सिंहदरबारमा भ्रष्ट, ठग र दलालहरूको रजगज

जीवन डाँगी

काठमाडौं
BreaknLinks
BreaknLinks

सत्ता र शक्तिको आडमा सिंहदरबारभित्र के–कस्ता कुकर्म भइरहेका छन्? यसको एउटै प्रमाण हो– नक्कली भुटानी शरणार्थी प्रकरण। कहिलेकाहीँ सुन्छौँ– दलालहरूले देश बिगारे, राज्यसत्ता भ्रष्ट भयो। जताततै ठगहरूको बिगबिगी छ। नहोस् पनि कसरी– पूर्वगृहमन्त्री, पूर्वमन्त्री र बहालवाला सचिव नै बिचौलिया प्रयोग गरेर ‘भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने’ भन्दै सयौँ नेपालीबाट प्रतिव्यक्ति लाखौँ कुम्ल्याउँछन्।

देशका प्रधानमन्त्री, मन्त्री, मन्त्रीका भाइछोरा–सालासाली, सचिवालयका बिचौलिया र मन्त्रालयका सचिवहरूले सिंहदरबारभित्र बेग्लै ‘लुट साम्राज्य’ चलाइरहेका छन्। उनीहरू आफूलाई कानुनभन्दा निकै परको बलवान व्यक्ति ठान्छन्। जनतन्त्रको नाममा राज्यसत्ताको चाबी बोकेर दलाल र ठगसँग साँठगाँठ गरिआएका सांसद–मन्त्रीहरू भ्रष्टलाइनको शीर्ष पंक्तिमै छन्।

गाउँ–गाउँदेखि सिंहदरबारसम्म कहाँ छैन भ्रष्टाचार? सबैभन्दा बढी भ्रष्टाचार शीर्ष नेतृत्वबाटै भइरहेको छ। त्यो पनि सिंहदरबारका शासकबाटै भइरहेको छ। गृहमन्त्री, मन्त्री र सचिवबाटै भइरहेको छ। ‘नक्कली शरणार्थीसँगै नक्कली लडाकु, बालुवाटार, वाइडबडी लगायतका अनेकाैँ काण्ड जीवितै छन्। ०७७ सालदेखि ‘नक्कली शरणार्थी बनाएर विदेश पठाइदिन्छु’ भन्दै ठगी अभियान चलाउँदैआएका केशव दुलाल, सानु भण्डारी र टंक गुरुङ प्रहरी खोरमा छन्। प्रहरीको सक्रियता सकारात्मक छ।

‘दलाल दुलाल’ले दिएको बयानअनुसार अन्य दुई बिचौलिया सन्देश शर्मा र सागर थुलुङसमेत खोरमै पुगे। सुरुमा बेरोजगार युवाहरूबाट पैसा उठाएर सिंहदरबारका शासकहरुलाई बुझाउने दाङका गजेन्द्र बुढाथोकी समातिएका छैनन्। नाताले भिनाजु पर्ने नेपाली कांग्रेस दाङका नेता बुद्धिराम भण्डारीलाई लिएर उनै बुढाथोकीले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र गृह सचिव पाण्डेलाई पटकपटक गृह मन्त्रालयमै भेटेका थिए। तर उनीमाथि कुनै कारबाही गरिएन।

नक्कली शरणार्थी प्रकरणलाई भजाएर श्रीमती मञ्जु खाँणमार्फत् करोडौँ रकम असुलेका पूर्वगृहमन्त्री खाँण सत्ताको दुरुपयोग गरेर उम्किन खोजिरहेका छन्। महिनौंअघि पीडितले उजुरी दर्ता गर्दासमेत प्रहरी नेतृत्वले किन तदारुकता देखाएन? अहिले तिनै प्रहरी अधिकारीहरू बालकृष्ण खाँणले लिएको पैसा फिर्ता गराएर भएपनि कसरी जोगाउन सकिन्छ भनेर लागिपरेका छन्।

