‘नेपालमै फुटबल खेल्न त मन थियो तर टिक्ने वातावरण नै छैन’ (भिडियाेसहित)

देशमा प्रयाप्त लिगहरु नभएकाे, खेल र खेलाडीप्रति राज्य जिम्मेवार नबनेकाे, देशकाे लागि खेल्ने खेलाडीहरुले सम्मानजक जीवन जिउन गाह्राे भएकाे भन्दै पछिल्ला केही वर्षमै दर्जनाैँ खेलाडीले देश छाडेका छन्। देशकाे लागि खेल्ने मन हुँदाहुँदै पनि खेल क्षेत्रमा भविष्य नदेखेर खेलाडीहरु देश छाड्न बाध्य छन्।

तर, परिस्थितिले जहाँ पुगे पनि जन्मभूमि र खेले हुर्किएकाे माटाे भनेकाे विशेष हुने गर्छ। त्यसैले नेपालमा खेल खेल्न कठिन हुने साेचेर सात वर्षअघि अस्ट्रेलिया उडेका फुटबलर जगजीत श्रेष्ठ ए डिभिजन लिग खेल्न नेपाल आएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)काे आयाेजनामा यही फागुन १९ गतेदेखि हुने सहिद स्मारक ए डिभिजन लिग खेल्न उनी नेपाल फर्किएका हुन्।

सानैदेखि फुटबल जगतमा पाइल टेकेका जगजीतले नेपालकाे लागि यु- १३, यु- १४, यु- १५, यु १६ र यु- १९ टाेलीकाे प्रतिनिधित्व गर्दै धेरै खेल खेलेका थिए। उनले राष्ट्रिय टोलीबाट अन्तिम पटक सन २०१५ मा खेलेका थिए। सन २०११ देखि ०१२ सम्म हिमालयन शेर्पा क्लबबाट खेलेका उनले त्यहाँ २५ गाेल गर्न सफल भएका थिए। त्यस्तै सन २०१३ देखि २०१५ सम्म्म थ्री स्टारबाट खेलेका थिए।

जगजीत सन २०१६ मा अस्ट्रेलियान क्लब हुम क्लबमा आबद्ध भएका थिए। त्यसपछि सन २०१७ मा उनले अस्ट्रेलियाकै सनसाइन जर्ज क्रसबाट खेलेका थिए। भने, अस्ट्रेलियान क्लब एडली क्रोसिया राइडरमा आबद्ध छन्।

ए डिभिजन लिग खेल्न नेपाल आएका उनै जगजीत श्रेष्ठसँग बिएल नेपाली सेवाकाे लागि प्रतिस्णा रेग्मीले गरेकाे कुराकानीकाे सम्पादित अंश प्रस्तुत छ:


तपाईं ए डिभिजन लिग खेल्न नेपाल फर्किनु भएको छ, आफ्नाे जन्मभूमिमा पुन: खेल्न पाउँदा कत्तिकाे उत्साहित हुनुहुन्छ ?

लिग खेल्नको लागि एकदमै उत्साहित छु, लिग भइरहे यहीँ हुनेछु। फुटबल खेलकै लागि नेपाल आएको हुँ, एकदम खुसी लागिरहेकाे छ।

फुटबलमा राम्रै गरिरहनुभएको थियो तर तपाईं किन विदेशिनु परेको थियो ?

देश छाेड्नुपर्ने कारण भनेको यहाँ निरन्तर फुटबल नहुनु हो। म सन् २०१५ मा अस्ट्रेलिया गएँ, त्यसबेला घरेलु मैदानमा खेलहरु हुँदैन थियो, दुई/तीन वर्ष खेलहरु भएनन्, त्यसपछि भएको लिगहरुमा भने मेरो सहभागिता थियो। म मात्र होइन, नेपालमा फुटबल खेल्ने वातावरण नै नभएपछि सबै खेलाडीहरु  पनि विदेशिएका छन्।

तपाईंको विदेश बसाइँ चाहिँ कस्तो रह्याे ?

यहाँभन्दा धेरै फरक थियो। एकदम चुनौतीपूर्ण थियो। सुरुमा खेलाडीको रुपमा आफूलाई कसरी डेभलव गर्ने भन्ने कुरामा कन्फ्युज थिएँ तर पछि त्यहाँ पनि आफूलाई फुटबलरकै रुपमा अघि बढाएँ। सुरुका दिनहरु सजिला थिएनन्।

विदेशी मुलुकमा नेपाली खेलाडीहरुको अवस्था कस्तो छ ?

नेपालबाट गएका प्राय: खेलाडीहरुले त्यहाँ रहेको नेपाली कमिटीनिकट क्लबहरुबाट लिगहरु खेल्छन्। त्यसबाहेक अन्यले अरु काम गर्छन तर धेरैले फुटबलाई प्राथमिकता दिइरहेका छैनन्।

नेपाली खलाडीहरुको विदेशमा खेल जीवनको भविष्य कस्तो छ ?

त्यो व्यक्तिमा भर पर्ने कुरा हो। मैले पनि अस्ट्रेलियाको सेकेण्ड डिभिजन लिग खेलेँ। २०२०/०२१ मा त्यो बेला मलाई पनि धेरै गाह्रो भयो। किनभने, काम गर्दै फुटबल खेल्न एकदमै गाह्रो छ। अहिले विदेश गइरहेका खेलाडीहरुलाई पनि तत्कालको अवस्थामा एकदम गाह्रो छ।

नेपालमा ए डिभिजन लिग खेल्नका लागि तपाईंलाई के कुराले तान्यो ?

खासमा मलाई आफ्नाे नेपाली समर्थकहरुको अगाडि खेल्न मन छ। आफ्नाे देशमा फर्केर खेल्न पाउनु नै मेराे लागि ठुलाे कुरा हाे।

यहाँ हाइहाइ भएको मानिसलाई त्यहाँ गुमनाम भएर काम गर्दा कस्तो अनुभव भयो ?

म गुमनाम भइनँ। तर, कतिपय पत्रकारहरले चाहिँ मलाई पलायन भएको भनेर लेख्नु भएको थियो। र, मैले उहाँहरुलाई व्यक्तिगत म्यासेज गरेर पलायन भने शब्द हटाउन लगाएँ। किनभन्दा अहिले पलायन हुने रहर होइन। मैले त्यहाँ खेलेका हरेक खेलहरु सामाजिक सञ्जालमा राख्थेँ। त्यसैले पनि मलाई गुमनाम र पलायन भएको भन्न मिल्दैन।

नेपालमा ए डिभिजन लिग नहुनुको कारण के हो ?

लिग गराउन नचाहेको मानिसहरुले यस्तो गरेको हो। लिग गराउन मन लागेको बेला गराउँछन् नत्र गराउँदैन्। यो ती मानिसहरुको इच्छाको विषय हो।

नेपालमा खेलकुद क्षेत्र राम्रो हुँदै गयो भने, तपाईं नेपालमै बस्नु हुन्छ ?

मैले पहिला पनि भनेको थिएँ, अहिले पनि भन्दैछु, नेपालमा राम्रो रुपमा लिग सञ्चालन भयो भने म यहीँ बस्छु। तर, खेलहरु हुनु पर्‍याे। ७/८ महिना खेल नहुने एक वर्ष खेल नहुने भयो भने यहाँ बस्ने स्थिति हुँदैन। तर, निरन्तर खेल भएमा म नेपालमै बस्छु विदेश जादिनँ। अहिले खेल भएन भने म मात्र होइन धेरै खेलाडी विदेश जान्छन्।

अस्ट्रेलियाबाट हेर्दा नेपाली फुटबल जगत कस्तो देखिन्छ ?

