बालविवाह रोक्न चुनौती : उमेर नपुग्दै कानुनले मान्दैन, रोके परिवारले मान्दैनन्

BreaknLinks
BreaknLinks

घोराही उपमहानगरपालिका वडा नम्बर ८ मा एक जोडीको विवाह हुँदै थियो। तर उनीहरुको उमेर २० वर्ष पुगेको थिएन। केटाको उमेर २० वर्ष पुगेको भए पनि केटीको भने १८ वर्ष नै भएको थिएन।

गाउँका अगुवाहरुले उमेर नपुग्दै बालविवाह हुन थालेको खबर पाएपछि त्यस विवाह रोक्ने प्रयास गरे। उनीहरुले केटा र केटीलाई पनि भेटे। केटा र केटीको प्रेम विवाह अर्थात भागी विवाह हुन लागेको थियो।

गाउँका अगुवाहरुले बालविवाह गर्न मिल्दैन भन्दै उनीहरुलाई सम्झाए। केटी घरबाट भागिसकेकाले अब विवाह रोक्न नहुने दाबी गरिरहेकी थिइन्। जसोतसो अगुवाहरुले सम्झाएपछि भने उनीहरु विवाह नगर्न तयार भए।

अगुवाहरुले केटीकी आमालाई बालविवाह गर्न नपाइने र अहिले छोरी लग्न आग्रह गरे। तर केटीकी आमाले एक पटक गइसकेको छोरीलाई आफूहरुले स्विकार्न नसक्ने अडान लिइन्। ‘अब जे हुनु भइसक्यो। एक पटक गइसकेकी छोरीलाई फर्काउन मिल्दैन’, केटीकी आमाले भनेकी थिइन्।

एक पटक गइसकेको छोरीलाई घरमा फर्कायाे भने छोरीको विवाह फेरि नहुने भन्दै आमाले फर्काउन नमानेको वडा नम्बर ८ का स्थानीय सुमानबहादुर खड्काले बताए।

‘बालविवाह गर्न नपाइने भन्दै केटीकी आमालाई छोरी लग्न भनियो, तर उनले त मेरी छोरीलाई म फिर्ता लैजाँदिनँ भनिन्’, खड्काले सुनाए, ‘गैसकेकी छोरीलाई घरमा ल्याएँ भने भोलि त्यो छोरी अर्काले लैजाँदैन भन्दै मानिन्।’

घोराही उपमहानगरपालिका देशकै पहिलो बालमैत्री उपमहानगरपालिका हो। गएको चैतमा घोराहीलाई बालमैत्री नगर घोषणा गरिएको थियो। बालमैत्री घोषणा गरिएको भए पनि अझै बालविवाह हुने समस्या रहेको घोराही-२ की निर्मली चौधरीले बताइन्। ‘अहिले पनि बालविवाह हुने गरेको छ। बालविवाह गर्न हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि लभ गरेर विवाह गरिहाल्छन्’, उनले भनिन्।

घोराही बालमैत्री नगर घोषणा भए पनि बालविवाह रोक्न सरकारले ध्यान दिन नसकेको उनको भनाइ छ। बालविवाह रोक्न सकिएको छैन। ‘भित्रभित्रै बालविवाह भएकै छ,’ उनले भनिन्, ‘बालविवाह गर्नु हुँदैन भन्ने हो भने हामीलाई मान्दैनन्। उल्टो हप्काउँछन्।’

घोराही–२ कै सरद डिसीले अहिलेका बालबालिका बालविवाह गर्न उद्धत रहेको बताए। उनले भने, ‘पहिले अभिभावकले बालविवाह गरिदिन्थे। अहिले रोक्न खोज्दा पनि बालबालिका बालविवाह गर्न उद्धत छन्।’

आत्महत्या गर्ने धम्की दिन्छन्, कसरी बालविवाह रोक्ने?

घोराही–२ का डिसीले बालविवाह रोक्न खोजेमा आत्महत्या गर्नेसम्मको धम्की दिने गरेको बताए। ‘बालविवाह गर्नुहुँँदैन भनेर सम्झाएर रोक्न खोजियो भने हामी त मरिदिन्छौँ भनेर हामीलाई नै धम्की दिन्छन्,’ उनले भने, ‘अनि कसरी रोक्न सकिन्छ बालविवाह?’

घोराही–८ का सुमानबहादुर खड्का पनि बालविवाह रोक्न खोजेमा आत्महत्या गरिदिनेसम्मको बालबालिकाले धम्की दिने गरेको बताए। ‘उमेर पुगेपछि विवाह गरौँला भनेर रोक्न खोजियो भने त लड्न, मर्नसमेत तयार हुन्छन्,’ उनले भने, ‘अनि हामीले के गर्न सकिन्छ। कसैलाई त जति सम्झाए पनि हुँदैन।’

‘उमेर नपुग्दै विवाह गर्नु अपराध हो’

कानुन व्यवसायी फकला थारुले उमेर नपुग्दै विवाह गर्नु कानुनी अपराध रहेको बताए। यदि केटाको उमेर पुगेको र केटीको उमेर नपुगेरै विवाह गर्न लागेमा केटालाई कानुनी डण्डा चलाउनु पर्ने उनको भनाइ छ।

‘१८ वर्ष नपुग्दै केटीको सहमतिमा यौन सम्पर्क गर्नुलाई कानुनले अपराध मान्छ। २० वर्ष नपुग्दै विवाह गर्नु पनि त्यही हो’, उनले भने। अहिले बालबालिका कुलतमा फस्दै गएको र त्यसले बालविवाह चुनौतीपूर्ण बन्दै गएको कानुन व्यवसायी थारुले बताए।

अदालतमा दैनिकजसो बालबालिका लागुऔषधसहित पक्राउ परेको मुद्धाहरु आउने गरेको भन्दै उनले यसलाई रोक्न सरकारले गम्भीर भएर सोच्नु पर्ने बताए।

राज्य भौतिक विकासमा बढी केन्द्रीत भएको भन्दै थारुले समाजिक विकासमा ध्यान कम दिइएकाले यस्ता अपराधका घटना भइरहेको उनको जिकिर छ।

थारुले अपराधका घटना न्युनिकरण गर्न जनचेतना जगाउनु नै मुख्य काम रहेको बताए। घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीले आफूले बालविवाह रोक्नका लागि धेरै कार्यक्रम गरेको बताए।

‘बालमैत्री नगरमा बालविवाह नै हुँदैन भन्ने होइन। समाज विकासका क्रममा यस्ता घटना भइरहन्छन्,’ उनले भने, ‘तर यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेमा हामी लागिपरेका छौँ।’ स्कुलदेखि टोलटोलमा बालविवाह रोक्न कार्यक्रम गरिएको नगरप्रमुख चौधरीको भनाइ छ।

प्रकाशित मिति: : 2022-09-24 21:00:00

प्रतिकृया दिनुहोस्