विकट गाउँमा आशाको किरण छरिरहेको 'प्रकाश'

BreaknLinks
BreaknLinks

पश्चिम नेपालको कथा वस्तु समेटेर बनेको चलचित्र प्रकाश अहिले देशभर प्रदर्शनका क्रममा छ। खासै नेपाली चलचित्र हेर्न हलमा नपुग्ने म प्रकाशले भने मेरो मन हलसम्म तान्यो। सायद आफ्नै गाउँ ठाउँमा छायांकन गरिएको भएर पनि होला।

जुम्ला जिल्लाको पातारासी गाउँपालिकाको तिर्खु गाउँमा छायाङ्कन गरिएको फिल्ममा जुम्ली खस भाषा, संस्कृति, रहनसहन, रितिरिवाज फिल्मले दुरुस्तै उतारेको छ। फिल्मले जुम्ली भेषभुषा, भाषा, परिवेशले जुम्ला र जुम्ली पहिचान बोकेको छ।

फिल्ममा नायक प्रदीप खड्का र नायिका दिया मास्केले प्रकाशकी आमाको रुपमा जुम्ली महिलाको भूमिकामा मुख्य अभिनय गरेकी छन् भने अन्ने स्थानीय कलाकारहरुको अभिनय पनि रहेको छ।

विपन्न परिवारका युवा प्रकाशले सरकारी स्कुलको जागिर खानका लागि गरेको संघर्ष र उनले शिक्षक बन्न देखेको सपना पूरा गर्न भोगेका विभिन्न घटना क्रमलाई चलचित्रमा प्रस्तुत गरिएको छ।

प्रकाश फिल्मको सुरुवातमा दिया मास्के र प्रदिप खड्का अभिनित पात्र घरभित्र हुँदा पर्याप्त उज्यालो हुन्छ। रोगी आमाले छोरालाई अरुको घर खेतमा काम गरेर पढाइरहेकी हुन्छिन्। बेपत्ता बुबाको सम्झनामा रहेको प्रकाश आफू शिक्षक बन्न संघर्षरत रहन्छ। फिल्मभर विभिन्न घटना क्रमले प्रकाशभित्रको नैराश्यतालाई थप विकास गराउँछ।

दृश्यहरुमा जब प्रदिप र दिया अभिनित पात्र घरभित्र रहन्छन्, फिल्मको सुरुवातमा पर्याप्त उज्यालो रहेको कोठामा मधुर मधुर हुँदै धुमिल अँध्यारोले छोप्दै जान्छ। अन्त्यतिर आमा र छोरा आमुन्ने सामुन्नेको खाटमा सुतेका हुन्छन्। प्रदिप अभिनित प्रकाशको टाउको पट्टिको भागमा टुकी बलिरहेको हुन्छ। टुकीको प्रकाश दिया र प्रदिप दुवैको एकअर्कातर्फ फर्किएको अनुहारको भागमा मात्रै पर्छ।

पछिल्लो भागमा अँध्यारो हुन्छ। आमा छोराको र छोरा आमाको आशाको पात्र भएको देखाउँछ यो दृश्यमा प्रयोग भएको उज्यालोको संकेतले। फिल्ममा कोठाभित्रबाट विस्तारै प्रकाश हराउनु र धुमिल अँध्यारोको साम्राज्य सिर्जना हुनुले फिल्ममा देखाउन खोजिएको नैराश्यता र आशाबिहिनतालाई प्रतिनिधित्व गर्छ।

फिल्मले  गाउँतिर एउटा स्कूलको शिक्षक बन्न पनि कति गाह्रो र कस्ट भोग्नुपर्छ भन्ने कुरा उठाएको छ। गाउँ घरमा गाउँमा विकास गरेर भन्दा नी गाउँलेलाई चामल बाढेर राजनीति गर्ने र गर्न खोज्ने जस्ता दृश्य देखाइएको छ।

गाउँ घरमा अध्यनरत विद्यार्थीको शिक्षा कसरी खुसकिदो र कमजोर हुँदो रैछ भन्ने कुराले मनमा चिसो पस्छ। सरकारले विकासको लागि दिएको रकम गाउँका टाउके र राजनीति गर्ने ठालु भनाउदाले कसरी हिना मिना गर्ने रहेछन् भन्ने कुरा प्रष्ट छ। 

बत्तीको उज्यालोको पर्खाइमा बसेको विकट गाउँमा झरो र टुकीको सहायताले आँखा पोल्दा पोल्दै गरेको दुःखले समाज परिवर्तन र विकास गर्छु भन्ने एउटा युवकलाई कसरी समाजमा भएका शोषक वर्गका मान्छेले  दुःख दिन्छन् भन्ने  कुरा देखाइएको छ।

गाउँमा भएका अनपढ ठालु, ठूला खुटिएका टाउकेहरुले गरिबीमा परेकाहरुलाई के कसरी लुट्छन्, आफूहरुले जे जस्तो भन्यो तै हुनुपर्ने, आफूलाई मात्र मान्नु पर्ने गरीबलाई झन् गरीब बनाउन खोज्ने जस्ता दृश्य देख्दा आफ्नै गाउँ ठाउँमा पुगेको र यस्तै खालको घटना आफ्नो गाउँमा पनि रहेको भन्ने आवास हुन्छ।

