रवि लामिछानेलाई सघाउन चितवन पुगेको खबरपछि बालेन प्रहरी निगरानीमा

BreaknLinks
BreaknLinks

सधैं कार्यालयमा कार्य तालिका बनाएर अनुगमन र अन्य प्रशासकीय काम गर्नेमा पर्छन्, काठमाडाैँ महानगरका मेयर बालेन शाह। मेयर शाहको निर्देशनअनुसार प्राथमिकताको आधारमा 'भोलि के गर्ने' भन्ने सबै उनको सचिवालयले निर्धारण गर्छ। भोलिपल्ट उनले सोही कार्य तालिकाअनुसार कार्य सम्पादन गर्छन्।

तर मेयर शाह शुक्रबारदेखि कार्यालयमा नदेखिएको महानगरमा कार्यरत कर्मचारीले बताएका छन्। कर्मचारीले उनको सचिवालयलाई सोधीखोजी गर्दा उनी दुई–तीन दिनका लागि काठमाडाैँ बाहिर गएको र निर्वाचनपछि मात्रै महानगरमा फर्किने जानकारी पाएको ती कर्मचारीले बताएका छन्।

मेयर शाह काठमाडाैँबाट सीधै चितवनतर्फ लागेको हुन सक्ने ती कर्मचारीले आशंका गरेका छन्। उनी सात महिनाअघि भएको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर मेयर पदमा निर्वाचित भएका थिए। शाह राष्टिय स्वतन्त्र पार्टी गठन गरेर चितवनबाट चुनावी प्रतिस्पर्धा गरिरहेका रवि लामिछानेको पक्षमा चुनावी माहोल बनाउन त्यहाँ पुगेको बताइन्छ।

निर्वाचन आयोगले दलहरूलाई कुनै चुनावी गतिविधि गर्न निषेध गरेलगत्तै मेयर शाह चितवन पुगेका हुन्। शाह सार्वजानिक पदमा रहेका कारण उनी चुनावी अभियानमा सहभागी हुन पाउँदैनन्। चितवनबाट सत्ता गठबन्धन र नेकपा (एमाले) का उम्मेदवारले रविको चुनावी प्रचारप्रसार र आमसभापछि दबाब महसुस गरेका छन्।

रविको पक्षमा माहोल बनिरहेको अवस्थामा बालेन शाहको भौतिक उपस्थितिले मात्र पनि निर्वाचनमा असर पार्ने आँकलनसहित मुख्य राजनीतिक दलहरूले चासो राखेको प्रहरी स्राेतले उल्लेख गरेको छ। दलहरूको आग्रहमा प्रहरीले सोधीखोजी गर्दा मेयर शाह चितवनतर्फ लागेको जानकारी दलहरूलाई दिएको छ।

मेयर शाहका सहयोगी सुनिल लम्सालले पनि उनी चितवन पुगेको पुष्टि गरेका छन्। ‘हामीहरू हिजो (शुक्रबार) दिउँसो चिवतन आएका थियौँ, आज काठमाडौँ फर्कियौँ,’ लम्सालले बिएल नेपाली सेवासँग भने।

निर्वाचनले आयोगको ‘मौन अवधिको समयमा मेयर एकाएक किन चितवन गए?’ भन्ने प्रश्नमा उनी थप बोल्न चाहेनन्। स्रोतका अनुसार मेयर शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन-२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेसँग गोप्य रूपमा भेटवार्ता गरेका छन्।

उनी रविलाई भेटेलगत्तै त्यहाँबाट काठमाडाैँ फर्किएका थिए। ‘मेयर साप शुक्रबार दिउँसोतिर नारायणगढ आउनुभएको थियो। उहाँ र रवि दाइबीच दुई घण्टा कुराकानी भएको थियो। त्यसपछि अर्को भेटघाटका लागि निस्किनुभएको चाहिँ मलाई जानकारी छ,’ राष्ट्रिय स्वतन्त्र पार्टीका एक केन्द्रीय सदस्यले भने।

मेयर शाह चितवन गएको सुइँको पाएपछि सत्ता गठबन्धनभित्र काठमाडौँमा हलचल मच्चिएको छ। गठबन्धनका शीर्ष नेताहरूले उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्न पुगेको भन्दै प्रहरीले सोधखोज गरिरहेको छ।

स्वतन्त्र उम्मेदवारी दिएर काठमाडाैँ महानगरकाे मेयर भएका शाहले यसअघि स्वतन्त्र उम्मेदवारहरूको तर्फबाट दलको नेतृत्व गर्न गरिएको प्रस्ताव अस्वीकार गरेका थिए। त्यसका बाबजुद उनी भोलि हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई जिताउन अप्रत्यक्ष रूपमा सहयोग गरिरहेको स्वतन्त्र उम्मेदवारहरूले बताउँदै आएका छन्।

प्रकाशित मिति: : 2022-11-19 21:40:00

प्रतिकृया दिनुहोस्