नेपाल विश्वमा ७८औं, दक्षिण एसियामा नम्बर १ खुशी राष्ट्र !

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी

आज मार्च २०, अन्तर्राष्ट्रिय खुशी दिवश । कतिलाई थाहा छ, कतिलाई थाहा छैन, तैपनि थाहा भएका/नभएका दुबैथरि यो दिवश मनाइरहेका छन् । यही अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि ‘सष्टेनेबल डेभलपमेण्ट सोलुसन्स नेटवर्क’ले ‘वर्ल्ड ह्याप्पिनेस रिपोर्ट- २०२३  सार्वजनिक गरेको छ।

प्रतिवेदनअनुसार नेपाल विश्वकै ७८औं खुशी राष्ट्र भएको छ । पूर्णांक १० मा ५.३६० प्राप्त गरेर नेपालले यो स्थान हासिल गरेको हो । नेपालको यो स्थान दक्षिण एसियामै पहिलो हो । यसको अर्थ दक्षिण एसियामा नेपाली नै सबैभन्दा बढी खुशी छन् । नेपाल र नेपालीको अन्तर्राष्ट्रिय प्रतिष्ठाका लागि यो गौरवकै कुरा हो । 

प्रतिवेदनमा नम्बर १ फिनल्याण्डदेखि १३७औं अफगानिस्तानसम्म एकसय ३७ देश समेटिएका छन् । सम्बन्धित देशको वार्षिक आय, आयु, उदारता, सामाजिक समर्थन, स्वतन्त्रता, र भ्रष्टाचारको स्तरलाई खुशी मापनको आधार बनाइएको छ । 

केही वर्षयता नेपाल खुशीको सिढी चढ्दै गएको देखिन्छ । गत वर्ष ८४औं स्थानमा रहेको नेपाल यस वर्ष ६ स्थान उक्लदै ७८औं स्थानमा आइपुगेको हो । यसअघि २०२१ मा ८७औं स्थानमा रहेको नेपाल २०२० मा ९२औै स्थानमा थियो । 

दक्षिण एसियाका ८ देशमध्ये माल्दिभ्स र भुटानबाहेक ६ देश प्रतिवेदनमा समेटिएका छन् । प्रतिवेदनअनुसार नेपाल दक्षिण एसियामा सबैभन्दा खुशी देश हो । त्यसपछि  क्रमश: पाकिस्तान १०८ औं, बंगलादेश ११८औं, श्रीलंका ११२औं, भारत १२६औं र अफगानिस्तान १३७औं स्थानमा रहेका छन् ।


नेपाल विश्वमा ७८औं खुशी राष्ट्र भएको छ । गत वर्ष ८४औं खुशी राष्ट्र भएको नेपाल यस वर्य ६ स्थान माथि उक्लिएको हो । अझ गजबको कुरा त नेपाल दक्षिण एसियामै नम्बर १  खुशी राष्ट्र भएको छ ।  यो वरियता चानचुने संस्थाले दिएको हैन, संयुक्त राष्ट्र संघले दिएको हो ।  आज मार्च २०, अन्तर्राष्ट्रिय खुशी दिवश  मनाइरहेको बेला  नेपालीका लागि यो खुशीको समाचार सार्वजनिक भएको हो ।   

नेपालको धरातलीय यथार्थलाई हेर्दा यो प्रतिवेदन पनि त्यति विश्वसनीय हो भन्न सकिदैन । देशमा सुशासन, पारदर्शिता, जवाफदेहिता, विधिको शासन हराइरहेको छ, सत्ता नै सबैथोक हो भन्ने मानक बनिरहेको बेला देशको युवा पुस्तामा हतासा, निराशा र कुण्ठा बढ्दो छ । देश छोड्ने नेपालीको संख्यामात्र बढिरहेको छैन, अर्को देशको नागरिकता लिनेको संख्या पनि बढ्दो छ ।

यो नै नेपालको अहिलेको धरातलीय यथार्थ हो । तर, धरातलीय यथार्थ यस्तो हुँदाहुँदै पनि विश्व खुशी इन्डेक्समा भने नेपालको खुशीको वरियता भने बढ्दो छ, नेपालीहरूको खुशी चुलिदै गएको छ ।

अब प्रश्न उठ्छ, के साँच्चै नै नेपाली खुशी भएका हुन् वा अरू देशका मानिस नेपाली जति पनि खुशी हुन नसकेका हुन् ? पहिलो सम्भावना त देखिदैन तर दोस्रो सम्भावनालाई भने इन्कार गर्न सकिदैन । आज संसारका हरेक राष्ट्रमा सुखको खोजीमा भौतारिदा मान्छेले खुशी खोसिदैछ । तथ्याङ्क र प्रतिवेदनले जे देखाए पनि अहिलेको विश्वको वास्तविकता यही हो ।

नेपाल पनि यो मानेमा अछुतो रहन सक्दैन ।

प्रकाशित मिति: : 2023-03-21 06:38:00

प्रतिकृया दिनुहोस्