फोहोरकाे भुमरीमा बालेन

Breaknlinks
Breaknlinks

पछिल्लो केही समययता काठमाडौँ उपत्यकाका सडक तथा गल्लीहरुमा फोहोर थुप्रिरहेकाे छ। लामाे समयदेखि फाेहाेर नउठ्दा काठमाडाैँबासीले सास्ती भाग्नु परेकाे छ।

फाेहाेर व्यवस्थापनका क्रममा बञ्चरेडाँडामा पटक-पटक भइरहेकाे अवराेधले काठमाडाैँकाे फाेहाेर उठ्न सकेकाे छैन। कतिपय ठाउँकाे फाेहाेर उठेकाे भएपनि त्यसकाे उचित व्यवस्थापन भने हुन सकेकाे छैन।

लामाे समयसम्म पनि फाेहाेर नउठ्दा काठमाडाैँबासी आक्राेशित भइरहेका छन्। फाेहाेर नउठ्दा कतिपयले महानगरपालिकाका मेयर बालेन शाहलाई समेत गाली गरिरहेका छन्। काठमाडाैँकाे फाेहाेरमाथि राजनीति भइरहेकाे आम मानिसकाे बुझाइ पनि छ।

अनेकाैँ बहानामा फाेहाेर व्यवस्थापनमा पटक-पटक अवराेध भइरहँदा कतिपयले काठमाडाैँका मेयर बालेनलाई असफल बनाउने खेल भएकाे पनि बताइरहेका छन्।

स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट काठमाडौँको मेयरमा निवार्चित भएका बालेनले आफ्नो पहिलाे प्राथमिकता फाेहाेर व्यवस्थापनमा रहने बताएका थिए। तर, हालैको अवस्थालाई हेर्ने हो भने बालेन आफैँ फोहोरको भुमरीमा फसिरहेका छन्।

काठमाडौँबासीको मनमा बस्न सफल भएका मेयर बालने पछिल्लाे समय भने फोहोरकै कारणले गर्दा आलोचना पनि खेपिरहेका छन्।

‘स्वतन्त्रबाट निर्वाचित जनप्रतिनिधिहरुलाई राजनीतिक दलहरुले काम गर्ने दिँदैनन्’ भन्ने आम मानिसकाे बुझाइ काठमाडौँका मेयर बालेनसँग ठ्याक्कै मिल्दोजुल्दो बनेकाे छ। बालेनलाई अहिले काठमाडौँकाे फाेहाेर व्यवस्थापनमा समस्या भइरहेकाे छ।

उनले काठमाडौँको फोहोरलाई दीर्घकालीन व्यवस्थापन गर्नको लागि पटक-पटक प्रयास पनि गरिरहेका छन्, तर एकपछि अर्का गर्दै उनी असफल भएका छन्। उनीसँग फोहोर व्यवस्थापनका लागि नयाँ योजना रहेको र ती योजनाहरु नागरिकसमक्ष पनि सुनाएका थिए। तर उनका ती याेजनाहरू कार्यान्वयन हुन सकेका छैनन्।

फाेहाेर व्यवस्थापनमा पटक-पटक अवराेध हुँदै आइरहेकाे सिसडोला तथा बञ्चरेडाँडामा आउँदो भदौ १ गतेबाट स्थानीयले थप कडाइका साथ फोहोर फाल्न नदिने चेतवानी दिएका छन्।

‘बरु हामी मर्न तयार छाैँ तर फोहोर फाल्न दिँदैनाैँ’ भन्ने जस्ता आक्राेश सिसडोलाका स्थानीयले पोखका थिए। सिसडोला र बञ्चरेडाँडामा फाेहाेर व्यवस्थापनमा अवराेध स्थानीयले अहिले मात्र हाेइन, पहिलादेखि नै गर्दै आएका हुन्। यसकाे समाधान हालसम्म पनि हुन सकेकाे छैन।

मेयर बालेन आफू निवार्चित भएकै दिन सिसडोल पुगेका थिए, त्यतिबेला सिसडोलबासीले उनीमाथि आक्राेश पोखेका थिए। १७ वर्षदेखि राजनीति दलहरुले गरेको गल्तीको सजाय मेयर बालनेलाई किन?

कहिले गाडी तोडफोड गरेर त कहिले ब्राखा मारेको निहुँमा विराेध गरेर फोहोर व्यवस्थापनमा स्थानीयले अवराेध गरिरहेका छन्। 'के स्वतन्त्रबाट निर्वाचित प्रतिनिधिहरूलाई काम गर्ने वातावरण नभएकै हाे त नेपालमा? अहिले काठमाडौँबासीहरुको मनमा यही एउटा कुरा चलिरहेको छ- काठमाडौँको फोहोर कहिले उठ्छ?