आदर्शको कुरा जीवनमा मेल खाँदैन, रङ्ग बदल्ने महल भित्र जाँदा रहेछन् अनि रगतका खोला बगाउनेहरु यस्तो दुर्गम अनि अविकसित गाउँमा दुःख गरी बस्नुपर्छ भन्ने संवादले मनमै छुन्छ।फिल्मको संवादसंगै पछाडि बज्ने गीत र धुन भने एकदम उत्कृष्ट छ सुनिरहु लाग्ने।

आफूले पालेका पशुहरूसँग कति भावनात्मक रूपमा नजिक हुन्छन् गाउँका मान्छेहरू भन्ने पनि देखाइएको छ। गाउँघरमा शोषक र सामन्तीहरुको शासन चलने जस्ता दृश्यले फिल्मलाई झनै मजबुत बनाएको छ।

आकाशमा कहिलेकाँही देखिने चिलगाडी (प्लेन) देखिएपछि मात्र परदेशको खबर आउने अनि रेडियोमा समाचार सुन्न खोज्दा कुनै पनि रेडियोको टावर नटिप्नु भन्ने दृश्यले विकट जुम्लाको गाउँ कति सञ्चार माध्यमबाट पछी परेको छ भन्ने प्रष्टै बुझ्न सकिन्छ।

फिल्म हेर्दै गर्दा फिल्ममा देखाएका दृश्य र मैले मेरो गाउँ र समाजमा देखेका दृश्यहरूमा केही भिन्नता देखिनँ। मैले मेरो गाउँमा जे जस्तो दृश्य आँखा अगाडि देखेको थिएँ त्यही कुरा टपक्क टिपेर फिल्ममा राखिएको जस्तो लाग्यो।फिल्म एकदम यथार्थ परक बनेको छ। बिना कुनै कलरिङ। फिल्मको दृश्य र  कलाकारको अभिनयले दर्शकको मन लोभ्याउन सफल भएको छ।

प्रकाश फिल्ममा जुम्लालाई अझै चिनाउन र देखाउन सकिने विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरू थिए। ती ठाउँहरूलाई समेट्न सकेको भए अझै  फिल्म सुनमा सुगन्ध थपेझैँ हुने थियो।

‘प्रकाश’ त्यो ‘अँध्यारो’को कथा हो, जुन गरिबी र अभावको कालोलाई छिचोलेर मसिनो ज्योतिको किरण खोज्ने प्रयास हो। रातमा जुनको मलिनो ज्योति खोज्दा खोज्दै औँशीको रात भइदिन्छ हो त्यही हो प्रकाश।

जुम्लाको कथा बेथा बोकेको चलचित्र प्रकाश यो चलचित्र होइन एउटा वास्तविकता हो। जुम्लालाइई संसारभरी चिनाउन जुम्लाको रहन सहन पहिचानलाई अब्बल बनाउने यो चलचित्रले केही परिवर्तन खोजेको छ केही सन्देश दिएको छ एक पटक सबैले हेर्नै पर्ने चलचित्र बनेको छ।

हाम्रा समाजमा धुपी र दूबो कहिल्यै ओइलाएनन् तर जुम्ली र समस्त कर्णालीका सपना, जीवन र कल्पना भने ओइलाउँदै गए, पहिले पनि र अहिले पनि। कर्णालीका राजनीतिज्ञहरूले आफूले नुन र चामलको राजनीतिभन्दा कहिल्यै माथि उठाएनन्। भोकालाई सधैँ माछाका टुक्रा मात्र दिएर लोभ्याइरहे तर माछा मार्न सिकाएनन्। हो यस्तै कुरा प्रकाशले आम दर्शक लाई देखाउन खोजेको छ।

प्रकाश हेरिसके पश्चात चलचित्रले उठाएको विषय वस्तु र पात्रप्रति सोच्न बाध्य भएर आएँ। जुम्ला मा बस्ने सामान्य पात्र को गहन कथा बोकेको छ प्रकाशले।  ठाउँ, परिवेश, अवस्था अनि पिडित भईने तरिका फरक हुन सक्छ तर प्रकाश पात्रले हजारौँ आम सर्वसाधारण प्रकाशहरुको प्रतिनिधित्व गर्दछ।

चलचित्रले भावुक र स्तब्ध बनायो। सायद सोच्न बाध्य बनाउनु नै यो फिल्मको सफलता हो। केही यस्ता फिल्म हुन्छन्, जसले मुटुमा लामो समयसम्म गाँठो पारिरहन्छन्। ‘प्रकाश’ त्यस्तै गाँठो हो। शानदार उपन्यास पढे जस्तो, शानदार गीत सुने जस्तो, शानदार कविता पढे जस्तो ।

प्रकाशित मिति: : 2022-08-30 17:50:00

प्रतिकृया दिनुहोस्