई बोलीमा मह मिसाएर ४ दिनपछि हुने स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी र सत्ता गठबन्धनका उम्मेदवारलाई भोट हाल्न आग्रह गर्दै थिए। ‘चुनाव आयो..., चुनाव आयो...’ भन्दै कालापहाडबाट गाउँ फर्किएर घर नपुग्दै देउवाको बोलीमा ताली पिट्दै थिए, युवाहरू।

त्यसको केही मिनेट अगाडि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ डोटी पुगेर मतदातालाई हँसिया हथौडा र रुख चिन्हमा भोट हाल्न आदेश दिँदै थिए। जतिबेला नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सूर्य चिन्हमा भोट हाल्न तयार भएका पोख्रेली जनतालाई ‘आइ लव यु टू’ भनेर भ्याइसकेका थिएनन्।

देशको नेतृत्व तहमा रहेका ती शीर्ष नेताहरुको यहीबेला गरेका भाषण सुन्दा लाग्थ्याे, ‘नेपाल अब छिट्टै अमेरिका जस्तै धनी बन्छ। नारायाणीमा जापानको पानी जहाजले सामान ल्याएर आउँछ। मुग्लिनदेखि पोखरा जाने रेलमार्फत् पाँच मिनेटमै फेवातालको छेउवा पुग्न सकिन्छ।’

उनै नेताहरुको अगाडि/पछाडि विभिन्न पदमा उम्मेदवार बनेर हिँडेका नेताहरुको घोषणपत्र हेर्दा ‘केही दिनमै नेपाल समृद्ध बन्ने भयो’ भन्ने सोच्न कुनै समय लाग्दैन थियो। हेलिकप्टरबाट विउ छर्ने कुरा त सामान्य भयाे। तर, यहीबेला देशमा राेजगारी नपाएर परदेश जान सयौँ युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामबद्ध थिए।

पाँच वर्षपछि आएकाे चुनावमा भाेट हालेर याेग्य नेतालाई जिताउने अवसरकाे उनीहरू पनि सदुपयाेग गर्न चाहन्थे। तर, उनीहरू उम्मेदवारलाई जिताएर देश कसरी समृद्ध बनाउने भन्दा पनि परदेशमा पुगेर परिवारकाे खुसी कसरी किन्ने भन्ने पिरले घेरिएका थिए। त्यसैले आफ्नाे परिवार पाल्नकाे लागि सयाैँ युवाहरू निर्वाचनकै मुखमा विदेश जान विमानस्थलकाे पिँढीमा हरियाे पासपाेर्ट पल्टाउँदै थिए।

‘हामीलाई पनि भाेट हाल्न मन कहाँ नभएकाे हाेर तर भाेट हालेर मात्रै नहुने रहिछ, परिवार पाल्न विदेश जानै पर्छ। त्यसैले म त प्रदेश हिंडेँ। चुनाव सुनाव त आउँछन् जान्छन्।’ काठमाडाैँमा केशव स्थापितले ‘लभ पार्क’ बनाउने सपना देखाइरहेका बेला साेमबार दिउँसाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकाे बिएल नेपाली सेवाकाे टाेलीसँग एक युवाले मनकाे कुरा सुनाए।

देशमा चुनवा आओस् वा सरकार फेरियाेस् नेताहरू नसुध्रिएसम्म र व्यवस्था नफेरिएसम्म देशमा बसेर परिवार पाल्न सक्ने वातावारण हुँदैन भन्ने उनकाे तर्क थियाे।

हुन पनि हाे, देश यतिबेला स्थानीय तह निर्वाचनकाे अन्तिम तयारीमा छ। उम्मेदवारहरू मिठा सपनाहरू सुनाउँदै जनताकाे घरदैलामा पुगेका छन्।यस्ताेबेला विदेश जाने रहर कसकाे हाेला र? तर, देशमा राेजगारी नपाएपछि ‘सतिले श्रापेकाे देशमा जे भए हाेस्’ भन्दै विदेश जान हजाराैँ युवाहरू बाध्य छन्। उनीहरूमा गुनासाहरू छन्, नेताहरूलाई दिनुपर्ने सुझावहरू पनि छन् तर भाेकाे पेट पाल्नकाे लागि खाडीमा बेल्चा चलाउँदा चलाउँदै फुर्सद छैन।

यसरी चुनावकै बेला देशमा छाेड्न बाध्य हुनेहरूलाई हामीले विमानस्थलमा पुगेर साेधेका छाैँ, ‘नजिकिएकाे चुनावमा आफूलाई मन परेकाे उम्मेदवारलाई भाेट हालेर जिताउन छाेडेर किन विदेश जान लाग्नुभएकाे ?’

प्रस्तुत छ, चुनावकै बेला देश छाेड्न बाध्य युवालाई समेटेर बिएल नेपाली सेवाका लागि ध्रुब बस्याल र मदन नेपालीले तयार पारेकाे भिडियाे रिपाेर्ट :  

भिडियाे:

प्रकाशित मिति: : 2022-05-11 08:33:00

प्रतिकृया दिनुहोस्