को हुन् महानगरको ट्रकमाथि ह्वीलचेयरमा बसिरहेका अशक्त व्यक्ति?

अधिकारकर्मी भन्छन्, 'बालेन्द्र साहले हदभन्दा माथि नाघ्दै छन्'

सुहन श्रेष्ठ

काठमाडाैँ
गोरखापत्र दैनिक

सामाजिक सञ्जालमा बुधबार बिहानदेखि एउटा तस्विर भाइरल छ। सरकारी मुखपत्र गोरखापत्र दैनिकमा प्रकाशित तस्विरमा काठमाडौँ महानगर प्रहरीको ट्रकमाथि एक वृद्ध, अन्दाजी ६०–७० वर्ष, 'ह्वीलचेयर'मा बसिरहेका छन्। पत्रिकाको पहिलो पृष्ठमा छापिएको त्याे तस्विरमुनि लेखिएकाे छ– 'काठमाडौँको मखन तरणीबहाल अगाडि ह्विलचेयरमा बसेर मास्क बेच्दै गरेका शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिलाई मंगलबार पक्रेर गाडीमा राख्दै काठमाडौँ महानगरका प्रहरी। काठमाडौँ महानगरपालिकाले सडकमा यसरी बेचबिखन गर्न रोक लगाएको छ।'

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह काठमाडाैँ महानगरकाे मेयर पदमा निर्वाचित भएदेखि सडक छेउछाउमा नाङ्लाे पसल थापेर जीविका निर्वाह गरिरहेकालाई विस्थापति गर्न खाेज्दै छन्। सडक छेउमा खुद्रा व्यापार गर्दैआएकालाई लखेट्छन्। काठमाडाैँ शहरमा चलिरहेकाे 'बालेन्द्रकाे डाेजर आतंक' लाई सामान्य ठानेपनि बुधबार छापिएकाे अशक्त वृद्धलाई ह्वीलचेयरसँगै उठाएर गाडीमा कुदाइरहेको दृश्यले धेरैलाई उद्धेलित बनाएको छ। 

मेयर बालेन्द्रको यस रवैयाले हजारौं खुद्रा व्यापारी मर्कामा छन्। विकल्प केहि नभएपछि कतिले काठमाडाैँ छोडिसकेका छन्। व्यापारी र उनीहरूको सामान महानगरको ट्रकमा लैजाने अभियानमा प्रहरी प्रमुख राजुनाथ पाण्डेले नेतृत्व गरिरहेका छन्।

अशक्त व्यक्तिमाथिकाे अत्याचारबारे सामाजिक सञ्जालमा मेयर बालेन्द्रको आलोचना भएपछि बिएल नेपाली सेवाले ती व्यक्तिकाे बारेमा थप सोधीखोजी गरेको छ। महानगर प्रहरीले उनीसम्म पुग्ने सम्पर्क नदिएपनि केही तथ्य हामीले फेला पारेका छाैै। 

महानगरका एक कर्मचारीका अनुसार ६०–७० वर्षीय वृद्धा दिल्लीबहादुर कार्कीलाई महानगरले जम्मा ५५ वर्ष भएको बताएकाे छ। स्थायी ठेगाना दोलखा भएका उनी अहिले काठमाडौँस्थित पुरानो बसपार्ककाे सडक छेउमा ह्वीलचेयरमा बसेर व्यवसाय गर्दैआएका थिए।

अपाङ्गताका कारण ह्वीलचेयरमा बसेर उनी त्यही क्षेत्रमा खुद्रा सामाग्री बेचेर दैनिक गुजारा टार्ने गरेका छन्। मंगलबार पाण्डेले देखेपछि प्रहरीको टोली पठाएका थिए। प्रहरीको टोलीले मखन तरणीबहाल अगाडीबाट उनलाइ पक्राउ गरेकाे थियो। 
त्यहाँबाट सिधै टेकुमा रहेको महानगर प्रहरी कार्यालयमा पुर्याइएको थियो। 

आलोचना पछि महानगरले मेयर बालेनकाे बचाउ गर्न ती वृद्धलाई सहज होस् भनेर मानव सेवा केन्द्रमा पठाएकाे बताएको छ। 

भान्जा पुजन खड्का र बहिनीले मंगलबार नै उनलाई घर फिर्ता लिएर गए। महानगरले सेवा सम्मानका साथ मानव सेवा केन्द्रमा व्यवस्थापन गर्दिन्छु भन्दा उनी र उनको परिवारले महानगरको प्रस्ताव अस्विकार गरेको प्रमुख नगर प्रहरी निरीक्षक राजनकुमार कार्कीले बताए। 

