श्रीमतीको हत्या गरी चौरमा जलाउने पूर्व डिआईजी फरार, धुइँपत्ताल खोज्दै प्रहरी

File Photo
File Photo

श्रीमती हत्या गरी जन्मकैदको फैसला सुनाइएका सशस्त्र प्रहरी बलका तत्कालीन नायव महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला फरार भएका छन्।

श्रीमती हत्या अभियोगमा जिल्ला अदालत काठमाडौंबाट जन्मकैद सजाए तोकिएपछि कोइरालाले सर्वोच्चमा सेटिङ गरी जन्मकैदको सजायमा छुट पाएका थिए।

महाअभियोगपछि निलम्बनमा पारेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले जन्मकैदको सजायमा छुट दिन फैसला गरेको थियो।

कर्तव्य ज्यान मुद्दामा कैद सजायमा छुट दिने सर्वोच्च अदालतको फैसलालाई सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, टंक मोक्तान र कुमार चुडालको बिहीबारको इजलासले उल्टाउने फैसला गरेको हो।

राणा र केसीको फैसलालाई उल्टाउँदै कोइरालालाई जन्मकैदको सजायमा सहुलियत दिन नसकिने फैसला सुनाएको हो।

यसअघि गत १५ असारमा सर्वोच्चले कोइरालालाई सजायमा सहुलियत दिँदै २० वर्षको कैदलाई साढे ८ वर्ष हुने भनी सजाय घटाउने फैसला गरेको थियो।

२०६८ सालमा श्रीमती गीता ढकालको हत्या गरी शवसमेत नष्ट गरेको कोइरालालाई २०७१ वैशाख ७ मा काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। जिल्ला अदालतले हत्याबाट नै श्रीमती गीताको मृत्यु भएको ठहर गरेको थियो।

पुनरावेदन अदालत पाटनले पनि त्यसैलाई सदर गरेको थियो। तर, सर्वोच्च अदालतले २० वर्षको कैदलाई साढे ८ वर्ष हुने भनी सजाय घटाएको थियो। सर्वोच्चको फैसलापछि कोइराला जेलबाट रिहा भएका थिए।

त्यसबेला कोइरालाको रिहाइपछि अधिकारवादीहरुले निकै विरोध गरेका थिए। तत्कालीन प्रधानमन्त्री केपी ओलीको समेत त्योबेला चर्को आलोचना भएको थियो।

डिल्लीबजार कागारारबाट छुटेर कोइराला ललितपुरको सानेपामा बस्दै आएका थिए। केसी र राणाको फैसलालाई सर्वोच्चले उल्टाएर पुरानै फैसला सदर गरेपछि जेल बाहिर रहेका कोइराला एकाएक फरार भएका हुन्।

फरार कोइरालाको खोजतलासका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय अपराध महाशाखालगायत सम्पूर्ण प्रहरी युनिट लागिपरेका छन्। सर्वोच्चको फैसला लगत्तै कोइराला फरार भएका थिए।

फरार कोइरालाको खोजीकार्य भइरहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णु केसीले बताए। ‘कोइरालाको खोजीकार्य जारी छ। हामीले हाम्रो सबै युनिटलाई पत्राचार गरेका छौं’, प्रवक्ता केसीले भने।

यस्तो थियो घटना

पूर्व डीआईजी रञ्जन कोइराला र गीता ढकालबीच २०५० सालमा विवाह भएको थियो। उनीहरुका २ छोरा छन्।

कोइराला दम्पतीको पछि आएर सम्बन्ध बिग्रन थाल्यो। त्यहीबेला कोइरालाले म्यानपावर व्यवसायी चितवनकी तारा रेग्मीसँग सम्बन्ध बढाए। त्यो कुरा गीतालाई थाहा भयो र घरमा झनै कलह मच्चिन थाल्यो। त्यसपछि उनीहररू सँगै बस्न नसक्ने अवस्थामा पुगे।

त्यसपछि उनीहरु एकअर्काबाट छुट्टिएर बस्न थालेका थिए। गीता बूढानीलकण्ठ–५ पासीकोटमा बस्थिन् भने रञ्जन तालिमको सिलसिलामा २०६८ भदौमा चीन गएका थिए। उनी चाइना एक वर्षे कोर्षका लागि गएका थिए।

चीनबाट विदामा २१ पुसमा रञ्जन नेपाल फर्किए। २७ पुसमा गीताको घर पुगी कान्छो छोरा लिएर हिंडेका थिए। त्यो कुरा गीताले आफ्नो माइतीलाई जानकारी गराएकी थिइन्। त्यसपछि गीताको फोन अफ भयो।

रञ्जनले २७ गते नै गीताको हत्या गरी सरकारी गाडीमै राखेर मकवानपुरको टिस्टुङ–८ स्थित त्रिभुवन राजपथको मेत्राङ भन्ने स्थानमा जलाए। पछि घटनाको अनुसन्धान गर्दै जाँदा रञ्जनले बालाजुमा ग्यालेन किनी पेट्रोल भरेर सरकारी गाडीमा गीताको शव उता पुर्याएको कुरा पुस्टि भयो।

२७ पुसमै कोइरालाले गीताको हत्या गरेका थिए, त्यो कुरा माइतीलाई थाहा भएन। माइतीले बारम्बार प्रयास गर्दा पनि गीतासँग सम्पर्क हुन सकेन। खोजी गर्दा पनि नभेटिएपछि गीताका बाबु हरेरामले ढकालले ‘रञ्जनले छोरीको दाइजो र पेवा हत्याउनका लागि सम्बन्ध विच्छेदको दबाब दिँदै आएको, बारम्बार मानसिक र शारीरिक यातना दिएको भन्दै उनलाई बन्धक बनाएर राखेको हुनसक्ने’ आशंकासहित २०६८ माघ ६ मा महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिए।

त्यसको दुई दिनपछि गीताको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको खबर पाएका हरेरामले छोरीको हत्यामा जिम्मेवार रहेको भन्दै रञ्जनविरुद्ध अर्को जाहेरी दिए।

अनुसन्धान गर्दै जाँदा रञ्जनले २७ पुसमै गीताको हत्या गरेको र मकवानपुरको मेत्राङ भन्ने स्थानमा शव जलाएको पुष्टि भयो। २८ पुसमा जलेको अवस्थामा त्यहाँ शरीरका बाँकी अंग भेटिए। डीएनए परीक्षणबाट उक्त शरीरका टुक्रा गीताकै भएको पुष्टि भयो। ८ माघमा नागढुंगामा आफैंले चलाएको बा ८ च ५४०८ नम्बरको गाडीसहित रञ्जन पक्राउ परे।

प्रकाशित मिति: : 2022-05-27 15:58:00

प्रतिकृया दिनुहोस्