प्रहरी स्रोतकाअनुसार दलालविरुद्ध १०६ जना पीडितले २० वटा उजुरी दिएका छन्। यी ठगहरूको कनेक्सन एमाले र कांग्रेसको उच्च नेतृत्वसँग छ। सतहमा आएमा दलाल र ठगहरू चानचुने छैनन्, उनीहरू पटकपटक मन्त्री भइसकेका व्यक्तिहरूको संरक्षणमा छन्। यतिबेला एकहुल बिचौलिया र पूर्वमन्त्रीका ‘ठग पुत्र’हरू कानूनी दायरामा छन्। उनीहरूले तत्कालीन गृहमन्त्री रामबहादुर थापा र बालकृष्ण खाँणको पालामा २३ करोडभन्दा बढी असुलेको पीडितहरूको गुनासो छ।

ठगी गरेको आरोपमा पूर्वमन्त्री र प्रशासनिक उच्च अधिकारीमाथि थप अनुसन्धान र आवश्यक कारबाही अघि बढिरहेको छ। सरकारले आरोप लागेकाहरूमाथि ‘ठगी तथा संगठित अपराध’मा मुद्दा चलाउने गरी कारबाही अघि बढाएको छ। अहिले प्रहरीले देखिएकाे सक्रियता प्रशंसा–याेग्य छ। नेपाली नागरिकलाई परिचानविहीन बनाएर तेस्राे मुलुक पठाउन खाेज्ने एकहुल उच्च अपराधीहरूलाई कडा कारबाही गरियाेस्।

बरामद प्रमाण र प्रहरी थुनामा रहेका दलालहरूको बयानका आधारमा दर्जनौँ ‘हाई प्रोफाइल’हरू प्रहरीको निगरानीमा छन्। तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, तत्कालीन उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसमेत पक्राउ परेका छन्। अब उनीहरूले अदातलको सामना गर्नुपर्ने छ।

देशमा अनेकौँ दल छन्। दलभित्र ९० प्रतिशत भ्रष्ट छन्। उनीहरू सांसद हुन्छन्, मन्त्री पनि उनै हुन्छन्। तर मन्त्रालय भने बिचौलिया, ठग र ‘ठग पुत्र’हरूले चलाइरहेका छन्। यी अपराधीहरूलाई मन्त्रालयका सचिवहरूले राम्रोसँग साथ दिइरहेको गृह मन्त्रालय स्रोत बताउँछ। 

त्यस्तै, नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डेसमेत नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका छन्। उनी तत्कालीन बालकृष्ण खाँणका प्रिय पात्र मानिन्थे। उनै ठग र दलालसँग साँठगाँठ गर्दैआएका सचिव पाण्डे अहिले प्रहरी खोरमा छन्। यसप्रकारको महाअपराधमा तत्कालीन गृह सचिवसँगै पूर्वगृहमन्त्री खाँणसमेत जोडिएका छन्। सत्ता र शक्तिको आडमा उच्च राजनीतिक नेतृत्वलाई छलेर ‘साना माछा’मै सीमित पार्ने काम नहोस्। 

प्रहरी प्रशासनले ठगी प्रकरण खोतल्दै जाँदा शंकाको घेरामा रहेका एमाले सचिव टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी छ। सम्भवतः उनीहरू छिट्टै पक्राउ पर्नेछन्। नक्कली भुटानी शरणार्थी प्रकरणको लहरो तान्दा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृह सचिव महेश्वर न्यौपाने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त प्रेमकुमार राईसमेत अनुसन्धानमा तानिँदैछन्।

‘हाई प्रोफाइल’ ठगहरूको कनेक्सन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवासम्मै फैलिएकाे छ। सिंहदरबारका दलालहरूको कर्तुत एकाएक सतहमा आएपछि बिहीबार दिउँसो प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षओलीबीच गोप्य वार्ता भएकाे छ। यस्तो गम्भीर अपराधमा जोडिएका पूर्वमन्त्री वा बहालवाला सचिवलाई यो वा त्यो बहानामा उम्काउने काम राज्य–प्रशासनबाट कदापि नहोस्।

