पार्टीकाे निर्णय स्वीकार गरेकी हुँ, अपराध गरेकाे हाेइन : पियारी थापा (अन्तर्वार्ता)

Breaknlinks
Breaknlinks

राष्ट्रिय जनमाेर्चाकी नेत्री तथा गण्डकी प्रदेशसभा सांसद हुन्, पियारी थापा ‘सुप्रभा’। बेला–बेलामा चर्चामा आइरहने पियारी यसपटक पनि आर्थिक  वर्ष २०७९/८० बजेट विनियाेजनमा आफ्नाे श्रीमान अध्यक्ष रहेकाे संस्थालाई बजेट विनियाेजन गर्दा आलाेचित बन्नु परेकाे छ।

आफ्नै श्रीमान अध्यक्ष रहेकाे बाग्लुङकाे काठेखोला गाउँपालिका– ४ काे जिमाक सांस्कृतिक संग्रहालयका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि उनकाे चाैतर्फी आलाेचना भएकाे हाे। पारिवार पाेस्न बजेट विनियाेजन गरेकाे आराेप लागेपनि त्याे गलत भएकाे दाबी उनकाे रहेकाे छ। साे सन्दर्भमा  उनै पियारी थापासँग बिएल नेपाली सेवाका लागि ध्रुब बस्यालले गरेकाे कुराकानीकाे सम्पादित अंश प्रस्तुत छ :


गण्डकी प्रदेशकाे बजेट विनियाेजनलाईं लिएर तपाईंकाे चाैतर्फी आलाेचना भइरहेकाे छ, यसकाे वास्तविकता के हाे ?

सामुदायिक/सांस्कृतिक संग्रालय विवादमा परेको देखिन्छ। मुख्य रूपमा २०७९/८० काे बजेट विनियाेजन विभिन्न आरोप प्रत्याराेपसँग जोडिएको प्रष्ट रहेको छ। कसैको पारिवारिक नाम जोडेर आरोप लगाउने कुरा हाम्रो संस्कृतिक संग्रालयलाई पनि जोडिएको देखिन्छ। यो संग्रालय २०६६ सालदेखि निरन्तर कला, साहित्य, संगीत संरक्षणमा लागिरहेको संस्था हो। जनताले यसलाई एउटा सामुदायिक संस्थाकाे रूपमा बुझ्नुपर्छ।

देश तथा विदेशमा रहेका लोपउन्मुख बाजाहरूलाई संकलन, संरक्षण गर्ने र आन्तरिक पर्यटन प्रर्वधनकाे लागि यो सांस्कृतिक संग्रालय खोलिएको हो। यसमा संस्थाको लागि ०७७/७८ को बजेटमा पनि ५० लाख विनियाेजन भएको थियो। त्यो लगायत अन्य समयमा पनि बजेट विनियोजन भइरहेको छ। त्यो भन्दा पहिले पनि प्रदेश सरकारले १० लाख विनियोजन गरेको थियो। साहित्य तथा संगीतलाई संरक्षण गर्नु र हौसला दिनु राज्यको दायित्व भएकाले बजेट विनियोजन हुनु नाैलाे कुरा हाेइन।

सुरू–सुरूमा यो संस्था सामाजिक सहयोगबाट सञ्चादन गर्दै आएका थियौँ तर पछि यसलाई माथिल्लो तहबाटै देखिने गरी संग्रालयमा परिणत गरौँ भन्ने उद्देश्यले त्यहीँ अनुरूप हामीले यो तहबाट सुरूवात गरेका हौँ। प्रदेश सरकारले बजेट विनियोजन गरेको हो। सुरूवातमै प्रदेश सरकारले सहयोग दिएपछि यसलाई सम्पन्न गर्ने पनि सरकारकै दायित्व रहन्छ। सामुदायिक स्तरबाट स्थानीय तहबाट चौतर्फी माग आएपछि गण्डकी प्रदेश सरकारले सम्पन्न गर्दासम्म बजेट विनियोजन गर्न आवश्यक छ। बजेट दुरूपयोग गरेको भए कानूनी दायरामा ल्याउनु उचित हो। तर, यो त सामुदायिक संस्था हो, कुनै निजी निवास हाेइन। फेरि यो बजेट विनियोजन मैले गरेको पनि हाेइन, बजेट विनियोजन मन्त्रीले गर्ने हो यो पनि बुझ्न जरूरी छ। मैले त मात्र सिफारिस गरेको हुँ। जसरी मेरो चरित्र हत्या हुने गरी विभिन्न कुराहरू गरिएको छ, यो सरासर गलत हो।

यसरी विवादमा फसिने डर हुँदाहुँदै किन यसमा हात हाल्नुभएकाे ?

यो बजेट मैले छुट्याएको हाेइन। बजेट विनियोजन गर्ने काम मन्त्रीको हो। प्रदेश सरकरले २०७७ सालदेखि यसलाई व्यवस्थित गरेर लैजानुपर्छ भनेर आवज उठाइरहेकोले यो पटक पनि बजेट विनियोजन भयो। कुनै कुरामा लगानी गरिसकेपछि निरन्तरता दिनुपर्छ भनेर मन्त्रालयमा सिफारिस गरेको हुँ, बजेट विनियोजन मैले गरेको हाेइन। प्रदेश सरकारले यो कुरालाई मध्यनजर गरेर बजेट विनियोजन गरेकाे हाे।

तपाईंको संस्थामाथि नै आशंका छ, जसको अध्यक्ष तपाईंकै श्रीमान हुनुहुन्छ। उक्त संस्था तपाईंहरूको निजी कम्पनी हो कि सामुदायिक प्रष्ट पारिदिनु न ?

व्यक्तिगत हाे कि सामाजिक संस्था हो, त्यहीँ गएर हेर्न बुझ्न सक्नुहुन्छ। मैले केही दिन पहिले नै एक वक्तव्य सार्वजनिक गरेर जानकारी गराइसकेको छु। संस्थाको विधानअनुसार साधारणसभा गरेर त्यसको नेतृत्व गर्ने कुरामा सम्बन्धित प्रतिवेदन पेस भइसकेको छ। यसको नेतृत्व बदलौँ भन्ने हाम्रो मुख्य विषय हो। अहिले हाल आवश्यकताले मेरो श्रीमान अध्यक्ष हुनुहुन्छ। पछि विधि, विधान र प्रक्रियाअनुसार नयाँ कार्यसमिति चयन हुनेछ। जनतामाझ भ्रम सिर्जना गरियो। गण्डकी प्रदेश पर्यटन प्रवर्धनको मुख्य क्षेत्र हो। मैले गरेको सिफारिसअनुसार अन्य बजेटको चर्चा भएन यसैको यत्रो चर्चा किन ? याे प्रश्न जनताले बुझ्न जरूरी छ।

एउटा सांसदले भएका सबै समस्याको समाधान गर्न सक्दैन, सक्ने जत्ति गर्ने हो। यसमा यति धेरै प्रश्न उठिरहनुपर्ने किन ? यो सामुदायिक हो वा निजी कम्पनी यो आफैंले अनुगमन गरेर हेर्न सक्किन्छ। कहीँकतै समान्य नातावाद जोडिन सक्छ। यो सबै कुरा भष्ट्राचार भन्नु गलत हो। श्रीमान नै मुख्य पदमा रहनु बाध्यताले हो, कुनै गलत नियत छैन। यो भन्दा पहिलेका नेतृत्वले राजीनामा दिएपछि यो बाध्यताले आवश्यकता बनेको हो। यो जसले जसरी व्याख्या गरे पनि यो सामुदायिक हो, कुनै शंका छैन। यसलाई पारिवारिक बनाउन खोजे समाजले हामीलाई कालोमोसो दल्दैन र ? समाजबाट निकाला गरिँदैन त ? यसको नेतृत्व बदल्नुपर्छ। सामुदायिक भएकोले बजेट विनियोजन भएको हो।

श्रीमान नै अध्यक्ष भएपछि तपाईंले पारिवारिक खुसीको लागि राज्यको स्रोत दोहन गरेको जस्तो भएन र ?

मैले सिफारिस गरेकाे क्षेत्रकाे प्रचार नभएकाे हाे, मैले अन्य धेरै सिफारिस गरेकाे छु। राज्यले गर्न नसकेकाे कामहरू म एउटा सांसदले सबै गर्न सकिँदैन। मलै सक्ने जत्ति समावेशी रूपमा सिफारिस गरेकाे छु। सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, सिँचाइ लगातयतका विषयमा मेराे सिफारिस रहेकाे छ। यदि विश्वास नभए रहेक सिफारिसहरूकाे प्रतिलिपि देखाउन पनि सक्छु। त्यस्ता नकारात्मक भ्रम पाल्नु हुँदैन। सबै क्षेत्रमा मेराे प्रथामिकता छ।

तपाईंको यो कदमप्रति पार्टीमा पनि व्यापक असन्तुष्टि देखिन्छ, कारबाही भयो भने के गर्नुहुन्छ ?

