ट्याटु व्यवसायमा रमेका गणेश : स्वरोजगार मात्रै होइन, रोजगारी पनि दिएका छन्

Breaknlinks
Breaknlinks

नेपालमा रोजगार नभएको भन्दै दैनिक सयौँको संख्यामा युवाहरु विदेशीरहेका छन्। खाडीदेखि युरोप, अमेरिका, अष्ट्रेलियालगायत देशमा युवाहरु रोजगार खोज्दै जाने गरिरहेका छन्। अध्ययनका लागि भन्दै विदेशिने युवाहरु पनि अन्ततः रोजगारकै लागि विदेशिएका हुन्छन्।

यसरी दैनिक सयौँको संख्यामा युवाहरु विदेश जानेक्रम बढिरहँदा केही यस्ता युवाहरु पनि छन्, जो नेपालमै केही गर्नुपर्छ भनेर लागिपरेका छन्।

यस्तै मध्येमा एक हुन्, दाङ घोराही उपमहानगरपालिका–१८ निवासी गणेश भुज। भुज सानैदेखि आर्ट (चित्र बनाउने काम) बनाउन मन पराउँथे।आर्ट गर्नु पर्यो भने उनी, रातदिन पनि लागिपर्थे। यस्तैमा एक दिन उनलाई आर्ट बनाउने कलालाई व्यवसायमा जोड्ने योजना बनाए। उक्त योजना अहिले राम्रो आम्दानीको माध्यम भइरहेको छ।

भुजले घोराहीमा ‘आर जोन ट्याटु’ नामबाट सेवा दिइरहेका छन्। विगत १० वर्षदेखि उनी ट्याटुको माध्यमबाट आर्ट बनाउने काममा लागिपरेका छन्।

अहिले ट्याटु बनाउने फेसनका रुपमा विकास भइरहँदा व्यवसाय पनि राम्रै हुँदै गइरहेको भुज बताउँछन्। ‘१० वर्ष अघि त, ट्याटु बनाउन त्यस्तो आउँदैन थिए’, उनले भने, ‘अहिले अहित राम्रै छ। फेसन, शोखका रुपमा ट्याटु बनाउने बढ्दै गएका छन्।’

५० हजारबाट लगानी गरेर ट्याटु बनाउने कामको थालनी गरेका भुजले अहिले आएर ५० लाख बढीको लगानी गरिसकेका छन्। लगानी मात्रै होइन, उनले ३ जनालाई रोजगारीसमेत दिएका छन्। ट्याटु बनाएर मासिक २ लाखसम्मको आम्दानी हुने गरेको उनले बताए।

भुजले अहिले आएर ट्याटु बनाउने मात्र होइन, बनाएको ट्याटु मेटाउने काम पनि गरिरहेका छन्। जिल्लामा नै पहिलो पटक लेजर ट्याटु रिमुभर मेसिन भित्र्याएर ट्याटु मेटाउने काम पनि गर्न थालेको भुजले बताए।

‘जिल्लामा नै पहिलो पटक हामीले ट्याटु मेटाउनका लागि मेसिन ल्याएका छौँ। अब ट्याटु बनाउनेलाई मात्र होइन, मेटाउनेलाई पनि अब सेवा दिनेछौँ’, उनले भने।

ट्याटु बनाउन बालकदेखि ५०/६० वर्षका वद्धहरु पनि आउने गरेको उनको अनुभव छ। तर १८ वर्ष मुनिकालाई ट्याटु बनाउन नपाइने उनले बताए। भुजले ट्याटु बनाउने ट्रेनिङ पनि दिइरहेका छन्। साथै वाल पेन्टिङको काम गरेर आर्टका माध्यबाट सेवा दिइरहेको उनले बताए।

भुज अब स्कीन (सौन्दर्य) केयरसम्बन्धी काम गर्ने योजनामा छन्। उनले भने, ‘गर्नुपर्ने काम धेरै छ। सानैमा आर्ट गर्ने बानीले आज व्यावसायिक बनाएको छ। थप विस्तार गर्दै अब स्किन केयरसम्बमन्धी काम गर्ने योजना छ।’भुज युवाहरुलाई विदेश नजान आग्रह गर्छन्। यहीँ नै आफ्नो इच्छा भएको काममा निरन्तर लाग्न सकियो भने पैसा कमाउन सकिने उनको भनाइ छ। सुरुसुरुमा पैसा कमाउन सकिएन भनेर व्यवसायमा आत्तिनुभन्दा धैर्य गर्नुपर्ने उनी तर्क गर्छन्।

प्रकाशित मिति: : 2022-08-08 22:00:00

प्रतिकृया दिनुहोस्