ईश्वरी राई (इशु)
दोलखाका भीमबहादुर नेपालीको आम्दानीको स्रोत बनेको छ, बानेश्वर चौकको फुटपाथ।
उनले त्यही फुटपाथबाट घरपरिवारकाे जीविकाेपार्जन गर्छन्। बाटोमा बसेर लुगा सिलाउने उनको ठूला सपना छैन तर सकुञ्जेल काम गर्न चाहन्छन्।
‘दुईदिनको जिन्दगी हो, मरिलानु के नै छ र!’, उनले बिएल नेपाली सेवासँग कुराकानी गर्दै भने, ‘पैसा थुपार्नु छैन मलाई तर बाँचुञ्जेल भोकै बस्न नपरोस्।’
दुई भाइ छोरा र एउटी छोरीका बाबु उनलाई कसैको भर छैन। त्यसैले त उनी दुई दशकदेखि फुटपाथबाटै जीविका चलाउँदै आइरहेका छन्।
उनी भन्छन्, ‘छोरा बुहारीले लगिन्, छोरी ज्वाइँले लगिहाले। अहिले त हामी बूढाबूढी मात्र छौँ।’
उनलाई कसैले देला र खाउँला भन्ने छैन। तर हातको मसी रहुन्जेल उनी मेहनत गर्न चाहन्छन्। ‘आफैँले नगरे हुँदैन, सकुञ्जेल त काम गर्नु परिहाल्याे नि!’, उनी सुनाउँछन्।
बिहानदेखि साझँसम्म फुटपाथमा लुगा सिलाएर बस्ने उनलाई हिजोआज एउटै कुराको डर छ, ‘महानगरपालिकाले गरिखान नदिने हाे कि?’
‘मेरो गरिखाने भाँडो भनेकै यो मेसिन र यही बाटो हो। यदि हामीलाई फुटपाथमा काम गर्न नदिने हो भने हामी जस्ता गरिब त भोक्कै मर्छाैँ नि’, उनले दुखेसो पोखे।
महानगरले फुटपाथमा काम गर्न नदिए आफ्नाे बिजोग हुने उनी बताउँछन्।
‘सटर लिएर बस्यौँ भने भाडा तिर्ने पैसा हुँदैन। त्यसैले बाटोमा बसेर काम गरिरहेको छु। तर अब यहाँ पनि काम गर्न पाइएन भने के खानु?’, उनी आफ्नाे दुख सुनाउँदै भन्छन्, ‘के लगाउनु। कोठा भाडा के तिर्नु?’
फाटेका लुगा सिलाएर पेट पाल्न हम्मेहम्मे परेका उनले आजभाेलि मकै पनि बेच्न थालेका छन्। तर बिक्नै मुस्किल पर्ने गरेकाे उनी सुनाउँछन्।
‘मकै ल्याएर त बेचेकाे छु तर बेच्नै सकेकाे छैन’, बाटाेमा थुपारिएकाे मकै देखाउँदै उनले भने, ‘१० घाेगा मकै ल्याएका छु। बिक्री नै भएकाे छैन।’
पैसाले बाँचेकी छिन्, श्रीमती
कपडा छेकेर दुई/चार सय कमाउने उनलाई श्रीमतीको चिन्ता छ। भन्छन्, ‘मेरी श्रीमती पैसाले बाँचेकी छिन्।’
श्रीमती पेटकाे राेगी भएकाे उनले बताए। ‘श्रीमतीलाई पेटको बिमार छ, उसलाई उपचारको लागि पैसा चाहिरहन्छ’, उनी भन्छन्, ‘पैसा बिना त उनी मरिहाल्छ नि!’
एक/दुई पैसा कमाएर श्रीमतीको उपचार गर्न पाए आफूलाई ढुक्क लाग्ने उनी बताउँछन्। ‘उनी निको भए पुग्छ मलाई, अरु केही चाहिँदैन’, उनले भने।
आमा बिमार हुँदा पनि छाेराछाेरीले वास्ता नगरेकाेमा उनी दुख व्यक्त गर्छन्।
‘उनीहरूलाई ९ महिना पेटमा राखेर जन्माइन् तर उसैलाई बेवास्ता गर्छ’, उनले भने, ‘सबै जना लाखापाखा लागे। हाम्राे कसैले मतलब गर्दैनन्।’
छाेराछाेरी नभएका बाआमालाई उनी भन्न चाहन्छन्, ‘सन्तान नभएकाेमा गुनासाे नगर्नुस्। बूढेसकालमा उनीहरूले नै तपाईंहरूकाे साथ छाड्ने छन्।’
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया