चौथो पूर्वाधार सम्मेलन भदौ २३ र २४ गते हुने (भिडियो)

सरकार निजी क्षेत्रसँगको सहकार्यमा प्रतिबद्ध छ : उपसचिव धामी

उमेश थापा

काठमाडौं

नेपाल पूर्वधार संघको चौथो संस्करणको पूर्वाधार सम्मेलन आयोजना हुने भएको छ।

नेपाल उद्योग परिसंघले सोमबार पत्रकार सम्मेलन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा आगामी भदौ २३ र २४ गते सम्मेलन गर्न लागेको जानकारी गराएकाे हो।

पूर्वाधारमा लगानीकाे आवश्यकतालाई आत्मसाथ गर्दै पूर्वाधार सम्मलेनको आयोजना गर्न लागिएकाे संघले जनाएको छ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले पूर्वाधार सम्मेलनले पुनर्निर्माणसम्बन्धी जनचेतना बढाएको बताए।

उनले भने, ‘पूर्वाधारसँग सम्बन्धी विषयमा आम जनताको चासो व्यापक बढेको छ। तर लगानी भने बढ्न सकेको छैन। अबको चौथो सम्मेलनले लगानीलाई समेत आकर्षित गर्नेगरी तयारीमा जुटेका छौँ।’

यस्तै उनले  कोभिड–१९ का कारण नेपालको आर्थिक वृद्धिमा कमी आएको भन्दै अब हुने सम्मेलनले पुनरुत्थान तथा सुदृढ गर्न सहज हुने दाबी गरे।

‘२०१९ मा भएको पूर्वाधार सम्मेलनपछि कोभिडका कारण नेपालको आर्थिक वृद्धिमा २.३७ प्रतिशतले कमी भयो’, उनले भने, ‘२०१२ देखि सुरु भएको सम्मेलन २०१४, २०१७, २०१९ मा गरेका थियौँ, तर  कोभिड–१९ का कारण हामीले २०२१ मा सम्मेलन आयोजना गर्न सकेनौँ। तर अब हुने सम्मेलनले नेपालको आर्थिक पुनरुत्थान, हरित पूर्वाधारमा ध्यान केन्द्रित गर्दै नेपालको आर्थिक विकासमा सुदृढ गर्न मद्धत गर्दछ’ उनले भने।

सम्मेलनले नयाँ प्रकारको वित्तीय ढाँचा, प्रत्यक्ष वैदेशिक लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधि र डिजिटल रूपान्तरणलगायतका विषयमा नीतिगत सुधारको अवधारणालाई पुनर्जीवित गर्ने विश्वास लिएको आयोजकले जनाएको छ।

यसैगरी नेपाल भौतिक  पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव शंकरसिंह धामीले पूर्वाधार सम्मेलनको आयोजक हुन पाउँदा खुसी भएको बताए।

‘अब हुन गइरहेको सम्मेलनले एउटा दिशा निर्देशन गरेको छ। विश्वव्यापी रुपमा भइरहेको पुँजी अभाव र बढ्दो ब्याजदरले पूर्वाधार क्षेत्रमा लागानीका रुपमा स्रोत परिचालनमा तथा चुनौती बनेको बेलामा सम्मेलनले स्थानीय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई विश्वासमा लिएर नयाँ वित्तीय उपकरण र ढाँचामा केन्द्रित गरी नीतिगत सुधार गर्न सकेमा अवसर राम्राे हुन्छ’, उनले भने।

उनले सरकार तथा निजी क्षेत्रसँग सहकार्य गर्न सधैँ प्रतिबद्ध रहने बताए।

यस्तै भदौ २३ र २४ हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवा गर्ने भएका छन्।

सम्मेलनको विशिष्ट अतिथिहरूमा भारतका सडक, यातायात तथा राजमार्ग मन्त्रालयका राज्यमन्त्री विजयकुमार सिंह, भारतस्थित अडानी समूहका संस्थापक तथा अध्यक्ष गौतमा शान्ति अडानी, अर्थमन्त्री जनार्दन शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू रहने आयोजकले जनाएको छ।

प्रकाशित मिति: : 2022-08-15 18:19:00

प्रतिकृया दिनुहोस्