राजधानी स्थानान्तरण : स्वागतका लागि तातियो दाङ

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यकामा मन्त्रालयहरु स्थानान्तरण हुन सुरु गरेसँगै दाङमा उत्साह छाएको छ।

सोमबार अस्थायी राजधानी बुटवलबाट मुख्यमन्त्री कार्यालय र सचिवालयका सामाग्रीहरु दाङ सारिएसँगै जिल्लामा उत्साह छाएको हो।

राजधानी कार्यन्वयनका लागि मुख्यमन्त्रीले थालेको पहल कदमीको प्रशंसा गर्दै बधाईसमेत दिन थालिएको छ भने राजधानी क्षेत्रमा रहेका पालिकाहरुले राजधानी कार्यन्वयनका लागि सचिवालय गठन गरेर काम सुरु गरेका छन्।

राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको संयोजकत्वमा गढवा, राजपुर गाउँपालिका, लमही नगरपालिका र अर्घाखाँचीको शीतगङ्गा नगरपालिका पदाधिकारी, राजधानी क्षेत्रका नागरिक समाज, उद्योग वाणिज्य संघ, होटल व्यवसायी समिति, यातायात प्रालि, सञ्चारकर्मीलगायतको प्रत्यक्ष सहभागिता रहने गरी राजधानी व्यवस्थापनका लागि संयुक्त पहल थालिएको छ।

मूल समितिका साथै स्वागत सत्कार, सरसफाई तथा सौन्दर्यकरण, घरभाडा समन्वय र आर्थिक तथा आपूर्ति व्यवस्थापन उपसमिति गठन गरेर अभियानात्मकरुपमा राजधानी व्यवस्थापनको काम थालिएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले बताए।

तोकियो घरभाडा

राप्ती गाउँपालिकाले भाडामा दिने कोठाको मूल्य तोकेको छ। कार्यपालिका बैठक मार्फत कोठा भाडा निर्धारण गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले जानकारी दिए। राजधानी क्षेत्रमा आउने प्रदेशसभा सदस्य तथा कर्मचारीहरुलाई कोठा भाडामा दिनु परेमा सहुलियत मूल्यमा कोठा भाडामा दिनेगरी निर्णय गरिएको उनले बताए।

अटेच सहितको राम्रो कोठा भाडामा कर बाहेक मासिक ३ हजार, मध्यमलाई २ हजार ८ सय र सामान्य कोठालाई २ हजार २ सय मासिक कोठा भाडा तोकिएको छ। ताकिएको भन्दा बढी कोठा भाडामा नलगाउन अनुरोध पनि गरिएको छ।

राजधानी क्षेत्रमा सरसफाई

राजधानी कार्यान्वयनसँगै राजधानी क्षेत्रको सडक सौन्दर्यता बढाउन पनि राप्ती गाउँपालिकाले अपिल गरेको छ। सरसफाई तथा सौन्दर्यकरण अभियानसमेत चलाइएको छ। प्रमुख राजमार्ग, सहायक राजमार्गहरुको दायाँबायाँ दुबै तर्फ सरसफाइ तथा सौन्दर्यकरण गर्न सबै राजनीतिक दल, भातृ संगठन, सामाजिक संघसंस्था तथा आम राजधानीबासीलाई अपिल गरिएको छ।

‘राजधानीमा आउने पाहुनाको स्वागत सत्कारका लागि मित्रवत व्यवहार अपरिहार्य छ,’ गाउँपालिका अध्यक्ष बिष्टले भने, ‘उद्योगी, व्यवसायी, होटल व्यवसायीलगायत आमसर्वसाधारण यस महान अभियानमा सहभागी हुन हार्दिक अपिल गर्दछौं।’ 

राजधानी क्षेत्रमा मंगलबारदेखि सरसफाई अभियान सुरुसमेत भइसकेको छ। मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा मुख्यमन्त्री कुलप्रसाद केसीले घाँस काटेर सरसफाइ अभियानको शुरुवात गरेका थिए।

राजधानी कार्यन्वयन गर्न सहयोग गर्ने गठबन्धन दलहरुको प्रतिबद्धता

मंगलबार मुख्यमन्त्री कार्यालय र सचिवालय स्थायी राजधानी देउखुरीमा स्थापना गरिएसँगै गठबन्धन दलहरुले स्वागत गरेका छन्। बुधबार बिहान सत्तारुढ गठबन्धन दलहरुले प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशका सबै नागरिकलाई पायक पर्ने ठाउँबाट प्रदेश सकारकारले कामहरु सुरु हुन थालेकोमा आफूहरु थप उत्साहित भएको जनाएका छन्।

नेपाली काँग्रेसका जिल्ला सभापति शंकर डाँगी, माओवादी केन्द्रका संयोजक तुल्सीराम पुन (सुवास), नेकपा एकिकृत समाजवादीका अध्यक्ष शुरामणि वेल्वासे र राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्यले विज्ञप्ति जारी गरेर राजधानी कार्यन्वयनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरुले जनसमुदायलाई पनि सहयोग गर्न अपिल गरेका छन्।

प्रकाशित मिति: : 2022-12-07 13:00:00

प्रतिकृया दिनुहोस्