स्यानी चौधरीकाे ठूलाे जिम्मेवारी

समाज सेवाको भोकले अमेरिका छाडेँ : स्यानी

स्यानी चौधरीले अहिले सबैको ध्यान आफूतिर खिचेकी छन्। यसो भनौं, सबैको ध्यान स्यानीतिर तानिएको छ। नहोस् पनि किन, तुलसीपुर उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन्, उनी।

केही वर्षअघि ‘दिदीघर’ नामक संस्थाबाट अनाथ बालबालिका हुर्काउँदै आएकी स्यानी अहिले अचानक राजनीतिमा आउनु मात्रै हैन, उपमेयरमा निर्वाचित हुनु स्वयं उनका लागि अनुपेक्षित कुरा थियो। स्यानी पनि आफू दंग छिन्।

सामाजिक पृष्ठभूमिमा निकै भिजेकी स्यानी राजनीतिमा भने त्यति खुलेकी थिइनन्। तर एमाले दाङले उनलाई उपमेयरको टिकट दिएपछि भने राजनीतिमा स्यानीको चौतर्फी चर्चा छ। ‘सामाजिक काममा जीवन खर्चिएँ। राजनीतिमा खुलेर लागेकी थिइनँ’, उनी भन्छिन्। स्यानी तुलसीपुरको उपप्रमुखमा निर्वाचित भएसँगै उनको जिम्मेवारी थप बढेको छ।

अनाथ बालबालिकाकी दिदी

स्यानी अनाथ बालबालिकाको दिदी पनि हुन्। २०६१ साल यता उनी तुलसीपुर–६ मा ‘दिदीघर’ नामक संस्था चलाउँदै आएकी छन्। जहाँ २४ जना अनाथ तथा असहाय बालबालिका आश्रित छन्। तिनै बालबालिकाको दिदी हुन्, स्यानी।

तिनै बालबालिको पढाउने, लेखाउने, हुर्काउने उनकै जिम्मेवारी छ। तर स्यानी अब भने दिदीघरको मात्र अभिभावक रहिनन्। बरु उनी त सिंगो उपमहानगरकै अभिभावक बनेकी छन्। बालबालिकाको हेरचाहदेखि लालनपोषण, पढाउने, लेखाउने सबै जिम्मेवारी उनको काँधमा छ।

पढाइको भोक

स्यानी निम्न परिवारमा जन्मिइन्। उनको परिवार खेती किसानी गरेर गुजारा गर्थे। उनी सानो हुँदादेखि नै पढाइमा औधी रुची राख्थिन्  तर त्यो समय थारु समुदायमा छोरी पढाउने प्रचलन थिएन। तर उनलाई भने नपढी भएको थिएन। उनीभित्र शिक्षाको एक किसिमको भोक थियो।

जस गर्दाले उनी लुकीछुपी पढ्न थालिन्। तीन कक्षा पढ्दासमेत उनले आफूले पढ्न लागेको कुरा घरमा भनिनन्। ‘त्यतिबेला थारु समुदायमा छोरीले पढ्नु हुँदैन भन्ने थियो’, उनले भनिन्, ‘मलाई जसरी पनि पढ्नु थियो। मैले लुकेर पनि पढेँ। पछि भने आमालाई भनेपछि पढ्न पाएँ।’

शिक्षाको यही भोकले अन्तत: स्यानीले राजनीतिशास्त्रबाट स्नातक र समाजशास्त्रबाट स्नातकोत्तर गरिन्। त्यसपछि स्यानीले नेतृत्व विकासका लागि सन् १९९४ मा जापामा गएर पढिन्। दुई वर्ष त्यहाँ पढेपछि, सन् २००० मा सुशासनसम्बन्धी अध्ययन गर्न डेनमार्क गइन्। जहाँ उनी ६ महिना बसिन्।

त्यसपछि गुणस्तरीय शिक्षासम्बन्धी अध्ययन गर्न उनी अमेरिका पुगिन्। हालसम्म उनी त्यसपछि अध्ययनकै क्रममा ६ पटक अमेरिका पुगिसकेकी छन्।

