पठान: सामान्य कथा, दर्शनीय सिनेमा

भारत र पाकिस्तानबीचको शत्रुताको विषयमा यश राज फिल्म्सको जासुसी कथामा आधारित सिनेमा ‘पठान’ गत हप्ता रिलिज भयाे। पटक–पटक दोहाेरिएको विषय भए पनि सुपरस्टारहरुको जमघट भएका कारण यो सिनेमाले सफलताको सबै रेकर्ड कायम गरेको छ। सिनेमाको भाषामा भन्दा ‘ब्लक बस्टर’ भइसकेको छ।

सिनेमाको कथाअनुसार भारतले जम्मु र कश्मिरलाई स्वायत्तता प्रदान गर्ने अनुच्छेद ३७० रद्द गरेपछि पाकिस्तानले भारतसँग बदला लिन भारतकै जासुसी संस्था रिसर्च एण्ड एनलाइसिस विङ्ग (रअ)को पूर्व जासुस जिम (जोन अब्राहम)को नेतृत्वमा भारतमा आतङ्क फैलाउन ‘आउटफिट एक्स’ नामको एक समूहसँग सहयोग लिन्छ। धेरै पहिले जिमको गर्भवती श्रीमतीलाई भुलवस उनकै अगाडि भारतको सेनाले क्रूरतापूर्वक मारेको हुन्छ र त्यसको बदला लिन जिमले पाकिस्तानसँग मिलेर आफ्नै देशमा आतङ्क फैलाउने कार्य गर्दछ। यस्तो विकट स्थितिसँग लड्न इन्डियन इन्टेलिजेन्स फोर्सकी प्रमुख नन्दिनी (डिम्पल कपाडिया) र फोर्सको कर्नेल लुथरा (आशुतोष राणा)ले आफ्नो सबैभन्दा योग्य एजेण्ट पठान (साहरुख खान)लाई नियुक्त गर्छन, जसको भेट पाकिस्तानी जासुसी संस्था आइ.एस.आइ.की एजेण्ट रुविना मोहसिन (दीपिका पादुकोण)सँग हुन्छ। पठान र रुविनाको प्रेम हुन्छ ? रुविनाले पठानलाई सहयोग गर्छिन वा धोका दिन्छिन ? जिम र पठान आफ्नो आफ्नो उद्देश्यमा सफल हुन्छन ? यसको जवाफ पाउन भने सिनेमा नै हेर्नुपर्छ।

कलाकारहरुको अभिनयको बारेमा भन्ने हो भने सबै कलाकारहरु सुपरस्टार छन् र यिनीहरुको अनुहार नै बिक्ने हुँदा अभिनयको बारेमा कुनै टिप्पणी गर्न सकिन्न। सिनेमामा केही समयको लागि सलमान खानलाई पनि देखाइएको छ। डिम्पल कपाडिया र आशुतोष राणाको अभिनय उत्कृष्ट छ र अन्य सह-कलाकारहरुको अभिनय सामान्य छ। दिपिका पादुकोणेले आफ्नो आकर्षक शरीरको खुलेर प्रदर्दश गरेकी छिन र दर्शकहरुलाई रोमाञ्चकता दिएकी छिन। साहरुख खान र जोन अब्राहमको एक्सन दृश अत्यन्तै डरलाग्दो छ। कथा कुनै खास नभए पनि आफ्नै कथा र अब्बास टायरवाला (संवाद) र सिदार्थ राघबन (पटकथा)को सहयोगमा निर्देशक सिदार्थ आनन्दले सिनेमाको गतिलाई निरन्तरता दिएर दर्शकहरुलाई बाँधेर राख्न सफल छन। यसको श्रेय सम्पादक आरिफ सेखलाई जान्छ। दुबई, पेरिस, अफगानिस्तान र अफ्रिकाको सुन्दर दृशलाई आफ्नो क्यामरामा कैद गर्न सिनेम्याटाेग्राफर सत्चिथ पाउलोसे सफल छन्। एक्सन दृश्यमा मोटरसाइकल दौड, हेलीक्राफ्टर र समुन्द्रभित्रको फाइट र पहाडमा उडेको ट्रेनको दृश्यलाई भि.एफ.एक्सको सहायतामा मेरिलो डिसिल्भाले राेमाञ्चक बनाएका छन्। ‘बेसरम रङ्ग’ र ‘झुमे जो पठान’ बोलका गीतहरु सिनेमा रिलिज हुनुभन्दा पहिले नै हिट भइसकेका छन।

मनोरञ्जनको लागि यो सिनेमा हेर्दा टिकटको पैसा खेर गएको जस्तो लाग्दैन तर भारत-पाकिस्तानको कश्मिर समस्याको बारेमा जानकारी नभएका दर्शकहरु अलमलिने समस्या हुन जान्छ। यदी तपाईं एक्सन सिनेमाको पारखी हुनुहुन्छ भने यो सिनेमा अवश्य हेर्नुहोला।

भिडियाे:

प्रकाशित मिति: : 2023-02-10 21:30:00

प्रतिकृया दिनुहोस्