देशकाे राजनीति माओवादीको एजेण्डामा चलेको छ : लोकेन्द्र लम्साल (भिडियाे)

आगामी मंसिर ४ गतेको लागि प्रदेश र संघको निर्वाचन मिति तोकेसँगै विभिन्न राजनीतिक दलका नेताहरू चुनाव केन्द्रित भएको देखिन्छ। आसन्न निर्वाचनको सन्दर्भमा वाम लोकतान्त्रिक सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको छ।

भदौ पहिलो साता सिट बाँडफाँट टुङ्ग्याउने गरी गठबन्धनको कार्यदल गठन भएपनि कार्यदलका सदस्यहरुमै कुरा मिल्न नसक्दा यो विषय थप लम्बिएको अनुमान गरिएको छ।

यता नेकपा माओवादीको केन्द्रका पोलिटब्यूरो सदस्य लोकेन्द्र लम्साल भने सिट बाँडफाँट चाँडै टुङ्गिने बताउँछन्। उनी वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको चुनावलाई आधार मानेर मापदण्ड बन्ने दाबीसमेत गर्छन्। अझ सरकारमा जान बहुमत पुग्ने टिकट माओवादीले पाउनुपर्ने उनकाे दाबी छ।

सत्ता गठबन्धनमा सिट बाँडफाँटमा देखिएको सकस, भागबण्डाका लागि भइरहेको प्रयास तथा माओवादी केन्द्रको पदाधिकारी चयनपछिको गतिविधिलगायतका विषयमा केन्द्रित रहेर उनै पोलिटब्यूरो सदस्य लम्सालसंग बिएल नेपाली सेवाका लागि ध्रुब बस्यालले गरेको कुराकानीको संपादित अंश प्रस्तुत छ :

माओवादी केन्द्रको महाधिवेशन सम्पन्न भएको ८ महिनापछि मात्र बल्ल केन्द्रीय पदाधिकारी चयन भएकाे छ। तपाईंले आकांक्षा गरेको पद पाउनुभएन हाेला नि, सन्तुष्ट हुनुहुन्छ?

मार्क्सवादले हामीलाई के सिकाएको छ भने कुनैपनि कार्यकर्ताको मूल्याङ्कन आफ्नो कार्यक्षमता, कार्यसम्पादन, अनुभव र कार्यकर्तासंगको उसकाे सम्बन्धलाई हेर्ने गरिन्छ। त्यसकारण हामी ८औँ महाधिवेशनपछि पद बाँडफाँटकाे जिम्मेवारी अध्यक्ष कमरेड प्रचण्डलाई दिएका थियौँ। महाधिवेशनलगत्तै वर्षमान पुन चीनमा उपचार गराइरहेकाले तत्काल गर्न सकिएन।

अहिले ८ महिनापछि जिम्मेवारी बाँडफाँट भएको छ। यो निकै स्वागतयोग्य रहेको छ। कहिँकतै विवाद, मतभेद देखिँदैन। जो कसैको महत्वाकांक्षा, आकांक्षा राख्न सक्छ। तर यसले खासै महत्व राख्दैन। महत्वपूर्ण समय मङ्सिर ४ को निर्वाचन नजिकिँदै गर्दा हाम्रो पदाधिकारी टुङ्गिएको छ। पद व्यवस्थामा कुनै विवाद देखिँदैन। हल्ला नराम्रो फैलिएको होला, भ्रममा नपर्दा हुन्छ। कुनै मदभेद, विवाद छैन। म सन्तुष्ट नै छु।

कुनै प्रतिस्पर्धा विना अध्यक्षकाे प्रस्तावबाट पद बाँडफाँट भयो। यो कत्तिको उचित हो? यो विषयलाई तपाईंले कसरी लिनुभएको छ?