अमेरिकाको सपना छोडेर आइन्

स्यानी अध्ययनकै क्रममा जापान, क्यानडा र अमेरिका पुगिन्। उनी त्यहीँ बस्न सक्थिन्। ती मुलुकमा बस्न उनलाई अवसर पनि नआएको होइन तर स्यानीले चाहिनन्। ‘बस्नका लागि त अमेरिका नै ठिक थियो। तर आफ्नै देश फर्किएर केही गर्न चाहन्थेँ’, उनी थप्छिन्, ‘अमेरिका बसेको भए मेरो जीवन अर्कै भइसक्थ्यो। तर म त्यो सुखशयलमा बस्न चाहिनँ। किनभने, मैले आफ्नो लागि मात्र गर्नु थिएन।’

उनले आफ्नो नेपाली समाजको पीडा देखेकी थिइन्। उनी त्यही समाज बदल्न चाहन्थिन्। यसैले उनलाई नेपाल फर्कायो। र, दिदीघर नामक संस्था जन्माइन्।

सामाजिक कामले राजनीतिमा छलाङ्ग

स्यानी चौधरीसँग लामो राजनीतिक पृष्ठभूमि छैन। समाज परिवर्तनको अनेकौँ आन्दोलनमा होमिएकी स्यानी कुनै अमुख पार्टीको झण्डा बोकेर भने हिँडेकी थिइनन्।

कमलहरी प्रथा हटाउनका लागि उनी दुई वर्ष कैलालीमा समेत बसिन्। दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बढी कमलहरी राख्ने प्रथा थियो। जसको विरुद्धमा स्यानी नेतृत्वदायी भूमिकाबाट आन्दोलनमा होमिएकी थिइन्।

शिक्षामा गुणात्मक परिवर्तन गर्छु

तुलसीपुरको उपपेयरमा निर्वाचित भएर आइसकेपछि स्यानीको काँधमा ठूलो जिम्मेवारी थपिएको छ। आफू निर्वाचित भएर आइसकेपछि उनले विशेष गरेर शिक्षामा क्षेत्रमा परिवर्तन ल्याउने योजना बनाएकी छन्।

शिक्षाविना समाज परिवर्तन सम्भव छैन भन्ने कुरा बुझेकी छन्, उनले। त्यसैले त उनी अनिवार्य सबैले शिक्षा लिनुपर्ने धारणा राख्छिन्। भन्छिन्, ‘अब मेरो प्राथामिकता तुलसीपुरको शिक्षामा हुनेछ।’

शिक्षामा गुणात्मक परिवर्तन ल्याउने र कक्षा १२ सम्म अनिवार्य निःशुल्क शिक्षा लागू गर्ने उनी बताउँछिन्।

त्यस्तै उनले जनप्रतिनिधि भएर जनताको जीवनस्तर फेर्ने सपना रहेको बताइन्। उनले समाजलाई बुझेको बताउँदै तुलसीपुरलाई सफल र सवल बताउन सक्ने योजना रहेको बताइन्।

त्यसपछि स्यानीको दोस्रो प्राथामिकतामा स्वास्थ्य परेको छ भने तेस्रोमा सुशासन कायम गर्नेमा हुने उनी बताउँछिन्। ‘सबै काम क्रमश हुनेछ। तर पहिलोमा शिक्षा, दोस्रोमा स्वास्थ्य र तेस्रोमा सुशासन कायम गर्नेमा मेरो ध्यान हुनेछ,’ उनी भन्छिन्।

स्यानी आफूलाई यस क्षेत्रबारे धेरै जानकार भएकाले काम गर्न सहज हुने बताउँछिन्। दशकौंदेखि म यस क्षेत्रमा छु’, उनले भनिन्, ‘यहाँको समस्या के छ, मैले बुझेकी छु।’ उनले आफ्नो पाँच वर्षे कार्यकाल जनताको सेवकका रुपमा काम गर्ने सुनाउँछिन्।

प्रकाशित मिति: : 2022-05-25 19:20:00

प्रतिकृया दिनुहोस्