गाउँको तिक्खर स्वाद चखाउने खुईजेरी

मेजन पुन

पाेखरा
Breaknlinks
Breaknlinks

पोखरामा बस्दै आए पनि रुप पुनलाई खुईजेरीको खुब माया छ। पोखराबाट धेरै टाढा त होइन पर्वतको खुईजेरी। तैं पनि खुईजेरीको जस्तो माटोको सुगन्ध पोखराले मेटाउन सकेको छैन। काम काजी मान्छे, अवसर खोज्नुपर्ने बाध्यताले हो। नत्र माया त उतैको बढी गर्छन्।

खुईजेरीलाई माथि उकास्न, के कसो गर्न सकिएला ?

रुपजीलाई सधैं चिन्ता रहन्छ। खुईजेरी। अनि, खुईजेरीको विकासको। कहिले कसो गफगाफमा खुईजेरीलाई केही नयाँ दिनेबारे रुपजी चिन्तन गर्छन्। सक्दो गर्न खोज्छन्। थमन खोरजा जनचेतना शिक्षा कोषका अध्यक्ष पनि हुन्, रुपजी। खुईजेरीको शैक्षिक सुधारमा धेरथोर पहल गरेको छ यो कोषले।

स्रोत जुटाएर खुईजेरी स्कुलमा १० वटा कम्प्युटर पनि राखिएको रहेछ। तर, कम्प्युटर चलाउन र बनाउन नजान्ने भएपछि यसै थन्किएरका छन्, रुपजी ले यो विषयमा पनि चिन्ता गरी रहनुहुन्थ्यो। त्यसलाई सदुपयोगमा ल्याउन अनेक उपाय खोजी रहनुभएको थियो।

‘विद्यार्थीलाई कम्प्युटर चलाउन सिकाउने दुई हप्ते तालिम गर्दै छौं। गाउँ पुगेर आऔं,’ रुपजी ले सुनाउनुभयो।

गाउँको चिसो हावा खाँदै खुईजेरी होमस्टेमा गाउँको तिक्खर स्वाद लिन पाइने भएपछि त काइदै भयो। सूचना तथा प्रविधि क्षेत्रमा लामो समयदेखि पोखरामा काम गर्दै आएका आईटी ईन्जिनियर राजेन्द्र शर्मा प्रशिक्षकको रुपमा जाने निधो भइसकेको रहेछ। तीनै जना चिनजानकै साथी–भाइ। रमाइलो ट्रिप हुने नै भयो। नाइँ नास्ति गर्ने कारण थिएन।

बन्दोबस्त मिलाएर पोखरा छाड्यौं।

पोखराबाट निस्किँदा १२ बजिसकेको थियो। साँझ बास बस्न पुग्ने हाम्रो योजना।

लुम्लेमा मीठो सुकुटी पाउँछ।

सुकुटी चाखेर अघि बढ्ने बाटैमा सल्लाह भयो। चाखेको साँचै मीठो रहेछ।

बाटोमा रमाइलो गफगाफ गर्दै हामी अघि बढ्यौं।

पोखराबाट साढे एक घण्टामा पातिचौर पुग्यौं। पातिचौरदेखि बाजुङ हुँदै खुईजेरी पुग्न २ घण्टा लाग्ने रहेछ।

गाउँ जाने गाडीको व्यवस्था रुपजीको भाइले गरेका थिए। गाडीले हामीलाई नै पर्खि रहेको थियो। राजेन्द्रजी गाडीभित्र बस्नुभयो। रुपजी र म गाडीको हुटमा बस्ने भयौं। गाउँको हावा खाँदै कम्ति रमाइलो भएन।

गाडी उकालो लाग्यो। आकाशमा कालो बादल मडारिइरहेको थियो। पानी परे हामी भिज्ने निश्चित थियो। तर, सिमसिम पानी केही बेर पर्‍यो तर त्यो सिमसिम पानीमा झन मज्जा लिई रह्यौं।

बाटोमा पर्ने ठुलोपाखा, शिवालय, पातलपानी, गैरीगाउँका मनोरम सुन्दर दृश्यहरुमा लोभिंदै हामी मोदी गाउँपालिका– ४, खुईजेरी गाउँमा गाडीबाट झर्‍यौं। गाउँ शान्त थियो। उत्तिकै मोहक पनि लाग्यो। 

यहाँ जम्मा १ सय ३६ घर धुरी रहेछ। खुईजेरीको उत्तरमा घुरुङा, पुर्वमा बाजुङ, दक्षिणमा हलहले र पश्चिममा बनौं गाउँ पर्दो रहेछ। गाउँको माया मान्नेहरु कहिलेकाहीँ रुपजी जस्तै मायाको पोको बोकेर आउँदा हुन्। केही दिन भए पनि चहलपहल रमाइलो हुँदो हो। नत्र त सधैं शान्त रहन्छ गाउँ। खुईजेरी मात्रै होइन, यो त हामी सबै नेपालीको दुखान्त हो।

सहरका मान्छे भित्राउन ४ वर्षअघि ८ घरबाट सुरु गरिएको रहेछ सामुदायिक होमस्टे खुईजेरी। होमस्टेका अध्यक्ष यामकुमारी तिलिजा पुन मगरले हामीलाई ज्ञानबहादुर तिलिजाले सञ्चालन गर्नुभएको होमस्टे घरमा बस्ने व्यवस्था मिलाउनु भएको रहेछ। हामी त्यतै लाग्यौं।

