डिल्ली पाण्डे
                                नेकपा (एमाले)का केन्द्रीय पदाधिकारीदेखि सदस्यसम्म आउँदो आम निर्वाचन केन्द्रीत भएर मतदाता आफूतिर तान्ने अभियानमा सक्रिय छन्।
गाउँदेखि सहरसम्म चुनावी माहोल बढ्दै गएको छ। यसैबेला टिकटको तीव्र आकांक्षा राख्दै पार्टी छोड्ने र प्रवेश गर्नेहरूको उस्तै भीड छ।
०७४ सालको निर्वाचनमा वाम गठबन्धन गरेर चुनावमा होमिएको नेकपा नामको ‘एउटा कम्युनिष्ट शक्ति’ भिन्नभिन्नै कित्तामा छन्।
नेकपा (एमाले)का कैयौँ नेता–कार्यकर्ता अक्करै–अक्करको राजनीतिक यात्रामा हिँडिरहेका छन्। आउँदो निर्वाचन एमालेका लागि चुनौतीपूर्ण देखिएको छ।
‘एमालेका नेता–कार्यकर्तालाई सत्ता गठबन्धनसँग निर्वाचनमा भाग लिनुपर्ने बाध्यता छ। कमरेड ओलीकाे आदेश बोकेर निर्वाचनमा जान्छौँ। जित्ने–हार्ने भन्दापनि एमालेको विचार फैलाउने कुरा हो,’ एमालेका एक पदाधिकारी भन्छन्।
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग आन्तरिक संवादमा जुटेको एमाले अन्ततः एक्लै चुनावी मैदनामा उत्रने पक्काजस्तै छ। वाम शक्तिसँग चुनावी सहकार्यको ढोका नाटकीय रूपमा बन्द भएपछि अध्यक्ष केपी शर्मा ओलीदेखि पोलिटव्यूरो सदस्य सूर्य थापासम्म ‘पर्ख र हेर’को अवस्थामा छन्।
‘कमरेड प्रचण्डले हाम्रो पार्टी नेपाली कांग्रेससँग मिसाएपछि वाम गठबन्वध वा एकताको कुरै सकियो। अब ढोका बन्द भयो। यसको मतलब कमरेड ओली गतिलो मान्छे भन्या चाहिँ होइन। हामीहरूको पार्टीभित्र कुनै भूमिका हुँदैन। सुप्रिमोको पछिपछि हिँड्ने हो, जय–जयकार गर्ने हो। यस्तो चुनाव जित्ने वा हार्ने ठुलो कुरै होइन, पार्टीभित्र विचार भन्ने अर्को कुरा पनि हुन्छ नि! विचार सकिएपछि जे गरेपनि हुन्छ’, माओवादी केन्द्रका एक स्थायी समिति सदस्यले भने।
एमाले अध्यक्ष ओली गृह जिल्ला झापाको निर्वाचन क्षेत्रमा पुगेर केन्द्रीय समिति बैठकका लागि काठमाडौं फर्किएका छन्।
उता पत्रकारिता पृष्ठभूमिका युवा नेता थापा राष्ट्रिय जनमोर्चालाई सराप्दै राजनीतिक माहोल तताइरहेका छन्। उनी नेपाली कम्युनिष्ट आन्दोलनका एउटा सक्रिय नेता मोहनविक्रम सिंहलाई सामाजिक सञ्जालमार्फत् टीका–टिप्पणी गरेर प्युठान–बुटवल–काठमाडौं कुदिरहेका छन्।
‘धेरै पटक चुनाव लडियो। कहिले हारियो, कहिले जितियो। यो सामान्य प्रक्रिया हो। नयाँनयाँ केटाहरूलाई निर्वाचन आउँदा एकदम धेरै जोश जाग्छ। सूर्य थापा, गोकुल बाँस्कोटा, विष्णु रिजाल, ऐन महरजस्ता युवाहरू तातिएका छन्,’ एमालेका एक पूर्वपदाधिकारीले भने।
सत्ता गठबन्धन सिट बाँडफाँटमा केन्द्रीत भएको मौका छोपेर अध्यक्ष ओलीले नेता–कार्यकर्ता चुनावी मैदानमा खटिएका छन्।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी आ–आफ्नो दाबीमै अल्झिरहेका छन्।
त्यसो त पार्टीविहीत वामदेव गौतमदेखि पार्टी खोल्दै हिँडिरहेका बाबुराम भट्टराईसम्म वाम लोकतान्त्रिक गठबन्धनमा जोडिएका छन्। प्रत्यक्ष र समानुपातिक उम्मेदवारीलाई लिएर सत्ता गठबन्धनभित्र ठुलो संकट छ।
