राष्ट्रिय महिला फुटबल लिग एक वर्षदेखि अन्याैलमा

File Photo
File Photo

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला फुटबल लिगको दोस्रो चरण खेलको टुंगो नलगाउँदा लिग अन्याैलमा परेकाे छ।

पहिलो चरणको खेल सकिएको एक वर्ष बितिसक्दा पनि महिला लिगको दोस्रो चरणको खेलहरु आयोजना हुन सकेका छैनन्।

एन्फाले गत वर्ष चैत्र १० देखि ३० गतेसम्म राष्ट्रिय महिला फुटबल लिगको पहिलो चरणको खेल सम्पन्न गरेकाे थियाे। तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा एन्फाले चितवनको सारदानगरमा महिला लिगको पहिलो चरणको खेल आयोजना गरेकाे थियाे।



एक वर्षमा ४० बढी फुटबरले देश छाडे, एन्फा भन्छ– सरकारकाे खेलाडीलाई हेर्ने नजर राम्राे भएन

१२ वर्षमा पनि बनेन् मुलपानी क्रिकेट रङ्गशाला



तर दोस्रो चरणको खेल हुने/नहुने भन्नेबारे अहिलेसम्म टुंगो लागेको छैन। एन्फाले भने महिला लिगलाई प्राथमिकतामा राखेको एन्फाका सह-महासचिव दामोदर भट्टराई (बद्री) बताउँछन्।

'पछिल्लो वर्षदेखि रोकिएको महिला फुटबल लिग च्याम्पियनको बारेमा एन्फाको हरेक बैठकमा छलफल भइरहेको हुन्छ', सह-महासचिव भट्टराईले बिएल नेपाली सेवासँग भने, 'अहिले हाम्रो मुख्य प्राथमिकता भनेको ओलम्पिक छनोट खेलको हो, यो खेल सकेलगत्तै महिला लिगको आयोजना हुन्छ।'

लिगको पहिलो चरणको खेल सकेलगत्तै १५ दिनपछि दोस्रो चरणको खेलहरु आयोजना गर्ने एन्फाको योजना थियो। तर दोस्रो चरणको खेल सुरु हुनुअगावै गत वैशाखकाे स्थानीय तह निर्वाचनकाे प्रभाव लिगमा पर्याे। चुनावै कारण दोस्रो चरणको खेल रोक्न एन्फालाई राम्रो बहान मिल्याे।

पहिलो चरणको खेल त चितवनमा राम्रै रुपमा सम्पन्न भयो, दोस्रो चरणको खेल एक वर्ष बितिसक्दा पनि अहिलेसम्म आयोजना नहुनुको कारणको के हो भन्ने बिएल नेपाली सेवाको प्रश्नमा प्रवक्ता शाह भन्छन्, 'दोस्रो चरणको खेल आयोजना गर्नुअघि नै स्थानीय चुनाव भयो, जसले गर्दा दोस्रो चरणको खेल रोकियो, त्यसपछि महानगर नगरपालिकामा नयाँ कार्यसिमितको गठन भयो। नयाँ कार्यसमितिहरुले अहिले महिला लिग च्याम्पनसिपप्रति कुनै चासो या प्रतिक्रिया दिनुभएको छैन।'



सिँढी चढ्दै क्रिकेट, घुँडा टेक्दै रङ्गशाला

पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियाेगिता हुन लागेकाे मुलपानी क्रिकेट रंगशालाकाे तयारी कसरी हुँदैछ ?



एक वर्षदेखि रोकिएको दोस्रो चरणका खेलहरु अबको नयाँ सिजनबाट आयोजना हुने एन्फाका प्रवक्ता सुरेश शाह बताउँछन्। 'एन्फाले महिला लिगको विषयमा पटक पटक छलफल गरिरहेकाे हुन्छ', प्रवक्ता शाहले भने, 'अबको नयाँ सिजनबाट एक वर्षदेखि रोकिएको महिला लिगको खेल हुन्छ।'

एन्फाले महिला लिगको दोस्रो चरणको खेल विराटनगरमा गर्ने योजना बनाएको छ। त्यसकाे लागि एन्फाले विराटनगर महानगरपालिकासँग ४५ लाख रुपैयाँको सम्झौतासमेत गरिसकेकाे छ। यस्तै, दोस्रो चरणको खेलका लागि भरतपुर महानगरपालिकाले पनि एन्फालाई २० लाख रुपैयाँ दिने सम्झौता गरेको थियो।

लिगको लागि महानगरपालिहरुसँग पनि छलफल भइरहेको सह-महासचिवम भट्टराईले बताए। 'महिला लिगको लागि काठमाडौँ महानगरपालिकालगायत अन्य महानगरका मेयरहरुसँग एन्फाको छलफल भइरहेको छ', उनी भन्छन्, 'लिग स्थानीय तहमा हुने भएका कारणले गर्दा एन्फा र महानगरको सहकार्य हुन जरुरी छ।'