याे बजेट मैले आफ्नै तरिकाले राखेकाे हाेइन, पार्टी तथा सम्बन्धित निकायबाट मलाई सिफारिस आएपछि हस्ताक्षर गरेर पेस गरेकाे हाे। याे आमजनताले बुझ्न जरूरी छ। राष्ट्रिय जनमाेर्चाका संसदीय दलका नेताहरूकाे बैठकबाट यी याेजना पारित भएका हुन्। मलाई पार्टीले कारबाही गर्ने कुनै कुरा छैन। मैले गलत गरेकाे नै छैन, पार्टीकाे निर्णय मानेकाे छु। पार्टीबाट नै फिर्ता लिनुपर्छ भन्ने दबाब आएपछि फिर्ता गरेकाे हाे। याे सामुदायिक संस्था रहेकाले यसमा अन्य क्षेत्रबाट पनि सहयाेग जुट्ने भएकाले साे बजेट अस्पतालाई हस्तारण गर्ने कुरा आएकाे हाे।

मुख्यमन्त्रीलगायत अन्य धेरै सांसदले आफ्नो परिवारको नाममा बजेट छुट्याएको देखेर तपाईं पनि हौसिनु भएको त होइन ?

उहाँहरूले सुरूवता गरेकाे संस्था भर्खरै मात्रै स्थापना भएका हुन् तर हाम्राे संस्था पहिलादेखि नै चलिरहेकाे छ। बजेट सिफारिसजस्ताे गहन विषयमा पनि मेराे खुसीले सिफारिस गर्ने भन्ने पनि हुन्छ र ? याे संग्रालयका लागि याे वर्ष मात्रै हाेइन, हरेक वर्षकाे बजेटमा निरन्तर रूपमा बजेट आइरहेकाे छ। सबै संस्थाहरूलाई एउटै तराजुमा राख्नु उचित हाेइन।

मतदाताको अपमान हुने गरी तपाईं पटक–पटक विवादमा आइहनुहुन्छ अब पनि तपाईंलाई मतदाताले विश्वास गर्लान् ?

पटक–पटक विवाद आएकै छैन। कहाँ, कुन विषयमा विवादित भएँ ? म चाहेर विवादित विषयमा सामेल भएकाे छैन। म कुनै पार्टीकाे सांसद हुँ। पार्टीले गर्दा नै सांसद भएकाे हाे। पार्टीले भनेका कुराहरू मान्नुपर्छ, याे मेराे नैतिककता हाे। संविधान, कानुन मिच्ने प्रयत्न भएपछि निरन्तर त्यसका विरूद्धमा बाेलेकी हुँ। हाम्राे पार्टीले दिएकाे निर्णयलाई मैले स्वीकार गरेँ। के म अपराधि भएँ त ? आमजनताले मलाई अपराधि मान्ने ? जनताले मात्रै मलाई याे ठाउँमा ल्याएकाे हाेइन पार्टीले गर्दा म सांसद भएकाे हुँ। नीति गलत वा सही पार्टीले जान्नुपर्ने कुरा हाे, नीति निर्णयविरूद्ध गए कारबाही हुन्छ। संविधान र कानुनअनुसार म ठिक छु, गलत गरेकाे भए म कारबाही भाेग्न तयार छु। सत्य कहिलै झुक्दैन, हिजाेकाे पृथ्वी सुब्बा गुरूङकाे सरकार मैले ढालेकाे हाेइन, पार्टीकाे निर्णयले ढालेकाे हाे। कृष्ण थापाले पार्टीकाे निर्णय नमान्दा कारबाही भाेग्नु परेकाे हाे।

मैले मेराे व्यक्तिगत आकांक्षाकाे लागि कुनै काम गरेकाे छैन। समाज, राष्ट्र र पार्टीकाे लागि काम गरेकाे छु। पैसा कामउने उद्देश्य हाे भने शैक्षिक याेग्यता छ, सक्षम छु जागिर गरेर पनि जीवन चलाउनसक्छु। तर, राजनीति भनेकाे नितान्त समाज सेवाकाे लागि हाे, त्यसैले मेराे जिम्मेवारी राम्राेसँग निभाउने प्रत्यत्न गरिरहेकाे छु, जनताले सबै कुरा बुझ्न जरूरी छ। त्यसमध्ये पनि सत्य सत्य नै हुन्छ। मिडियाहरूले सत्य कुरालाई बाहिर ल्याइिदने हाे तर गलत कुरालाई मात्र प्रचार गर्ने, सत्य कुरालाई बाहिर न ल्याइदिने समस्याले गर्दा याे अवस्था आएकाे हाे। सत्यकाे जित हुनेछ, हामी ढुक्क छाैँ।

प्रकाशित मिति: : 2022-07-14 22:08:00

प्रतिकृया दिनुहोस्