‘थापाथलीमा एमालेका हुकुम्बासीहरू छैनन्, त्यहाँ सुकुम्बासीहरू नै बस्छन्’

File Photo
File Photo

एमालेनिकट भूमिहीन सुकुम्बासी संगठनकी अध्यक्ष शान्ता चौधरीले आन्दोलनमा उत्रिएका सुकुम्बासीलाई भेटेर आफ्नो समर्थन जनाएकी छन्।

चौधरी शुक्रबार एकाबिहानै थापाथलीस्थित सुकुम्बासी बस्ती पुगेपछि सामाजिक सञ्जालमा उनकाे चर्को आलोचना भइरहेको छ। उनी एमाले अध्यक्ष ‘केपी शर्मा ओलीको दूत बनेर’ सुकुम्बासी बस्ती पुगेको भन्दै अनेकौँ आरोप खेपिरहेकी छन्।

‘म एमालेको भूमिहीन सुकुम्बासी संगठनको अध्यक्ष हुँ। आफ्नो वर्गमा पुग्नका लागि कुनै उदेश्य चाहिँदैन,’ बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले भनिन्, ‘म आफ्नो वर्गका मान्छे भेट्न थापाथलीस्थित सुकुम्बासी बस्ती पुगेकी थिएँ।’

सुकुम्बासीको समस्या समाधानका लागि एमालले आयोग गठन गरेर लालपुर्जा बाँड्न खोज्दा सत्ता गठबन्धनको सरकारले काम गर्न नदिएको नेत्री चौधरीको आरोप छ।

उनले अब बन्ने नयाँ सरकार र काठमाडौं महानगरपालिकाले छानविन गरेर सुकुम्बासीलाई व्यवस्थापन गर्नुपर्ने बताइन्। ‘हाम्रो पार्टीले सुकुम्बासीको समस्या समाधानका लागि आयोग गठन गरेर केही हदसम्म काम थालनी गरिसकेको थियो। लालपुर्जा बाँड्ने समयमा पुग्नै लाग्दा सत्ता गठबन्धनको सरकारले हाम्रो आयोग विघटन गरिदियो,’ उनले भनिन्, ‘वर्तमान सरकारले हामीलाई काम गर्न दिएन। नयाँ सरकार र महानगरले हाम्रा माग सुनुवाइ गर्नुपर्छ। त्यतिकै डोजर लिएर दमन गर्नु राम्रो होइन।’

राम्रोसँग बास नपाउँदा देशभरका सुकुम्बासीहरूले कैयौँ समस्या भोग्न बाध्य भएको उनले बताइन्। ‘अहिले पनि सुकुम्बासीहरू बासका लागि छट्पटाइरहेका छन्। विकल्पबिना गरीबलाई लखेट्न खोज्नु ठुलो अपराध हो,’ उनले भनिन्, ‘विचरा थापाथलीका सुकुम्बासीलाई विकल्पबिना हटाइनु हुँदैन।’

यता नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सुकुम्बासी बस्तीमाथि डोजर चलाउनु उचित नरहेको बताएका थिए।

सामाजिक सञ्जालमा अध्यक्ष ओली र मेयर शाहबीच जुहारी चलिरहेका बेला नेत्री चौधरीको सुकुम्बासी बस्ती भ्रमणलाई एमालेको नयाँ रणनीतिका रुपमा हेरिएको छ। तर उनले अध्यक्ष ओलीको निर्देशन नलिएरै आफू सुकुम्बासी बस्ती पुगेको बताइन्।

‘मेरो समुदायको मान्छेमाझ पुग्नका लागि मलाई कसैको निर्देशन चाहिँदैन,’ उनले भनिन्, ‘त्यहाँ एमालेका हुकुम्बासीहरू बसेका छन् भन्ने नराम्रो प्रचार गरिएको छ। कसैलाई त्यत्तिकै आरोप लगाउनु हुँदैन। आरोप लगाउनेहरू प्रमाणसहित मलाई भेट्न आउनु होला, नत्र चरित्र हत्या गर्नु राम्रो होइन।’

प्रकाशित मिति: : 2022-12-02 17:35:00

प्रतिकृया दिनुहोस्