छोरा फर्किने आशमै बित्छन् नरमायाका दिन

उर्लावारी-२ की नरमाया बोहोरा उमेरले ७० वर्ष नाघी सकिन्। विदेशबाट गाउँ फर्किएका जो कोही आएपनि उनलाई हिजोआज आफ्नै छोरा नवराजको खबर पो ल्याए कि भन्ने आश हुन्छ।

रोजगारीको शिलशिलामा मलेसिया गएका नवराजले फोन नगरेको पनि ३ वर्ष भयो। मलेसिया जाँदा लागेको ऋण नतिरेपछि नवराजकी श्रीमती सिर्जना अहिले वैदेशिक रोजगारीकै शिलशिलामा कुवेत पुगेकी छन्। बुहारी सिर्जनाको कमाइले घर चलाउँदै आएकी नरमायाको आश अझै पनि नवराज फर्किएर आउँछन् भन्नेमा छ।

वैदेशिक रोजगारीका लागि पटक-पटक मलेसिया र कतार पुगेका नवराज ४ वर्षअघि पुन: मलेसिया हानिएका थिए। पछिल्लो पटक गएको कम्पनीमा पनि कमाइ राम्रो नभएको बताउने उनले सो कम्पनी छोडेर अवैधानिक बनेका थिए। ‘कमाइ राम्रो छैन आमा भन्थ्याे तर अहिले त खोज खबर नै छैन’, नरमायाले सुनाइन्।

नवराज विदेश गएसंगै बेखबर भएपछि ऋण दिने साहुहरु घर धाउन थालेका छन्।

नवराजका २ छोराहरु छन्। उनीहरुको हेरचाह नरमायाले गरिरहेकी छन्। बुहारी सिर्जनाले पठाएको केही पैसाले जेनतेन गर्दै नरमायाले गुजारा चलाइरहेकी छन्।

नरमायाका अनुसार नवराजले विदेशमा समय बिताएको १२ वर्षभन्दा बढी भयो। १५ वर्षअघि मेलिसाय पुगेका नवराज राम्रो कमाइ नभएको भन्दै ५ वर्षपछि नेपाल फर्किए। राम्रो कमाइ हुन्छ कि भनेर फेरि उनी कतारतिर हान्निए। कतारमा पनि सोचेजस्तो नभएपछि उनी फेरि नेपाल फर्किए।

श्रीमान गुमाएको पीडा खेपिरहेकी नरमायालाई यतिबेला छोराको यादले पिरोलिरहेको छ। नरमायाका जेठा छोरा बाैद्धिक अपाङ छन्। बुढेसकालको सहारा नवराज सम्पर्कविहीन भएपछि नरमायालाई झन पीडा थपिँदै गएको छ। नरमायाको बसोबास सुकुम्बासी क्षेत्रमा एउटा जीर्ण घरको भरमा छ।

गएको केही समयसम्म नवराजले घरमा फोन गरिरहे। उनी परिवार, आफन्त र छरछिमेकसँग सम्पर्कमा नआएको ३ वर्ष बढी भइसक्यो। नवराजले काम गर्ने कम्पनीको न नाम थाहा छ, न ठेगाना नै। मलेसियामा भएका धेरै नेपालीसँग सम्पर्क गर्दा पनि कुनै खबर नपाएपछि नरमाया पीडामा छिन्।

फेसबुकबाट हराएका धेरै मान्छे परिवारको सम्पर्कमा आएको सुनेकी नरमायाले बेलाबेला फेसबुकमा आफ्ना छोरा नवराज खोजिदिन आग्रह गर्ने गरेकी छन्। उनको छोरा नवराजको खोजीका लागि इलाका प्रशासन कार्यालय उर्लावारीमा निवेदन दिएपनि कुनै जानकारी आएको छैन।

अहिले नरमायासँग नवराजको एउटा पुरानो फोटो छ। छोराको याद आउनसाथ उनी फोटो हेरेर मन बुझाउँछिन्। उनीसँग म्याद सकिएको राहादानी पनि छ।

नवराजका दुई छोरा स्थानीय सुन्झोडा माविमा अध्ययन गर्छन्। गाउँमा नयाँ मान्छे आउनेबित्तिक्कै उनीहरु बाबुको खोजखबर गर्छन्। तर अहिलेसम्म केही पत्ता लागेको छैन।

नरमायालाई नवराजका छोराहरु नवराजलाई नै जिम्मा लगाएर मर्ने धोको छ। वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका नवराज परिवारको सम्पर्क बाहिर हुँदा परिवारमा तनाव त थपिएको छ नै, उनको परिवारको अवस्था बेहाल पनि बन्दै गएको छ।

प्रकाशित मिति: : 2022-07-15 18:30:00

प्रतिकृया दिनुहोस्