भ्रष्टाचारप्रति शून्य सहनशीलताकाे नारा घन्काउने संवैधानिक आयोगको नेतृत्वमा बसिरहेका पात्र हुन्, प्रेमकुमार राई। नक्कली भुटानी शरणार्थी प्रकरणले प्रष्टसँग भनिरहेको छ– ‘भ्रष्टाचार नियन्त्रणको लागि स्थापित संवैधानिक संस्था’मा भ्रष्ट र ठगहरूकै ढलीमली छ। ठगहरूले बयानका क्रममा नाम पोलेका प्रमुख आयुक्त राईले यतिबेला के सोचिरहेका होलान्, के खोजिरहेका होलान्?

उनी २७ चैत २०७४ देखि २० माघ २०७६ सम्म गृहसचिव थिए। अख्तियारजस्तो एउटा गम्भीर र महत्वपूर्ण संस्थाको नेतृत्वमा रहँदै ठग प्रकरणमा मुछिएका राई अबपनि त्यहाँ बस्न सुहाउँछ? तत्कालै राजीनामा दिएर छानबिन र अनुसन्धानलाई सघाँउनुपर्दैन? प्रहरी स्राेतकाअनुसार उनीबारे थप प्रमाण र तथ्य खोतल्ने प्रयास भइरहेकाे छ।

भुटानी शरणार्थी प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त राईलाई कुनैपनि बहानामा उन्मुक्ति दिइनु हुँदैन। भ्रष्ट, ठग र दलालहरू खोजी–खोजी खोरमा लगियोस्, तत्काल कानूनी कारबाही गरियोस्। बयानका क्रममा कुनैपनि दलालले ‘हाई प्रोफाइल’को नाम लिँदैमा वा डायरीमा हिसाबकिताब देखाउँदैमा ‘ऊ दोषी नै हो’ भन्ने चाहीँ होइन। तर गृहमन्त्रलय जस्तो महत्वपूर्ण र शक्तिशाली निकायमा रहँदा राजनीतिक वा प्रशासनिक नेतृत्वले दलाल वा ठगसँग यो हदको लेनदेन गर्छ भने त्यो नेता वा कर्मचारी भ्रष्ट नै हो।

के सिंहदरबारभित्र भ्रष्ट, ठग र दलालहरू मात्रै बस्छन्? ढुक्कसँग भन्न सकिँदोरहेछ– सिंहदरबार चोरलाई चौतारी भयो। देशमा जे–जति तमासा भइरहेको छ, यसको प्रमुख कारण पटकपटक प्रधानमन्त्री हुँदै आएका प्रचण्ड, ओली, देउवा, माधव नेपाल र बाबुराम भट्टराई नै हुन्। उनीहरूले दयामाया दर्शाएर छेउछाउतिर राखेका ठगहरू नै मतिभ्रष्ट भएर निस्किएका छन्।

यी–यस्तै, भ्रष्टहरूका कारण नेपालको शासन व्यवस्था, भ्रष्टाचार र प्रशासनिक कल्चर डरलाग्दाे र घिनलाग्दाे तहमा पुगेकाे छ। देशकाे शासन व्यवस्था इमान र निष्ठामा चलोस् भन्ने हेतु राख्दैआएका नेपाली मतदाताले दिनप्रतिदिन सास्ती खेपिरहेका छन्। नक्कली शरणार्थी प्रकरणमा मुछिएका धुन्धुकारीहरूले विधिकाे शासनको धज्जी उडाएका छन्।

प्रकाशित मिति: : 2023-05-04 20:50:00

प्रतिकृया दिनुहोस्

    देशमा भईरहेकाे भ्रष्टाचारको सुरुअात नै सिहदरबारबाट भएकाे छ। बिगत देखिकाे छानबिन गरि यिनीहरु सबलाई फासी दिनुपर्छ। यस्ता भ्रष्टहरुले गर्दा नै देश याे अबस्थामा पुगेकाे हाे।

    • 10 महिना अगाडि
    • Krishna Gurung