आइतबार, ०३ अगस्ट २०२५

दाङ क्षेत्र नम्बर–२ (क) : चुनावी प्रचारमा एमाले, टिकट कुर्दै कांग्रेस–माओवादी

News Image
• • •

मंसिर ४ को आम निर्वाचनको मिति नजिकिँदै गर्दा दाङमा चुनावी चहलपहल सुरु भइसकेको छ। ३ वटा प्रतिनिधि र ६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा ठूला पार्टीहरुले चुनावी प्रचारप्रसारलाई अगाडि बढाउँदै लगेको देखिन्छ।

नेताहरु चुनाव विशेष कार्यक्रमहरुमा सहभागी भएका छन् भने प्रचारप्रसचारसँगै प्रशिक्षण कार्यक्रमहरु दिनदिनै हुने गरेको छ। विशेष गरेर दाङको अन्य निर्वाचन क्षेत्रमा भन्दा क्षेत्र नम्बर २ (क)मा चुनावी प्रचारप्रसार तीव्र देखिन्छ। यहाँ नेकपा एमालेबाट प्रदेशसभामा एकल उम्मेदवारमा सिफारिस परेपछि बलिभद्र रानाले चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन्।

उनी गाउँ केन्द्रीत कार्यक्रम गरेर पार्टी प्रशिक्षणसँगै पार्टी प्रवेश कार्यक्रम गरिरहेका छन्। राना अहिले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने बंगलाचुली गाउँपालिकामा दैनिकजसो कार्यक्रममा सक्रिय देखिन्छन्। उनकै सक्रियतामा पछिल्लो समय बंगलाचुलीबाट १ हजार बढी नेता तथा कार्यकर्ताहरु एमाले प्रवेश गरेको एमाले दाङले बताएको छ।

राना उम्मेदवारमा सिफारिस भएसँगै उनीले बंगलाचुलीका सबै वडाहरुमा निर्वाचन परिचालन कमिटी गठन, निर्वाचनलाई लक्षित गरेर वडा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिसकेका छन्। उनी यसरी निर्वाचन लक्षित कार्यक्रम गरिरहँदा अन्य पार्टीको भने चुनाव लक्षित कार्यक्रम देखिँदैन।

गठबन्धन भएमा क्षेत्र नम्बर २ (क) कुन पार्टीको भागमा पर्ने हो अहिलेसम्म निश्चित हुन सकेको छैन। प्रतिनिधिसभातर्फ भने क्षेत्र नम्बर १ नेकपा एकीकृत समाजवादी, २ मा ओवादी केन्द्र र ३ मा काँग्रेसको भागमा पर्ने लगभग निश्चित जस्तै भइसकेको भए पनि प्रदेशसभातर्फ भने अन्याेलता रहेको छ।

यहि अन्योल हुनुको कारण पनि गठबन्धन दलहरुको चुनाव लक्षित कार्यक्रम हुन नसकेको नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ का पूर्व सभापति भुपबहादुर डाँगी बताउँछन्। उनी भन्छन्, ‘प्रतिनिधिसभातर्फको त लगभग टुंगिसकेको छ। तर प्रदेशसभाको कसलाई कुन क्षेत्र पर्ने भन्नेसमेत टुंगो लाग्न नसक्दा चुनाव लक्षित कार्यक्रम हुन नसकेको हो।’ उनले कसले चुनाव टिकट पाउने भन्नेमै अहिले पार्टीहरु मिलाउनमा लागेको बताए।

‘संघतर्फ सिफारिस भएकाहरु त्यहाँ टिकट नपाउने भएपछि प्रदेशमा आउन खोजेका छन्,’ उनले भने, ‘तर प्रदेशतर्फ सिफारिस भएका साथीहरुले प्रदेशमा आउन नहुने भन्ने छ। यही मिलाउँदा पनि अहिले चुनावी कार्यक्रम हुन सकेको छैन।’ डाँगीले टिकट पाउने भइसकेपछि त्यहीअनुसार चुनावी कार्यक्रम हुने बताए।

मंगलबार, आश्विन ११, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)