लुम्बिनी प्रदेश: सबै मन्त्रालय दाङ सारेर शपथग्रहणकाे तयारी

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीमा मन्त्रालयहरु स्थानान्तरणका लागि तयारी तीब्र पारिएको छ। ०७७ साल असोज २० गते प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरी तोकिएको भएपनि दुई वर्ष बितिसक्दासमेत मन्त्रालयहरु स्थानान्तरण हुन सकेको थिएन।

देउखुरीमा प्रदेशसभाको भवन, मन्त्रालयहरु बस्ने भवनको अभाव देखाउँदै प्रदेश सरकारकारले मन्त्रालयहरु स्थानान्तरण गर्न दुई वर्षसम्म ढिलाइ गर्दै आएको थियो। प्रदेशसभाको नयाँ भवन बनेसँगै स्थायी राजधानी बुटवलबाट मन्त्रालहरु देउखुरीमा सार्न तयारी तीब्र पारिएको छ।

हाल भवनहरु रंगरोगन गर्न थालिएको छ। मन्त्रालयहरु बसाल्नका लागि देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालयलाई गढवामा स्थानान्तरण गरिएको छ र शिक्षालयको भवनलाई रंगरोगन गर्न थालिएको छ।

मंसिर महिनाभित्र प्रदेश सरकारको मुख्यमन्त्री, मन्त्रीपरिषद्का कार्यालयहरु बुटवलबाट देउखुरीमा स्थानान्तरण गरी सक्ने र नवनिर्वाचित सांसदहरुलाई दाङको प्रदेश सभा भवनमा सथप ग्रहणसमेत गराउने गरी प्रदेश सरकारले तयारी थालेको हो।

प्रदेश पूर्वाधार प्राधिकरणका कार्यकारी निर्देशक छाविराज पोख्रेलले अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्रीको निवास, प्रमुख सचिवको निवास तयार पार्ने काम अन्तिम चरणमा पुगेको बताए। त्यसपछि क्रमश: अन्य मन्त्रालयहरु पनि स्थान्तरण गरिने उनले जानकारी दिए।

‘शिक्षालयका पुराना भवन मर्मत गरेर मन्त्रालय र अन्य कार्यालयहरूको लागि पूर्वाधार तयार पार्ने काम भइरहेको छ,’ कार्यकारी निर्देशक पोख्रेलले भने,‘केही दिनभित्र सबै कार्यालयहरू तयार भइसक्नेछ।’ उनले शिक्षालयका पुराना भवनमा रंगरोगन, भवनभित्र र बाहिरको सरसफाइ, सभाहल निर्माण लगायतको आन्तिरक कामहरु भइरहेको जानकारी दिए।

करिब १८ विघा क्षेत्रफलमा रहेको राप्ती प्राविधिक शिक्षालयको परिसरमा ४० बढी साना/ठूला भवनहरु छन्। यही परिसरभित्र प्रदेश सरकारले राजधानीको प्रशासनिक केन्द्र निर्माण गरेको छ। पूर्वाधार विकास प्राधिकरणका अनुसार प्रशासनिक परिसरभित्र प्रदेश सभा भवन, प्रदेश सभा सचिवालय र प्रदेश सरकारका मन्त्रालयहरु रहने छन्।

मुख्यमन्त्री र मन्त्रीपरिषद्का कार्यालयसहित ८ वटा मन्त्रालय यहाँ राखिनेछ। अन्य भने मन्त्रालय भने परिषर बाहिर राखिने छ। त्यस्तै संसदीय दलको कार्यालय पनि राखिने प्रदेश पूर्वाधार प्राधिकरणले जनाएको छ।

यसअघि दाङमा पर्यटन ग्रामीण तथा सहरी विकास र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय स्थानान्तराण गरिएको थियो।

यस्तै लुम्बिनी प्रदेशको अगामी प्रदेश सभा पनि दाङमै सञ्चालन गरिने तयारी प्रदेश सरकारको छ। प्रदेश सरकारले पाँच करोडमा लागतमा निर्माण गरेको प्रदेश सभा भवन अन्तिम चरणमा छ। अहिले प्रदेशसभा भवनको आन्तरिक व्यवस्थापनको काम भइरहेको प्राधिकरणका कार्याकारी निर्देशक पोख्रेलले बताए। त्यस्तै प्रदेश सभाको सचिवलयको भवन पनि निर्माणधिन अवस्थामा छ।

लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले राजधानी स्थानान्तरणको तयारी तीब्र रहेको बताए। ‘प्रदेश सभाको दुई तिहाई बहुमतले निर्णय गरेको कुरा कार्यान्वयन गर्ने जिम्मा प्रदेश सरकारको हो,’ मन्त्री खड्काले भने, ‘प्रदेश सभाले गरेको निर्णयलाई पूर्णता दिन प्रदेश राजधानी दाङ सार्ने काम अघि बढेको छ।’

मन्त्री खड्काले प्रदेश सरकारको आगामी प्रदेश सभाको बैठक पनि दाङमै सञ्चालन हुने बताए। ‘प्रदेश सभाका सञ्चालनका लागि भवनहरु तयार भएका छन्,’ उनले भने,‘अबको प्रदेश सभा स्थायी राजधानीमै बस्नेछ।’

मन्त्री खड्काले नवनिर्वाचित प्रदेश सभा सदस्य, मुख्यमन्त्री र मन्त्रीहरुको शपथग्रहण पनि प्रदेश राजधानी दाङमै गर्ने तयारी गरिएको बताए।

लुम्बिनीकाे राजधानी बुटवलमा सार्ने सपना कसैले नदेख्दा हुन्छ : मेटमणि चाैधरी

प्रकाशित मिति: : 2022-12-04 18:15:00

प्रतिकृया दिनुहोस्