तर उनलाई नियन्त्रणमा लिएको महानगर प्रहरी कार्यालय टेकुले उनलाई मानव सेवा समाजमा नभइ फेरि सडक छेउमा व्यापार नगर्ने चेतावनी दिएर घर पठाइदिएको बताएको छ। 

महानगर प्रहरी निरीक्षक कार्कीका अनुसार डिल्लीलाई मानव सेवा केन्द्रमा लग्ने उद्धेश्यले मखन तरणीबहालबाट गिरफ्तार गरिएको हो।

कार्की भन्छन्, 'हामीले उहाँलाई आधा घण्टा पनि होल्डमा राखेनौं। दिउँसो तीन बजेतिर उहाँको आफन्त आउनुभयो, अनि हामीले उहाँलाई पठाइदियौँ। सेवा सम्मानका साथ मानव सेवा केन्द्रमा राख्छौं भन्दा उहाँ र उहाँको परिवारले मान्नु भएन त्यसैले हामीले पठाइदियौँ।'

मखन तरणीबहालका एक नगर इन्स्पेक्टरले राजुनाथ पाण्डेको बचाउ गर्दै भने, 'मागेर बस्दै गर्दा राजु सरले देख्नु भएपछि हामीलाई गिरफ्तार गर्ने आदेश दिनुभएको हो। हामीले 'ह्वीलचेयर' सहित उहाँलाई उठाएर टेकुमा लगेर बुझाएका हौँ। सपाङ्गले बिहान ल्याएर अपाङ्गलाई एक ठाउँ राख्दिने, अनि बेलुका 'मनि कलेक्सन' भएपछि फिर्ता लाने गरेका थिए। त्यसो हुँदा हामीले नियन्त्रण गरेका हाैं।'

बुधबार उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि अपाङ्गता भएका व्यक्तिको पक्षमा वकालत गर्दै आएका अधिकारकर्मीले ‘बालेनको अत्याचारले सीमा नाघेको' टिप्पणी गरेका छन्। बालेनले अपाङ्गता भएका व्यक्तिको अधिकार हनन् गरेकाले उनलाई मानवता विरोधी अभियोगमा हेगमा पुर्याउने चेतावानी दिएका छन्। 

अभियान्ता गजेन्द्र बुढाथोकीले भने, 'बालेन्द्र साह हद भन्दा माथि नाघ्दै छन्। कुन कानुनले त्यसरी गिरफ्तार गर्ने अधिकार दियो? त्यस्तो कानुन नै छैन। अपाङ्गता भएका मान्छेको बोल्दिने मान्छे कोहि छैन भनेर जे मनलाग्यो तेही गर्दैछ। यदि म सडकमा बसेर मागिरहेको छु भने पनि मलाई त्यसरी गिरफ्तार गरेर लग्न पाउँदैन, अलि पर सर्दिनु भनेर अनुरोध गर्न पाउँछ तर महानगरले मानव सेवा केन्द्रमा लगेर फालेँ भन्न पाउँदैन।'

'अपाङ्गताको आधारमा विवेध गर्यो, राज्यले त्यसरी विवेध गर्न मिल्छ ? सीपीआरडीका अनुसार अन्य व्यक्ति सरह समान आधारमा राजनीतिक, आर्थिक सामाजिक संस्कृतिक र एक नागरिकको अन्य क्षेत्रमा हुने अधिकार र आधारभूत स्वतन्त्रताको प्रयोग गर्न नदिने गरि कुनै पनि प्रतिबन्ध सिर्जना गर्न पाउँदैन।'

युएन (संयुक्त राष्ट्रसंघ) अन्तर्गत सीपीआरडी (अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि), २०७२ संविधान र अपाङ्ग अधिकार ऐन २०७४ अनुसार कुनै पनि अपाङ्गता भएको र नभएको व्यक्तिको उत्ति नै मानव अधिकार छ।

बालेन्द्र साह अपाङ्गप्रति विवेधकारी भएकोसमेत दावी गजेन्द्रले गरेका छन्। 'बालेन्द्र साहले अपाङ्गप्रति विवेध गरिरहेका छन्। उनलाई यस्तो गर्ने अधिकार छैन। उनलाई म हेगमा उभ्याउन पनि सक्छु,' उनले भने।

प्रकाशित मिति: : 2023-02-01 20:33:00

प्रतिकृया दिनुहोस्