दुबईमा नेपाली चलचित्र 'ह्यारी कि प्यारी'को विशेष प्रदर्शन हुँदै 

जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह र बिजय बराललगायतका चर्चित कलाकारद्वारा अभिनित चलचित्र 'ह्यारी कि प्यारी' दुबईमा विशेष प्रदर्शन हुने भएको छ।

आगामी मार्च ३१ तारिक (शुक्रबार) बरदुबई स्थित अल घुरैर सेन्टरको स्टार सिनेमामा चलचित्रको विशेष प्रदर्शन हुन लागेकाे हाे।

नेपाली दूतावासका प्रतिनिधि सहित युएईमा क्रियाशील नेपाली संघसंस्था, समाजसेवी तथा नेपाली संचारकर्मीहरु माझ चलचित्रको विशेष प्रदर्शन हुनेभएकाे छ।

चलचित्र प्रदर्शनका लागि निर्माता तथा निर्देशक डा. कपिल रिजाल सोमबारदेखि युएईमा छन् भने कलाकार जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह र बिजय बराल बिहिबार युएई आउने भएका छन्।

गत माघ २० गते नेपालमा रिलिज गरिएको चलचित्र 'ह्यारी कि प्यारी' युएईमा विशेष प्रदर्शन भएसंगै मध्यपुर्वका विभिन्न देशमा प्रदर्सन गरिने चलचित्रका निर्माता तथा निर्देशक डा. कपिल रिजालले बिएल नेपाली सेवालाई जानकारी दिए।

रिजालको आफ्नै ब्यानर 'बिआर प्रडक्सन'द्वारा प्रस्तुत गरिएको चलचित्र 'ह्यारी कि प्यारी' नेपाली भाषा संगै हिन्दि, बंगाली, पञ्जाबी र मराठी भाषामा समेत तयार भएको र आगामी मे अन्तिमदेखि भारतमा प्रदर्शन गरिने निर्माता तथा निर्देशक रिजालले बताए। उनले नेपालमा घरेलुु दर्शकबाट राम्रो साथ र प्रतिक्रिया पाएको उल्लेख गर्दै विदेशमा रहेका नेपालीहरुले समेत चलचित्र मनपराउने कुरामा आफू विश्वस्त रहेकोे बताएका छन्।

नेपाली जनसम्पर्क समिती युएईले चलचित्रको विशेष प्रदर्शन का लागि युएईमा संयोजन गरिरहेको छ। जनसम्पर्क समितिका सभापति भुवानीप्रसाद तिमल्सिनाले युएईमा नेपाली चलचित्रको विशेष प्रदर्शन गर्न पाउनु गौरवको कुरा भएको बताएका छन्। उनले युएईमा रहेका नेपालीहरुलाई हलमा गएर चलचित्र हेर्न आग्रह समेत गरेका छन्।

प्रेम, कमेडी र सामाजिक कथावस्तुमा बनेको यस चलचित्रको कथावस्तु, अभिनय र प्राविधिक पक्षको समिक्षकहरुले प्रसंसा गरेका छन्। मध्यपुर्वको प्रदर्शन सकिनसाथ चलचित्रलाई क्रमशः बेलायत, भारत, दक्षिण कोरिया, जापान र अष्ट्रेलियामा प्रदर्शन गरिने चलचित्रको निर्माण पक्षले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2023-03-28 06:20:00

प्रतिकृया दिनुहोस्