काठमाडाैँ महानगर र सिसडोल तथा बञ्चरेडाँडाबासीसँग फाेहाेर व्यवस्थापनका विषयमा छलफल पनि भएकाे थियाे। तर स्थानीयहरूले आफ्नाे माग सम्बोधन नभएकाे भन्दै काठमाडौँबाट लगिएको फोहोरकाे गाडी पटक-पटक बीचबाटोमै राेकिदिन्छन्।

काठमाडौँ महानगरलपालिकाले गत साउन १ गतेबाट कुहिने र नकुहिने फोहोर छुट्याउन आग्रह पनि गरेकाे थियाे, तर केही ठाउँमा कार्यान्वयन भएपनि सबै ठाउँमा भने कार्यान्वयन हुन सकेकाे छैन। यसले गर्दा पनि फाेहाेर उठाउन आनकानी भइरहेको छ। काठमाडौँका सडक फोहोरको डंगुरले भरिसकेको छ, पानी परेकाे समयमा त झनै समस्या बनाउँछ।

भदौ १ गतेबाट काठमाडौँ फोहोर कता जाला?

काठमाडौँ महानगरपालिका र ककनी गाउँपालिकाबीच फोहोर व्यवस्थापनकाे विषयमा पटक-पटक सहकार्य भइसकेको छ, तर पनि अवरोध आइरहेको हुन्छ। साउन महिनामा मात्रै ३/४ पटकभन्दा बढी फोहोरको गाडीमा अवराेध भइसकेकाे छ।

गत सोमबार मात्रै फोहोर बोकेर बञ्चरेडाँडा गएको १५ वटा गाडी तोडफोड भएकाे थियो। उक्त तोडफोडमा २८ जना संलग्न भएकाे प्रहरीले बताएकाे थियाे। जसमा विभिन्न पार्टीका ३ जना रहेकाे महानगर बताएकाे छ। उक्त तोडफोडको संलग्नलाई कारबाही गर्ने भनिए पनि हालसम्म कारबाही हुन सकेको छैन।

आइतबार काठमाडौँबाट फोहोर लिएर गएको गाडीले बाख्रा मारेको भन्दै स्थानीयहरुले अवरोध गरेका थिए। काठमाडौँका मेयर बालेनले आइतबार भएको घटना विषयमा आपत्ति पनि जनाएका थिए।

‘भूमि लिन तथा संरचना निर्माणमा र प्रभावितहरुले पाउने सुविधा तथा मुअब्जा जस्ता काममा ५ अर्ब खर्च भइसकेको छ। यो झुक्याएर गरिएको पनि थिएन। यसका वैधानिक सम्झौताहरु छन्। ती सम्झौताहरुको पालना गर्नु सबैको कर्तव्य हो’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फोहोरको रास लगाएर त्योभित्र झन कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिउँ। राजनीति त्यस्तो हुँदैन। त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन। यसमा हेक्का राखौँ।’

बाख्रा मारेपछि नै धादिङकाे धुनेबेसी नगरपालिका-१ का कांग्रेसका नेता पूर्णसिंह तामाङ, माओवादीका नेता विष्णु तामाङ र नेकपा एकीकृत समाजवादीका नेता भिषण धितालले फोहोरका स्थानीयहरू निकै सास्ती भाेग्नु परेकाे र याे समस्यालाई तत्काल हटाउन भन्दै काठमाडौँ महानगरलाई हस्ताक्षरसहित निवेदन पेश गरेका छन्।

‘अस्ति भएको तोडफोडमा संलग्न ३ नेता कांग्रेसका पूर्णसिंह तामाङ, माओवादीका विष्णु तामाङ र एकीकृत समाजवादीका भिषण धिताल रहेको र हिजो पनि महानगरलाई हस्ताक्षरसहित निवेदन दिने उहाँहरु नै हो’, काठमाडाैँ महानगरका मेयरका सहयोगी सुनिल लम्सालले बिएल नेपाली सेवासंग भने।

गाडी ताेडफाेडका घटनामा संलग्नलाई कारबाहीकाे दायरामा ल्याउन माग गरेकाे तर उनीहरूलाई हालसम्म कारबाही नगरेपछि फाेहाेर लैजान समस्या भएकाे उनकाे भनाइ छ।

‘साेमबार बिहानसम्म मात्र काठमाडौँबाट २०० वटा गाडी फोहोर बोकेर गएकाे थियो, तर आइतबारकाे बाख्रा मारेकाे घटनाले गर्दा अहिलेसम्म पनि स्थानीयहरुले फोहोर फाल्न दिइराख्नु भएको छैन', उनले भने, ‘भदौ १ गतेबाट सिसडोल र बञ्चरेडाँडामा फोहोर फाल्न नदिने कुरा आइरहेको छ, त्यो सबै हल्ला मात्र हो। भदौ १ गतेबाट काठमाडौँकाे फोहोर सिसडोल र बञ्चरेडाँडा नै जान्छ।’ अब फोहोर दैनिक रूपमा उठ्ने उनको भनाइ छ।

पटक-पटक फोहोर व्यवस्थापनमा अवराेध भइरहँदा पनि महानगरले काठमाडौँबासीलाई फोहोरबाट उन्मुक्ति दिलाउन खोजिरहेका छ। तर यहाँ फोहोरमाथि राजनीति भइरहेकाे भान हुन्छ।

प्रकाशित मिति: : 2022-08-16 20:40:00

प्रतिकृया दिनुहोस्