गत स्थानीय तहको निर्वाचनमा कैयौँ ठाउँमा निर्वाचन विना उम्मेदवार निर्वाचित भएका छन्। त्यसलाई गैरप्रजातान्त्रिक, गैरलोकतान्त्रिक भन्ने त? कैयाैँ ठाउँमा यस्तो देखिएको छ। यो स्वभाविक नै हो। त्यसैले पार्टीभित्र बहस, प्रस्तावहरू राख्न बैठकमा सहभागीलाई जिम्मा दिइयो। कुनै छलफल विना, बहस विना अध्यक्षले पदाधिकारी चयन गर्नुभएन होला तर माओवादीभित्र आन्तरिक जनवाद अत्यन्तै बलियो रहेको छ। यो कल्पनासमेत गर्न सकिँदैन।

पूर्ण जनवादलाई प्रयोग गरेर अत्यन्तै स्वादपूर्ण वातावरणमा बैठकमा उपस्थित सबैबीचकाे छलफलपछि एउटा निचोड निस्कियो र त्यही कुरा अध्यक्षले प्रस्तुत गर्नुभयो अनि निर्णय पारित भयो। त्यसैले अध्यक्षले व्यक्तिगत रूपमा मनोगत रूपले पद भागवण्डा त गर्नु भएको हैन। त्यसैले आम मानिस स्पष्ट हुन जरूरी छ। जे भएको छ, उचित भएको मैले महसुस गरेको छु।

तपाईंहरुको वाम लोकतान्त्रिक गठबन्धन छ, माओवादीहरु कांग्रेसको पुच्छर भएर हिँड्याे भन्ने एमालेको आरोप छ नि? के यस्तो होर पाचॅदलीय गठबन्धन प्रति तपाईको धारणा के हो ?

सबैभन्दा पहिले त कुनै पनि पार्टीको पुच्छर भयो भन्नु गलत हो। पाँचदलीय गठबन्धन किन भयो भन्ने कुरा आम जनसमुदायले बुझ्न जरूरी छ। वाम लोकतान्त्रिक गठबन्धन हुनुको कारण तत्कालीक नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदमका विरूद्ध हो।२०७२ को संविधानको रक्षा, गणतन्त्र, संघीयता, समावेशीता, समानुपातिक, समावेशीकरण र धर्मनिरपेक्षलगायतका विषयमा खतरा देखियो, त्यसैले यो गठबन्धन जन्मिएको हो।

देशमा व्यवस्थाको सुरक्षा, २०६२ र ०६३ को उपलब्धिहरूको रक्षा गर्नका हामी एक जुट भएका हौँ। सरल रूपमा कसैको पुच्छर माओवादी भएको हैन। माओवादी कसैको आड लिएर चल्न जरूरी छैन। नेपाली कांग्रेससंग गठबन्धन प्रतिगमन रोक्न भएको हो। यो गठबन्धन पनि कमरेड प्रचण्डको पहलमा बनेको हो। अब यो गठबन्धन आगामी निर्वाचनसम्म बचाएर लैजाने प्रयाससमेत भइरहेको छ। अहिलेको गठबन्धन रणनीतिक होइन, कार्यनीति मोर्चाको रुपमा लिन सम्पूर्ण आम जनसमुदायलाई अनुरोध गर्छु।

डा. बाबुराम भट्टराई र वामदेव गौतम माओवादीकै चुनाव चिन्हबाट निर्वाचन लड्ने सहमति यसअघि नै भइसकेकाे छ। माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पनि सोही चिह्नबाट चुनाव लड्ने सम्भावना कति छ?

अहिलेको सन्दर्भमा बाबुराम भट्टाराई र वामदेव गौतमले लिखित रूपमै माओवादीको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथाैडा प्रयोग गरेर निर्वाचनमा जाने सहमति भैसकेको छ। नेकपा एकीकृत समाजवादीको सन्दर्भमा अहिले पनि गठबन्धन कायम नै रहिरहेको छ। निर्वाचनपछि अब विचार मिल्ने राजनैतिक दलहरू पार्टी एकीकरण गरेर जान्छौँ। सच्चा वामपन्थी कम्युनिष्टहरूलाई धुर्वीकरण गर्दै जाने अभियानम हामी लागिरहेका छौँ।

