पुष १७ मै कसरी उड्ला पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज ?

बहुप्रतिक्षित राष्ट्रिय गौरवका आयोजनामध्ये एक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तयारी थालिएको छ। आगामी पुष १७ (जनवरी १) गतेबाट उडान सञ्चालन गर्ने गरी अहिले तयारी चलिरहेको छ।

विमानस्थलको आयोजना अन्तर्गत रनवे, ट्याक्सी वे, एप्रोन, हेंगरको निर्माण कार्य, बिल्डिङ एअरसाइडको तर्फ ड्रेनएजतर्फको काम फिनिसिङको काम पनि सम्पन्न भइसकेको छ। बिल्डिङतर्फ पेसेन्जर टर्मिनल, हेंगर बिल्डिङ लगाउतका १४ बिल्डिङ बनिसकेका छन्।

हालसम्म आयोजनाको ९८ प्रतिशत काम सम्पन्न भएको छ। विमानस्थल सञ्चालनका लागि सरकारले मिति पनि तोकिसकेको छ, आगामी पुष १७ गते। ‘यसलाई सञ्चालनमा लैजाने तयारीमा छौं। इक्युपमेन्ट क्यालिब्रेसन फ्लाइट पनि अक्टोबरभित्र हामीले गर्ने टार्गेट छ। जनवरीदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणको बोर्डबाट नियमित उडान गर्ने अपरेसनमा ल्याउने तयारी छ। त्यही अनुसार जनवरीबाट विमानस्थल सञ्चालनमा ल्याउँछौं,’ विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मीले भने।

तर, विमान उडानका लागि सामुन्नेका दुई ठूला व्यवधान नै हटेको छैन। ल्याण्डफिल्ड साइट र रिठ्ठेपानी डाँडा विमानस्थल सञ्चालनका लागि बाधक भएको भन्दै ती नहटेसम्म विमान उड्न नसक्ने बताइएको छ। हालसम्म न ल्याण्डफिल्ड साइटको टुंगो लागि सकेको छ, न रिठ्ठेपानी डाँडा नै काटिएको छ।

विमानस्थलको पूर्वी भागमा रहेको यो डाँडा विमान उडान अवतरणमा बाधक छ। स्थानीय गोविन्दराज तिमिल्सिनाका अनुसार डाँडा कटानको काम अहिले बर्खायामका कारण ठप्प छ। बर्खा सकिए लगत्तै डाँडा कटानको काम अघि बढ्ने संकेत देखिए पनि हालसम्म डाँडा कटानको एक प्रतिशत पनि काम भएको छैन।

आयोजना प्रमुख मुनाकर्मीले डाँडा कटान समाधान उन्मुख नै रहेको बताए। सम्पूर्ण अध्ययन र सम्झौता गरेर डाँडाका ६ सय रुख कटान भइसकेको उनले बताए। ‘तत्कालका लागि ४० मिटर काट्न पर्ने हुन्छ। क्यालिब्रेसन गर्न १४ मिटर काँटे पुग्छ। त्यो एकमहिना भित्रमा सकिन्छ,’ उनले भने, ‘अहिले रुख पनि काटिसकेको छ। काम सुरु गरेको एक महिना भित्रै सकिन्छ।’

ल्याण्डफिल्ड साइटका लागि भने महानगरले ठाउँ छनौट गरिसकेको बताएको उनले सुनाए। महानगरका अनुसार यसै महिना भित्रमा सार्ने ल्याण्डफिल्ड साइटको व्यवस्थापन हुन्छ। ‘उहाँहरुले सार्नैपर्ने हुन्छ। किनभने नसार्नुको अर्को विकल्प नै छैन। चराहरुको एक्टिभिटिज अलि बढी नै छ। यसले अपरेसनमा बाधा पुग्छ,’ उनले भने।

पहिलो काम डाँडा कटान गरिसकेपछि ल्याण्डफिल्ड साइटकाे काम गरिने उनले बताए। महानगरले अस्थायी रुपमै भएपनि नयाँ ल्याण्डफिल्ड साइटको व्यवस्थापन गर्ने बताएको उनले सुनाए। ‘स्थायीका लागि समय लाग्ला। पर्मानेन्ट गर्न। हामीले अस्थायी व्यवस्थापन गर्छौ। त्यसको लागि ठाउँ हेरिरहेका छौं भनेर भन्नु भएको थियो। प्रमुखज्यू मेयर सापसँग पनि यही कुरा भएको छ,’ उनले भने।

जनवरी १ मा अपरेसन फ्लाइट सुरु हुने सरकरी निर्णय भइसकेकाले उडान सुरु हुने उनको दाबी छ। अहिले विमान सञ्चालनका लागि सुरक्षा निकायका पदाधिकारीहरुसँग छलफल चलिरहेको उनले सुनाए।

यसअघि विमानस्थल सञ्चालनका लागि तत्कालै १ सय रोपनी जग्गा धप अधिग्रहण गर्नुपर्ने कुरा उठेको थियो। तर, कोरोना महामारीपछि भने सो विषय नै साम्य भयो। निर्माणका काम सकिसकेकाले तत्काललाई जग्गा अधिग्रहणको काम आवश्यक नरहेको उनले सुनाए। ‘हाललाई आवश्यक छैन। भविष्यमा आवश्यक परेको खण्डमा नेपाल सरकारले गर्ने हो। विकास निर्माण एउटै चरणमा हुन्न। पटक–पटकमा हुन्छ। तत्काल अपरेसनमा नआएसम्म केही भन्न सक्ने अवस्था छैन,’ उनले भने।

यता महानगरका सूचना अधिकारी भरतराज पौडेल भने ल्यान्डफिल्ड साइटको विषयमा केही उपलब्धि नै हुन नसकेको बताउँछन्। ‘छलफल त चलिरहेको छ। नयाँ ठाउँ तोकिएको छैन। त्यही ठाउँमा डम्पिङ होइन ल्याण्डफिल्ड कसरी बनाउन सकिन्छ भनेर दुई टोली अन्य ठाउँको राम्रो ठाउँ हेर्न पठाउने भनेका छौं,’ उनले भने,‘दिनदिनै नयाँ ठाउँ तोकेर के पार लाग्ला कुशल व्यवस्थापन गर्ने भन्ने हिसाबले हामी लागेका छौं।’

प्रकाशित मिति: : 2022-08-09 19:20:00

प्रतिकृया दिनुहोस्