कांग्रेसको किल्लामा माओवादीले भाग खोज्दा भागबण्डा नमिलेको कांग्रेस नेताहरू बताउँछन्। आम चुनाव नजिकिँदै छ। एकातिर गठबन्धन छ, अर्कातिर कार्यकर्ताको आफ्नै माग छ।
दाङ जिल्लामा माओवादी र समाजवादी शून्यजस्तै छ,’ नेपाली कांग्रेस दाङका एक नेताले भने, ‘स्वभाविक रूपमा हाम्रो दाबी हुन्छ। अहिले त कृष्णबहादुर महराको क्षेत्र पनि कमजोर छ। त्यो क्षेत्रमा पनि कांग्रेसको दाबी कायमै छ।’
सत्ता गठबन्धनभित्र सिट बाँडफाँट चुनौतीपूर्ण देखिन्छ। तर पनि नेता–कार्यकर्ता चुनावको तयारीमा जुटिरहेका छन्। वाम गठबन्धन नहुने पक्का भएपछि माओवादी र समाजवादीका नेता–कार्यकर्तालाई आफूतिर तान्न अध्यक्ष ओलीले निर्देशन दिएका छन्।
एमालेका दर्जनौँ शीर्ष नेताहरू अघिल्लो आम निर्वाचन र गत स्थानीय तहको निर्वाचनको मत परिणाम विश्लेषणपछि पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म प्रत्यक्षबाट भागिरहेका छन्।
माओवादीका अधिकाशं पदाधिकारी वाम गठबन्धन हुँदै एकतासम्मको पक्षमा छन्। तर उनीहरू अध्यक्ष प्रचण्ड र उपामहासचिव जनार्दन शर्मासामु हाबी हुन सकेनन्।
‘अध्यक्ष कमरेड केपी शर्मा ओलीनिकटका पैसावाला नेताहरू समानुपातिकमा छिरिहाल्छन्। वर्षौंदेखि संगठनमा भिजेका हामीहरूलाई गठबनधनले जित्न दिँदैन। अघिल्लोपटक वाम गठबन्धन गर्दा मेरो निर्वाचन क्षेत्र माओवादीका भागमा पारियाे। यसपालि त कसरी लड्नु खर्चिलो चुनाव’, एमालेका एक केन्द्रीय सदस्य भन्छन्।
खास–खास निर्वाचन क्षेत्रबाहेक धेरै ठाउँमा एमालेभित्र टिकट पाउनका लागि खासै दौडधुप छैन। एकातिर सत्ता गठबन्धन, अर्कातिर प्रत्यक्ष निर्वाचन प्रणाली भड्किलो र महंगो छ।
एमाले स्रोतकाअनुसार अध्यक्ष ओलीनिकट पदाधिकारीदेखि समानुपातिक खाइसकेका केन्द्रीय नेतासम्म प्रत्यक्षबाट भाग्दै छन्। उनीहरू आजभोलि चुनावी चर्चा नै रूचाउँदैनन्। तर सत्ता गठबन्धनभित्र भने प्रत्यक्षतर्फ तीव्र आकांक्षी छन्। गठबन्धनबाट चुनाव जित्ने अनुमान गर्दै शीर्ष नेताको घरदैलो धाइरहेका छन्।
आम निर्वाचनमा प्रत्यक्ष उम्मेदवार बन्दा करोडौँ खर्च गर्नुपर्ने बाध्यता रहेको नेताहरू नै बताउँछन्। ‘निर्वाचन महँगो छ। गठबन्धनका कारण जित्न सक्ने अवस्था नै छैन। किन लड्नु चुनाव’, एमालेका एक पोलिटव्यूरो सदस्यले भने, ‘चुनाव लड्ने कुरा गर्दा घरमा श्रीमती रिसाएर हैरान छ। अहिलेसम्म कमाएको पैसा जति सबै सकिन्छ, कहाँ चुनाव लड्नु यस्तो बेला।’
आउँदो निर्वाचनलाई लिएर एमालेभित्र अनेकौँ असन्तुष्टि र गुटगत भेला भइरहेका छन्। खासगरी उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल सक्रिय छन्। गत स्थानीय तहको निर्वाचनमा लुम्बिनीका धेरै पालिकामा महासचिव हाबी हुँदा जित्नसक्ने क्षेत्र गुमाएको पौडेल पक्षको निष्कर्ष छ।
पौडेल र पोखरेलबीच प्रत्यक्षतर्फ आफूइतरका नेता र समानुपातिकतर्फ आफूनिकट नेतालाई उम्मेदवारी बनाउने रणनीति चलिरहेको छ। त्योसँगै अध्यक्ष ओली निवास बालकोटपछि पौडेल निवास भैँसीपाटी र पोखरेल निवास कोटेश्वरमा भीडभाड बाक्लिएको छ।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया