शिवशिखर सहकारीमाथि ठगीको आरोप, बचतकर्ता आन्दोलित

बाँकेको कोहलपुर नगरपालिका शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताहरुलाई ठगी गरेको आरोपमा आन्दोलन गरेका छन्।

शिवशिखरको कार्यालयमा बिहानैदेखि आज आन्दोलन गरेका हुन्। बैजनाथ, राप्तीसोनारी, कोहलपुर र अन्य क्षेत्रका करिब १ सय जनाभन्दा बढी बचतकर्ताहरुले आन्दोलन गरेका थिए।

कोहलपुर नगरपालिका-११ का दिपक ढुङ्गानाले आफूले दैनिक गरेको बचतसमेत र्फिता नदिएपछि ठगी गरेको आरोपमा लगाएका छन्। ‘करिब ३ महिनाभन्दा बढी भयो, रकम लिनुपर्ने म्याद सकिएको तर रकम दिएको छैन’, उनले भने, ‘जहिले पनि भोलि-भोलि भन्दै तीन महिना बितिसक्यो। एक रुपैयाँसमेत रकम दिएको छैन, रकमको लागि कहिलेसम्म कुर्नुपर्ने हो? उनले प्रश्न गरे।

'बैजनाथमा रहेको शिवशिखरको मार्टसमेत बन्द भयो भएको खबर पाएका छौं, यहाँ पनि बन्द भएर भागे भने हाम्रो पैसाको सुरक्षा कसले लिने? त्यस कारणले ठगी गरेर फरार हुने नियत देखिएकोले कानुनी उपचार खोज्छाैँ', उनले भने।

यस्तै कोहलपुर नगरपालिका-५ की सिर्जना थारुको बाल बचत हो। उनले आफ्नो छोराको बाल बचत गरेकी थिइन्। उनकाे आफ्नो ५ लाख बढी रकम छ। 'रकम र्फिता लिन आएकी हुँ तर नपाएपछि आन्दोलन गरिरहेकी छु,’ उनले भनिन्, ‘अहिले सबै रकम चाहिएको होइन।’ १० हजारको चेकको मात्र रकम लिन आउँदा र्फिता नदिएपछि आन्दोलनमा होमिएको थारुले बताइन्। उनीहरू त प्रतिनिधिमुलक पात्र मात्र हुन्।

कोहलपुरमा आज करिब १ सय ५० जना व्यक्तिहरुले आफ्नो बचत र्फिता लिन आएका  थिए। उनीहरुले महिनौँदेखि भोलि-भोलि भन्दै ठगेको आरोप लगाएका थिए।

शिवशिवर कोहलपुरले चलअचल सम्पत्तिमा लगाएकै कारणले गर्दा समस्या आएको शिवशिखर सहकारी कोहलपुरका शाखा प्रमुख सुनिता थारुले बताएकी थिइन्। ‘अहिले तत्कालको लागि मात्र रकम नभएको हो,’ उनले भनिन्, ‘केही दिनपछि रकम दिनका लागि भोलि सञ्चालक समितिको बैठक बस्दैछ।’

यस्तै शिवशिखरका सञ्चालक समितिका अध्यक्ष सुशिल बानियाँलाई ठगी गरेको आरोप लगाएपछि सोही विषयमा बुझ्नका लागि सम्पर्क गर्दा फोन बारम्बार काटेपछि सम्पर्क हुन सकेन।

प्रकाशित मिति: : 2023-02-26 15:19:00

प्रतिकृया दिनुहोस्