सेन्ट लरेन्सका शिक्षकले छात्रालाई सोधे,‘तँ मेरो यौन पार्टनर बन्छेस् ? ’

सोमबार चावहिलस्थित सेन्ट लरेन्स कलेजमा कोलहाल मच्चियो। पढ्न आएका विद्यार्थीहरु एकाएक कलेजको कम्पाउण्डमा निस्केर ‘बलात्कारीलाई कारबाही गर, कारबाही गर’ भन्न थाले।

त्यसपछि कलेज प्रशासनले दोषीलाई कारबाही गर्ने भन्दै आन्दोलनमा उत्रेका विद्यार्थीलाई थामथुम पार्यो।

दिन त्यसैगरी बित्यो। कलेज प्रशासनले भनेजस्तो नगरेपछि विद्यार्थीहरु मंगलबार बिहान ७ बजे महानगरीय प्रहरी वृत्त गौशालामा पुगेर आफ्नो कलेजका संयोजक जर्नादन अधिकारीले आफ्ना साथीहरुलाई यौन दुर्व्यावहार गरेको उजुरी गरे। उजुरीपछि प्रहरीले कलेजका शिक्षक तथा संयोजक अधिकारीलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको छ।

अहिलेसम्म ६ जनाले अधिकारीले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन्।

अधिकारी नेकपा (एमाले)का नेता समेत हुन्। उनले लामो समयदेखि कलेजमा अध्यनरत छात्राहरूलाई विभिन्न प्रलोभन देखाएर यौन प्रस्ताव राख्दै आएको पीडितहरुको गुनासो छ।

के हो त घटना ?

कलेजका संयोजक तथा सामाजिक विषय पढाउने अधिकारले केही महिनादेखि आफ्नो साथीलाई यौन सिकार बनाएको प्रदर्शनमा सहभागी एक विद्यार्थीले बिएल नेपाली सेवासँग बताइन्।

संयोजकले यौन दुर्व्यवहार गरेका छात्रासँग शुल्क नलिने र गोप्य कुरा फैलाए कलेजबाट निकालिदिने धम्की दिने गरेको उनले बताइन्।

‘सरले आफ्नो अफिसमा फीको काम छ भन्दै बोलाउनुभयो, अनि मनपरी बोल्नुभयो। आफ्नो श्रीमतीसँग यौन सम्बन्ध गरेर अल्छी लागेको बताउनुभयो। बाहिरकालाई बनाउँ भनेको कोहीँ भेटिएन, तँ बन्छेस् मेरो यौन पार्टनर भनेर मेरो स्वीटर तान्नुभयो,’ ती विद्यार्थीले साथीले भनेकाे कुरा सुनाइन्।

आफूलाई कलेजबाट निकाल्ने डर भए पछि संयोजकले कलेज नजिकैको ए–वान क्याफेमा हिँड्न भनेपछि रुदैँ पीडितले साथीहरुलाई कुरा खुलाएको ती विद्यार्थीले बताइन।

बिहानदेखिको प्रदर्शनमा ‘वी वान्ट जस्टिज’ भन्दै साथीको लागि आवाज उठाइरहेकी एक छात्रा भन्छिन्,‘अब त हामीलाई कलेज जान डरमर्दो भयो।’

आफूहरुलाई कक्षा कोठामा नराम्रो तरिकाले छुने गरेको भन्दै उनले भनिन्,‘हाम्रो गोप्य अगंमा छुन खोज्नु हुन्थ्यो। त्यो कुराको विरोध गर्दा उल्टै हामीसँग झम्टिनु हुन्थ्यो।’

कलेजका छात्राहरुलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका अधिकारीले शिक्षकहरुसँग भने सामान्य व्यवहार देखाउने गरेको सोही कलेजकी एक शिक्षिकाले बिएल नेपाली सेवालाई बताइन्।

‘हामीसँग त सधैं सामान्य व्यवहार गर्नुहुन्थ्यो। हामीले कहिल्यै सोचेका थिएनौँ कि उहाँ यस्तो हुनुन्छ भनेर। यो घटनाले देखेर हामी सबै शिक्षकहरू नै स्तब्ध भयौँ,’ ती शिक्षिकाले भनिनन्।

आफ्नी कक्षाकी साथीलाई कलेजकै शिक्षकले गरेको यौन दुर्व्यवहार देखेर आफूलाई लाज लागेको एक छात्रले बताए।

‘यो कलेजकाे विद्यार्थी हुँ भन्न पनि लाज लागिरहेको छ,’ उनले भने,‘न यहाँका शिक्षक राम्रो, न त कलेज नै। कलेजले पनि दोषीलाई लुकाउन खोज्यो।’

संयोजक अधिकारी राजनीतिमा समावेश भएको कारण कलेजले कारबाही नगरेको भन्दै ती छात्रले भने,‘ऊ राजनीति दलको मान्छे हो भन्दैमा कुनै सजाय नै नदिने हो ? उसलाई कानुनबमोजिमको सजाय हुुनुपर्छ। हाम्रो माग नै यही हो।’

प्रकाशित मिति: : 2022-05-25 08:00:00

प्रतिकृया दिनुहोस्