नेपालमा पुरुषको तुलनमा महिला लिगहरु कमै हुने गरेका छन्। पुरुषतर्फ डिभिजन लिगहरु, मोफसल प्रतियोगिताहरु आयोजना हुन्छ, तर महिला लिग भने कमै हुन्छ।

महिला लिग समयमै नहुनुमा स्थानीय चुनाव मात्र नभई एन्फाभित्रकाे नेतृत्व परिवर्तन पनि हाे। एन्फाभित्र नेतृत्व परिवर्तन हुँदा यसको प्रत्यक्ष असर महिला लिगमा पर्याे। पहिलाे चरणकाे खेल सकिएकाे १५ दिनभित्र दोस्रो चरणकाे खेल सुरु गर्ने भनिए पनि एक वर्षसम्म लिग आयोजना हुन नसक्दा महिला खेलाडीमा निराशा छाएकाे छ।

यता, सह-महासचिव भट्टराई महिला लिग कम भए पनि नतिजा भने पुरुषको तुलनामा धेरै राम्रो भएकाे बताउँछन्। उनी भन्छन्, 'महिलाहरुलाई प्राथमिकतामा राखेर लिगलाई व्यवस्थित पारेर लग्नुपर्छ। नतिजा नै हेर्न हो भने पुरुषको तुलनामा महिलाहरुको धेरै राम्रो नतिजा रहेको छ। पुरुषको जस्तै अब महिलाहरुको पनि ए डिभिजन लिग गराउने एन्फाको निर्णय छ।'

गत असारमा भएको एन्फाको निर्वाचनपछि गएकाे मसिंरमा महिला लिगको बाँकी रहेको खेल गराउने एन्फाले निर्णय लिएको थियो। तर, एन्फाले गरेको यो निर्णय पनि असफल भयो।

एन्फाका प्रवक्ता शाहका अनुसार अब अहिलेको बैठक सो खेल प्रदेश स्तरमा लैजाने कि महानगरपालिको स्तरमा लैजान भनेर छलफल भइरहेकाे छ।

प्रवक्ता शाहले अहिले लिग सञ्चालन गर्नु चुनाैतीपूर्ण रहेकाे बताए। 'टेक्निकल पाटोबाहेक अहिले लिग सञ्चालन गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ। गत वर्ष लिग खेलेका कतिपय महिला खेलाडीहरु विदेशिएका छन्, कतिपयले विवाह पनि गरिसक्नुभएको छ। यसले गर्दा अलि चुनाैती पनि छ', उनले भने, 'लिगका लागि क्लबहरुसँग एन्फाले यही विषयमा छलफल गरिरहेको छ।'

महिला लिग च्याम्पियनसिपअन्तर्गत वि.स. २०७७ सालमा पहिलोपटक महिला डबल राउन्ड रोविन फर्म्याटमा खेलको आयोजना भएको थियो। कुल १० टिमको सहभागिता रहेको लिगमा पहिलो चरणको २८ खेल चितवनमा भएको थियो। दोस्रो चरणको बाँकी २८ खेल विराटनगरमा आयोजना गर्ने एन्फाको निर्णय थियो।

पुरुषतर्फको ए डिभिजन लिग पनि तीन पटक स्थगित भएर गत फागुन १९ गतेदेखि सञ्चालनमा आयो, तर महिला लिग तोकेको मितिभन्दा धेरै टाढा पुग्दा कतै महिला लिगको बाँकी खेल सञ्चालन नै नहुने पाे हो कि भनेर शंका उत्पन्न हुन थालेकाे छ। एक वर्षदेखि अन्याैलमा परेको महिला लिग समयमै आयोजना गर्न नसक्दा एन्फा थप विवादित पनि बन्न पुगेको छ।

अन्तर्राष्ट्रिय स्तरको खेलबाहेक नेपालमा अहिले महिलाहरुको लागि कुनै प्रकारको खेलहरुको आयोजना भएकाे छैन। जसले गर्दा खेलाडीहरु विदेश जान बाध्य भएका छन्। पुरुषतर्फको खेलहरु महिलाको भन्दा केही हदमा बढी आयोजना हुने गर्छ।

महिला लिग च्याम्पनसिपको सर्वाधिक उपाधि चार पटक नेपाल पुलिस क्लबले जितेको छ। गतवर्ष आयोजना भएको उक्त लिगको विजेतालाई २० लाख, दोस्रो हुनेलाई १० लाख , तेस्रो हुनेलाई ५ लाख र चौथो हुनेलाई ३ लाख प्रदान गरिने एन्फाले जनाएको थियो।

प्रकाशित मिति: : 2023-04-04 12:16:00

प्रतिकृया दिनुहोस्