छुट्टिएर, छरिएर रहेका कम्युनिष्टहरूलाई मिलाएर नेपालको कम्युनिष्ट आन्दोलनलाई नेपालमा मात्र होइन, विश्वभर साम्राज्यवादका विरूद्धमा लड्न सक्ने शक्तिको रूपमा नेकपाको स्थापना गर्ने समेत सोचिरहेका छौँ। माओवादी केन्द्रको आठौँ महाधिवेशनले यो निति कायम गरेको छ। अब विश्वभरका समाजवादीहरूलाई एकै ठाउँमा लिएर यसको नेतृत्व नेपालको कम्युनिष्ट पार्टीले लिनुपर्छ।

आम निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धन बनाए जाने निश्चित भएपनि भागबण्डा टुङ्गो लाग्न सकेको छैन। तपाईंले टिकट पाउने सम्भावना कतिको छ?

पार्टीको निर्णय नै मेरो अन्तिम निर्णय हो। संगठनमा जोडिसकेपछि संगठनले जुन प्रकारको नीति-निर्णय बनाउँछ, त्यसलाई कडाइका साथ पालना गर्नु इमानदार कार्यकर्ताको कर्तव्य तथा जिम्मावारी हो। यदि मलाई पार्टीले उम्मेदवार बनाए निर्वाचन लड्ने हो, उम्मेदवार नबनाए पार्टीको निर्णयविरूद्ध म जान हुँदैन। त्यसकारण हामीले विवाद, लुछाचुँडी गरेर टिकटका लागि गुट-उपगुट बनाउने, बागी उम्मेदवार निर्माण गर्दैनौँ। यदि पार्टीले टिकट दियो भने कन्चनपुरको क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ वा ‘ख’ बाट मेरो उम्मेदवारी हुन सक्छ।

सम्भावनाकै कुरा गर्दा कम्युनिष्ट पार्टी त एमाले पनि हो, एमालेसँग पनि एकता हुन्छ कि हुँदैन त?

केपी ओलीको नेतृत्व रहँदासम्म एमालेसंग पार्टी एकता सम्भव छैन। हामीले एमालेलाई सच्चिएर आउनलाई बारम्बार अनुरोध गरिरहेका छौँ। तर केपी ओलीको नेतृत्व नहँदा फेरि एमालेसंग हाम्रो एकता चाहिँ हुन सक्छ। एमाले भित्रपनि कैयौँ क्रान्तिकारी कम्युनिष्ट कार्यकर्ता असंख्य रूपमा देखिनुहुन्छ, तर नेतृत्व गलत मान्छेको हातमा रहेको छ। कार्यकर्ता गतल छैनन्।

निर्वाचनपछि वामपन्थीभित्रको पहिलो शक्ति माओवादी केन्द्र बन्ला त?

यसमा जनतालाई धेरै भ्रममा परिरहनुपर्छ जस्तो लाग्दैन। अहिले पनि हामीले सरकारको नेतृत्व मात्र नगरेको हो। देशको राजनीति नै माओवादीले लिडर सिप गरिरहेको छ। आज माओवादीको मुद्दा र नीतिले राष्ट्र सञ्चालन भइरहेको देखिन्छ। जनताको संरक्षणको लागि हाम्रो पार्टी सरकारमा जानुपर्छ। किनभने देशको समग्र राजनीति माओवादीको एजेण्डाले चलेको छ, तर देश भने माओवादीको नेतृत्वमा छैन। त्यसैले पुँजीवादी, सामन्तवादी, मार्क्सवादीहरूले स्वीकार्य गर्ने विषय भनेको जसकाे नीतिमा देश चलिरहेको छ, सरकार उसकाे हुनुपर्छ भन्ने हाम्रो मान्यता हो।

