विवेकशील साझाको आत्मालाेचना: हामीले आफ्नो धरातल बिर्सिएर मात्तियाैँ

विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन काठमाडौँमा जारी छ। ११ साउन ०७४ मा तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भएर विवेकशील साझा पार्टी बनेको ६ वर्षपछि प्रथम महाधिवेशन हुन लागेको हो।

शुक्रबार र शनिबार दुई दिन चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। तत्कालीन पार्टीका नेतृत्व रवीन्द्र मिश्रले विवेकशील छाड्दै राप्रपामा प्रवेश गरेपछि पार्टी नेतृत्वविहीन भएको थियो।

यो ६ वर्षकोबीचमा पार्टीले आफ्नो धरातल बिर्सिएको निष्कर्ष निकालेको छ। शुक्रबार महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले आफूहरुले आफ्नो धरातल बिर्सिएका कारण आज पार्टी निकै कमजोर बनेको बताइन।

२०७४ सालको निर्वाचनमा २ लाख १२ हजार मत लिएको भन्दै बास्कोटाले ०७९ सालको निर्वाचनमा पार्टीको मत घटेको बताइन। ‘हामीले ०७४ सालमा २ लाख १२ हजार मत अहिले घटायौँ। उक्त मतलाई सम्हाल्न नसकेकै हो,’ उनले भनिन्,‘त्यस समयको मतका कारण हामी मात्तिएको हो। आफ्नो धरातल बिर्सिएको हो।’

उनले अहिले धराताल देखेको र अब नबिर्सिने बताइन। मञ्चमा बोल्दा मन ढुकढुकी भएको छ भन्दै मन्तव्य सुरु गरेकी बास्कोटाले आफ्नो यो महाधिवेशनबाट आफूहरु नयाँ सोचका साथ उठ्ने भनाइ राखिन। ‘आज पहिलो पटक मञ्चमा बोल्दा मन ढुकढुकी भएको छ। म भावुक बन्छु कि भन्ने लागेको छ। किनभने, महाधिवेशन हामीले विवेकशील साझाको राजनीतिक यात्रा सुरु गरेको ६ वर्षदेखि चार पटक सारेको महाधिवेशन हो। आज बल्ल सम्भव हुँदैछ। त्यसैले पनि म भावुक बन्छुकी भनेको हो,’ उनले भनिन्, ‘यो महाधिवेशन हामी नयाँ सोचका साथ उठेका छौँ।’

अध्यक्ष बास्कोटाले मात्र होइन, पार्टीका अर्का नेता प्रकाशचन्द्र परियारले विवेकशील साझा पार्टीलाई टुटफुट हुने रोग लागेको बताए। उक्त रोगले युवाको सपनालाई हत्या गरेको उनको भनाइ छ। ‘हामीलाई कम्युनिस्ट जस्तै टुटफुट हुने रोग लागेको छ,’ परियारले भने, ‘जसका कारण हाम्रा नेताहरु युवा शक्तिको सपनालाई हत्या गरेर अरुले बनाएको परम्परागत पार्टीमा विलय हुनपुगे।’

उनले अब आउने ०८४ सालमा हुने निर्वाचनलाई क्रान्तिको युगको रुपमा बदल्न सक्नुपर्ने बताए। उनले भने,‘०८४ को निर्वाचन क्रान्तिको युग हो। अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लिएको २० सिट मात्र होइन। ५० सिट ल्याउने गरी काम हुनेछ। ८४ पछि धेरै राजनीतिक मत खेर फाल्नुपर्ने छैन।’

यस्तै अर्का नेता मिलन पाण्डेले एक जना व्यक्ति मात्र नभएर पार्टीलाई सफल बनाउन लाग्नुपर्ने समय आएको बताए। आफ्नो पार्टी वैकल्पिक शक्तिका रुपमा उदाएको भन्दै उनले आफूहरुले निर्माण गरेको भाष्यबाट अहिले बालेन शाह, हर्क साम्पाङ, रवि लामिछानेलगायत उदाएको बताए।

‘समस्या देखाउने मात्र होइन, समाधान पनि दिन्छौँ’

विवेकशील साझा पार्टीकी अध्यक्ष बास्कोटाले अब आफ्नो पार्टीले देशको समस्या मात्र नभएर समाधान पनि देखाउने बताइन। आजको राजनीति समस्या देखाउने मात्र रहेको बताउँदै उनले अब देशमा के मात्र होइन कसरी गर्ने भन्ने पनि आफ्नो पार्टीले देखाउने भनाइ राखिन।

फुटेर होइन, जुटेर बलियो हुन सकिन्छ भन्ने राम्रोसँग बुझेको बास्कोटाले बताइन। ‘अहिले हामीले हाम्रो धरातल देखेका छौँ। फुटेर होइन, अब जुटेर मात्र बलियो हुन सकिन्छ भन्ने बुझेका छौँ,’ उनले भनिन्, ‘विवेकशील साझाले अब समस्या देखाउने मात्र होइन। अब समस्या कसरी समाधान हुन्छ भन्ने गरी राजनीति गर्नुछ।’

बास्कोटाले हिजो ०७४ सालको निर्वाचनको सफलतापछि यस पटकको निर्वाचनमा आफूहरु फेल भएको बताइन। ‘हामी हिजोको सफलताले आज फेल भयौँ। आफ्नो मत बचाउन सकेनौँ,’ उनले भनिन्, ‘फेल हुनु नराम्रो होइन। भोलि सफल हुँदा के-के गर्नु हुँदैन भन्ने पनि सिक्न पायौँ। ०८४ पछि हामीले के-के गर्नु हुँदैन सिकेका छौँ। अब हिजोको गल्ती दाहोर्‍याउँदैनौँ।’

भिडियाे:

प्रकाशित मिति: : 2023-02-10 19:40:00

प्रतिकृया दिनुहोस्