ठूला छपनी ढुंगा ओछ्याइएको घरको आँगनमा पुग्दा साँच्चै आनन्द अनुभूति भइरहेको थियो। होमस्टेका सञ्चालक ज्ञानबहादुर तिलिजाले स्वागत गर्नुभयो। धाराको चिसो पानीले आँत नै हरर बनाई दियो।

खुईजेरी पुन मगरहरुको थर फगामी, खोरजा, तिलिजा, पुन, पुर्जा, चोचाङी र रोका मगर गाउँ रहेछ। गाउँको नजिक २०१९ सालमा स्थापना भएको गुरुङ गाउँ प्रा.वि स्कुल थियो। गाउँका केटाकेटीको पहिलो शिक्षालय यही हो। एसइई दिन नाङी गाउँ, बाजुङ र शहर झर्नुपर्ने बाध्यता छ।

‘होमस्टेमा गाउँमै उत्पादन भएका सागसब्जी, वनको च्याउ, ढिँडो पकाएर पाहुनालाई सत्कार गछौं। कहिलेकाहीँ लामो समयसम्म आफ्नो काम यतै बसेर गर्ने उद्देश्य लिएर पनि होमस्टेमा आउँछन्,’ होमस्टेका संचालक लेखबहादुरले होमस्टेबारे सुनाए।

आफैले पकाएर खाने ग्रुप पनि आउने गर्छन्, रे होमस्टेमा। होमस्टेका अध्यक्ष यामकुमारी सचिव प्रतबहादुर खोरजा पनि हामीसँगै थिए। गाउँमा आएका ३२ जनालाई व्यवस्था गर्न सकिन्छ होमस्टेका सचिव प्रतबहादुर खोरजा सुनाए।

भान्छामा ढिंडो, सिस्नो र अलि कति भातले छपनी लगाउने निधो भयो। एकै छिन थकाई मेटेर हामी गाउँतिर लाग्यौं। 

सानो चिटिक्क परेको ढुंगाले बनाएको गाउँभित्र राजेन्द्र जि र म नौला थियौं। हामी अझ गाउँ चहार्न लाग्यौं। गाउँमा गाईवस्तु बधुवा गरिएको रहेछ। गाई, बाख्रा सबै बधुवा रहेछ। घर नजिक बाख्रा बाँधेर राखेको देखियो। अवसर खोज्दै सहर हिँड्नुपर्ने बाध्यताले गाउँ रित्तिइसकेको रहेछ। केही घरहरु खाली थिए। केही छरछिमेकीले हेरेर राखेका रहेछन्। रुपजी को आमा पनि पोखराबाट गाउँ पुग्नुभएको रहेछ। हामी भन्दा अघि।

‘गाउँको माया लागेर के गर्ने केही अहिले गर्न सक्दिनँ। साहिंला छोरा पातिचौर छ। जेठाको घर बारी उसको मावलीले हेरिदिएको कारण राम्रै छ। रुप्पेको धारापानी रहेको जग्गामा कति राम्रो आलु हुन्थ्यो। अहिले सबै घाँस उम्रेको छ। के गर्ने ?’ आमाले दुखेसो पोख्नु भयो।

सहर परेको भए पनि रुपजी गाउँको उत्थानको लागि बेला बेला गाउँ आउने गरिरहेका छन्। सुन्तला खेली गरौं भनेर त फालिएको जग्गामा घाँस लगाउने उद्देश्यका साथ आउने गरेका रहेछन्। यो पटक स्कुलमा रहेको कम्प्युटर चलाउन सिकाउने उद्देश्य लिएर आएका छन्। यो कार्यको साक्षी हामी भएका छौं।

६० घण्टाको कम्प्युटर प्रोफेसनल तालिममा स्कुलका शिक्षक, शिक्षिकालगायत विद्यार्थीहरु गरी ३० जनाको सहभागितामा प्रशिक्षण कक्षाको शुभारम्भ भयो। जसमा विद्यार्थीहरुले उत्साहजनक सहभागिता जनाईरहेका छन्। बिहान ६ बजेदेखि कक्षा सुरुआत गर्दा सहभागी उपस्थित हुँदैनन् भन्ने लागेको थियो तर बिहानी प्रहरदेखि केही सिक्ने चाहना लिएर आएको पाएँ।

गाउँले लोभ्याउँदै थियो। होमस्टेको तिक्खर ढिडो र सिस्नोले बसुँ बसुँ लगाईरहेको थियो। प्रशिक्षक राजेन्द्र जि केही दिन उतै भुल्ने भने पनि हामी भोलिपल्ट फर्किने भनेका थियौं। एक दिन बसाई लम्ब्यायौं। 

सहरले लोभ्याई रहेको। गाउँको स्वाद नबिर्सेको खुईजेरी होमस्टेको स्वादले अझैं पनि लोभ्याई रहेको छ।

प्रकाशित मिति: : 2022-06-06 19:40:00

प्रतिकृया दिनुहोस्

    https://www.youtube.com/watch?v=fZdkYYuDtrQ

    • एक बर्ष अगाडि
    • Mek bdr