नेपालबाट हेर्दा जस्तो हो अस्ट्रेलियाबाट हेर्दा पनि नेपाली फुटबल जगत उस्तै देखिन्छ। यहाँ एउटा सराेकारवालाले वेवास्ता गरेर हो। उहाँहरुले यस विषयमा गभ्भीर भएर ध्यान दिएमा नेपाली फुटबल पनि राम्रो हुन्छ। खेलाडीहरुकाे जीवन पनि राम्रो हुन्छ।

तपाईंले अस्ट्रेलियामा पनि फुटबल खेल्नुभयो, अस्ट्रेलिया र नेपालको खेल क्षेत्रमा के फरक पाउनुभयो ?

धेरै फरक पाएँ। त्यहाँको खेल क्षेत्रको क्वालिटी धेरे नै माथि छ। त्यहाँ अन द फिल्ड ट्रेनिङ हुन्छ। त्यहाँ फुटबलबारे सबै ज्ञान दिएको हुन्छ तर नेपालमा फुटबलमा चाहिने ज्ञानहरु सिकाउँदैन। यहाँको प्राय: क्लबहरुमा जथाभावी फुटबल छ तर यहाँ नेपालमा फुटबल खेल्नुको मजा छ, यहाँ जतिको दर्शककाे माया कहीँ पाइदैन।

विगत केही वर्षदेखि खेलाडीहरु विदेश पलायन भइरहेका छन्, नेपाली फुटबल र खेलाडीहरु भविष्य कस्तो होला ?

हाम्रो देशमा धेरै काँचो माटोजस्तो खेलाडीहरु छन, त्यसलाई बनाउन लिगहरु हुन आवश्यक छ। लिगले पछि स्तरीय खेलाडीहरु मजाले निस्कछन। अहिलाई हेर्दा खेरी नेपाली फुटबलमा भविष्य खासै ठिक छैन।

नेपालमा दर्जनौँ खेलाडी विदेशिएका छन्, यसले राज्यलाई कतिको असर पार्छ होला ?

सबैभन्दा पहिला सरकार र एन्फाकाे कारण खेलाडीहरुलाई के असर परिरहेको छ ? त्यो बुझ्नुपर्छ। खेलाडीले राष्ट्रको प्रतिनिधित्व गर्छ तर खेलाडीहरुलाई सम्मानित जीवन जिउन गाह्रो छ भने हामी खेलाडीले बाहिर जाँदा अरुलाई पर्छ पर्दैन भन्ने कुरा हाम्राे प्राथमिकतामा रहँदैन।

बाहिरी मुलुकजस्तै नेपाली फुटबल जगतलाई माथि उठाउन के गर्नपर्ला ?

सबैभन्दा ठुलो कुरा अन्य देशहरुले खेलाडीलाई प्राथमिकतामा राख्छन, हाम्राे देशमा खेलाडी स्वयमले सुविधा माग्न पर्छ। विदेशमा खेलाडीहरुलाई फुटबलबारे गुणस्तरीय शिक्षा दिने गरिन्छ। एउटा खेलाडीलाई चाहिने हरेक कुरा पूरा हुन्छ। तर, नेपालमा खेलाडीहरुको रेखदेख गर्ने मान्छे जस्तै: गतिलो प्रशिक्षक छैन, फिजियाेहरु छैनन्, फिजकल फिटनेस ट्रेनरहरु छैनन्, विदेश र नेपालको यही हो फरक भनेको।

नेपाली फुटबलको भविष्य उज्जवल बनाउन के गर्नु पर्ला ?

सबैभन्दा पहिला खेलाडीलाई विशेष प्राथमिकतामा राख्नु पर्‍याे। खेलहरु निरन्तर हुनु पर्‍याे। खेलाडीकाे जीवन सहज हुनु पर्‍याे। सबैभन्दा ठुलो कुरा त लिगहरु निरन्तर हुन पर्‍याे।

भिडियाे:

प्रकाशित मिति: : 2023-02-27 18:27:00

प्रतिकृया दिनुहोस्