यदि सरकारमा गएमात्र माओवादीको नीति कडाइ रूपमा पालना गर्न सक्छौँ। आज वैज्ञानिक समाजवादसम्मको देशको नेतृत्व र समाजवाद उन्मुख समाज निर्माण आधारसमेत हाम्रो पार्टी रहेको छ। जसकाे नीति उसकाे नेतृत्व आजको आवश्यकता हो। आज कागजमा लेख्ने, मुखले बोल्ने मात्र भएको सत्य हो, यसलाई व्यवहारमा लागु गर्नसमेत माओवादी नेतृत्वमा आउन जरूरी छ। त्यसैले अब देशको विकल्प भनेको माओवादी हो।

कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत प्रत्यक्षतर्फ १६५ मध्ये १०० सिट दाबी गरिरहँदा तपाईंहरुले कति सिट पाउने सम्भावना छ?

यो विषयमा छलफल चलिरहेको छ। सिट बाँडफाँट न्यायाेचित तरिकाले हुन्छ। कसले दावी गर्यो त्यो फरक पाटो हो। नेपाली कांग्रेसले दावी गर्दैमा १०० सिट पाउने भन्ने हुँदैन। कसले लिने, कसले दिने भगवण्डा मिलाएर लिने र छोड्ने कुरा हो। अहिके नै माओवादीले यति नै पाउनुपर्छ भन्ने हाम्रो पार्टीले दावी गरेकाे छैन। तर सरकारमा जानलाई बहुमत चाहिन्छ, त्यसैगरी नै सिट माग्छौँ।

७० वर्ष कटिसक्दा पनि अझै राजनीतिका नाममा पद ओगटेर बस्ने नेताबाट के अपेक्षा गर्नु भनेर उठ्ने गरेका प्रश्नलाई तपाईंले कसरी लिनुभएको छ?

हाम्रो पार्टीमा पनि ४० वर्षमुनिका युवाहरुलाई २० प्रतिशत केन्द्रीय सदस्य बनाएको बनेका छन्। यसको अर्थ युवाहरुलाई राजनीतिमा ल्याउनुपर्छ भन्नु हो। अर्को कुरा ७० काटेकाहरूले नेतृत्व गर्न सक्दैन भन्ने बाहिरी रूपमा जुन गलत प्रचार छ, यो गलत हो। दलको नेतृत्व गर्ने, विचार दिने युवाहरू आयो र उसको विचार महाधिवेशनबाट पारित भयो भने नेतृत्वमा जान्छ। त्यसैले युवा राजनीतिमा आउनुपर्छ। आजको युग‌को आवश्यकता पनि हो। संविधानअनु‌सार ४० वर्षमुनिका मान्छेहरुलाई युवा भन्छौँ। तर राजनीतिमा उस‌को विचार छैन भने त्यो युवा हो वा होइन अर्थ राख्दैन।

हिजो गिरीजाप्रसाद ८० वर्षसम्म राजनीतिमा सक्रिय हुनुभयो। नेकपा  मसालका महामन्त्री मोहन विक्रम सिंह ८८ वर्ष उम्मेरको हुनुभयो, उहाँहरु राज‌नीतिमा  क्रियाशील नै हुनुहुन्छ। अन्य दलको नेतृत्वमा पनि ८० कटेको देखिन्छ। तर उहाँहरू कुनै युवाभन्दा कम देखिनु हुन्न। हाम्रो पार्टीको अध्यक्ष पचण्ड, दिनानाथ शर्मा उहाँहरू पनि उमेरले माथि नै हुनुहुन्छ।

माओवादीकै कुरा गर्दा अध्यक्ष प्रचण्ड जति काम गर्ने कुनै एक युवा देखाइदिनुस् न, उमेरले मात्र युवा भएर हुँदैन। देशकाे नेतृत्व २५ वर्षको कुलतमा लागेको युवालाई दिए के हुन्छ? कल्पनासम्म गर्न सकिँदैन। त्यसैले विचारले राजनीतिलाई लिडर गर्ने हो, उमेरले होइन।

प्रकाशित मिति: : 2022-08-31 06:10:00

प्रतिकृया दिनुहोस्