पहिचान पक्षधर र सुरक्षाकर्मीबीचकाे झडपमा २५ भन्दा बढी घाइते, तीन दर्जन अश्रुग्यास प्रहार

विराटनगरमा पहिचान पक्षधर र सुरक्षाकर्मीबीच भएको झडपमा करिब २ दर्जनभन्दा बढी घाइते भएका छन्।

कोशी प्रदेशको नामकरण खारेजीको माग गर्दै आन्दोलन गरिरहेका पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरी र नेपाल प्रहरीका ३/३ जनासहित २५ जनाभन्दा बढी घाइते भएकाे मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए।

उनका अनुसार आन्दोलनकारीका तर्फबाट करिब दर्जन बढी घाइते भएको अनुमान गरिएको छ।

झडपमा रबरको गोली लागेर मोरङका सुरज राई घाइते भएका छन् भने मोरङकाे ग्रामथान-६ का २१ वर्षीय सुरज राईलाई दाहिले खुट्टामा रबरको गोली लागेकाे छ।

यसैगरी सुनसरी, धरान-१२ का किराँत राष्ट्रिय माेर्चाका केन्द्रीय उपाध्यक्ष ४१ वर्षीय अशोक राई घाइते भएका छन्।

सुनसरी धरानकै २२ वर्षीय उदय लिम्बूकाे दाहिने खुट्टामा चोट लागेकाे छ भने इटहरी-५का २६ वर्षीय पदम केरुङकाे देब्रे हातको कुइना खुस्केको छ।

यस्तै सुनसरी, धरान-१६ का ५१ वर्षीय शिव आङदेम्बेकाे टाउकोमा गम्भीर चाेट लागेकाे छ। धरानकै ४८ वर्षीय ज्ञानप्रकाश राकाे,  धरान-५ का ४६ वर्षीय एक के दर्नाल, २५ वर्षीय विशाल राईकाे टाउकोमा चोट लागेकाे छ।

उनीहरूकाे विराटनगरको पारस अस्पतालमा प्राथमिक उपचारपछि धरान घोपा पठाइएको छ।

आन्दोलनकारीले प्रहरीको घेरा तोड्दै प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र तीन दर्जन अश्रुग्यास प्रहार गरेको पोखरेलले बताए।

आन्दोलन शान्त पार्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। केही समयअघि तनावग्रस्त बनेको विराटनगरको रोडशेष चौक क्षेत्र अहिले शान्त भएको प्रहरीले जनाएको छ।

बिग होटलमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन भन्दै पहिचानवादीहरु त्यहाँ पुगेका थिए।

प्रकाशित मिति: : 2023-03-28 16:02:00

प्रतिकृया दिनुहोस्