लेस टक, लेस टेन्सन

अमेरिकामा भन्ने गरिन्छ ‘लेस टक, लेस टेन्सन’ अर्थात् थोरै कुरा, थोरै तनाब। केही अपवादलाई छोडेर दुई नेपाली भेट्यो भने प्राय: बोक्रे अर्थात् कुनै अर्थ नभएको गफ मात्र हुन्छ। अर्काको निजी विषय र महिलाहरुको हकमा यौनसँग जोडेर कुरा हुन्छ। अर्काको दृष्टिमा आफूलाई विशिष्ट प्रमाणित गर्दा धेरै को धेरै ठाउँमा धोती खुस्केको उसैलाई पत्तो हुँदैन। एउटै प्रकारको समाजमा हुर्के बढेको कारण पंक्तिकार पनि त्यसको अपवाद हुन सक्दैन र छैन।

तल उल्लेखित गुण भएका वीर नेपालीहरुसँगको संगत क्रमश कम गर्दै लगेर शुन्यमा पुर्‍याउने र आनन्दसँग बाँच्ने इच्छा छ:

१. फलानो र ढिस्कानो समाजलाई एक सय एक डलर चन्दा दिएर समाजसेवी हुनेहरु
२. बाउ आमालाई अमेरिका ल्याएको भन्ने तर उनीहरुलाई स्याहारेको भनेर दिनको १२ देखि १६ घण्टाको कर मुक्त ज्याला बुझ्नेहरू 
३. त्यही बाउ आमालाई घरको काम गर्न लगाउने र बच्चाको डाइफर फेर्न लगाउनेहरु
४. भारतीय मुलका डाक्टरलाई पैसा ख्वाएर अपाङ्गको प्रमाणपत्र लिएर सरकारसँग ‘डिसेबल बेनिफिट’ लिने र मदेशीको किराना पसलमा नगदमा काम गर्नेहरु 
५. अमेरिकामा सानो ठुलो काम भन्ने हुँदैन भन्ने तर आफूले के काम गर्छु भन्ने खुलाउन नसक्नेहरु 
६. विपी र मदन भण्डारीको सपना साकार पार्ने दौडमा लागेकाहरु
७. अरुलाई फुर्ति देखाउन घर किन्ने र मासिक किस्ता तिर्न ऋण माग्दै हिँड्नेहरु 
८. हरेक शनिबार र आइतबार घरमा तासको अड्डा जमाउने र कटनी उठाउनेहरु, साथै सक्रिय तास खेलाडीसँग श्रीमती पोइलो जाँदा रोइकराइ गर्नेहरु 
९. आफूलाई म्यानेजर हुँ भन्नेहरु 
१०. आफूले मनपरि गर्ने तर श्रीमानले यस्तो नगर्नु भनेर सम्झायो भने र्‍याल र सिँगान निकालेर डाँको छोडेर रुने महिलाहरु 
११. आर्यघाटमा पोल्ने स्थानको अग्रिम बुकिङ्ग गर्ने बेलाकाहरुले महिलालाई रोमान्टिक म्यासेज गर्नेहरु 
१२. नेपालमा गएर पशुपतिको पश्चिम ढोकाअगाडि उभिएर खिचेको फोटो फेसबुकमा अपलोड गरेर मेरो नेपालको नम्बर यो हो भन्नेहरु 
१३. डलर ट्रीबाट नाइक र एडिडास लेखेको टि–सर्ट कोसेली लग्नेहरु
१४. होमलेस कुइरेनीसँग फोटो खिचेर यो मेरो गर्ल फ्रेण्ड भन्नेहरु
१५. आफूलाई अंग्रेजी भाषाको प्रचुर ज्ञान भएको भ्रममा रहेकाहरु
१६. पाहुना लागेको घरमा रक्सी पिएर भित्री वस्त्र मात्र लगाएर उत्तेजक नृत्य गर्ने र ओछ्यानमै मल त्याग गर्नेहरु
१७. एसएलसीमा छैठौँ पटकमा उत्तीर्ण गरेका तर यहाँको र उहाँको पढाइ राम्रो वा नराम्रो भन्ने मान्छेहरु
१८. सबै विषयमा आफू मात्र सर्वज्ञाता छु र अरुलाई कुनै ज्ञान नै छैन भन्ने सम्झिनेहरु
१९. समाजमा नाम चलेका प्रख्यात वा कुख्यात मान्छेहरुसँग आफ्नो मात्र परिचय भएको जस्तो कहिले चिनेको ? भनेर सोध्नेहरु
२०. जमाना चोर फटाहाको रहेछ, हामी जस्ता को केही हुँदैन भनेर आफ्नो क्षमता कति छ भन्ने थाहा नभएकाहरु 
२१. आफ्नो असफलताको कारण अर्थात् उसले यस्तो र उस्तो गरेर भन्दै अरुलाई मात्र दोष लगाउनेहरु
२२. विनाप्रसंग नै ‘आर यु स्योर’, ‘ओ माई गड’ र ‘आर यु ओके’भन्ने बुज्रुकहरु
२३. आफ्नो बारेमा कसैलाई सुइङ्को नदिने तर अरुको आन्द्रा भुँडी सबैको जानकारी चाहिनेहरु।

करिब तीन करोड जनसंख्या भएको नेपाल र पंक्तिकार पनि नेपाली भएको कारण आफ्नो भागमा पर्ने ‘एलर्जी टुल्स’ अर्थात् माथि उल्लेख भएको कुनै एक वा त्यो भन्दा बढी बुँदा पंक्तिकार सहर्ष स्वीकार गर्न तयार छ।

– @twitter#naviinr

प्रकाशित मिति: : 2023-04-28 06:00:00

प्रतिकृया दिनुहोस्