मुर्झाएका बस्तीको अधुरा सपना

दिपा धिताल

रूकुम (पश्चिम)

कुनै समय थियो, मान्छेलाई दिनमै सपना देखाइन्थ्यो। गरिबी, अभाव र अशिक्षाको चरम फाइदा लिन विपन्नका लागि फगत योजना तयार हुन्थे। शिक्षा बुर्जुवा थियो अनि मर्यादा रुढीवादी। हातलाई माथि उचाल्नु, मुठी पारेर अभिवादन गर्नु अनि तल झारेर हात मिलाउनु। सिकाइको सुरुवात र अन्त्य। मुर्झाएका बस्तीभित्र आश्वासनको ललिपपले दशवर्ष सहजै थेग्यो।

सपनामा देखाइएजस्तो गणतन्त्र मात्र आएन, संघीयताका नाममा घर छेउमा सरकार आयो त्यो पनि आर्थिक अधिकारसहितको। छिमेकी टाठाबाठाहरु गक्षअनुसारका सिंहदरबारमा पुगे। गाउँमा चहलपहल बढ्यो। केहीका रुपरंग र पोसाक अनि घरका छाना फेरिए। विस्तारै उनीहरुको बान्कीसंगै खान्की पनि फेरियो। सडक नपुग्दै सेतो प्लेटका गाडी र मोटरसाइकल गाउँ पुगे।

जनै फालेकाले लगाउन थाले, कर्म र धर्म छाडेकाले अपनाउन थाले। क्रान्तिकारी देखिनका लागि सुरु गरिएको खानपान र विवाहमा तुष पलाउन थाल्यो। केहीका हैसियत हेर्दाहेर्दै आकासियो। दुर्गममा क्रान्ति हराएका मुहार भने उस्तै छन् तर पनि क्रान्ति सफल भयो। श्रीमानले बैठकमा सहभागिता जनाए पनि बैठक निर्णयमा श्रीमतीको हस्ताक्षर चल्न थाल्यो। जबरजस्त सहभागिता सुरु भो।

द्वन्द्वको सुरुवातीमै देशका मध्य पहाडी जिल्लाका गाउँहरुमा क्रान्तिको राँको सल्कियो। सदरमुकाममा सरकारी सत्ता अनि गाउँमा विद्रोही सत्ता। मर्ने मारिनेको गन्ती हुन छोड्यो। अप्रेशन र भिडन्तमा प्राय: निमुखा मात्रले सहादत प्राप्त गरे। बन्दुकको गोली र खुकुरीको धारले नेता, कार्यकर्ता, मानव ढाल र सरकारी सुरक्षाकर्मीको फुली चिनेर सामिप्यता जनायो।

अनेक उतारचढाबका बिचमा जनताले रोजे-खोजे जस्तो व्यवस्था भित्रिए पनि मुर्झाएका बस्ती तङ्ग्रिएनन्। आम जनताका सपना बलि चढिरहे। शिक्षा, स्वास्थ्य, गास, बास र कपास जस्ता मौलिक हक कागजका पानाबाट निस्केर गाउँ छिर्न सकेनन्। आधाभन्दा धेरै संख्यामा रहेका महिला, दलित, जनजातिप्रतिको भेदभाव घटेन। अवसरका समयमा कानुनको गलत व्याख्या गर्दै उपेक्षितका भाग खोसियो।

घटना नम्बर १: द्वन्द्वका समयमा दुई छोरालाई साक्षी राखेर आमाको बलात्कार गरियो। प्रतिवाद गर्न खोज्ने अलि चलाख कान्छो छोरालाई गोलीको निसाना साँधियो। ३ जना छिर्केबिर्के कपडा लगाएका बन्दुकधारीबाट याैन शोषणमा परेकी उनी यतिबेला ५१ वर्षकी भइन्। भूमिगत भएका श्रीमानको अत्तोपत्तो छैन।

मानसिक समस्यामा रहेकी उनी धेरै वर्ष भयो राति निदाउन सकेकी छैनन्। बलात्कारका कारण छिमेकीसंग मुख देखाउन गाह्रो भएको भन्दै बसाइँ सरेकी उनको खुसी लुटिएको दुई दशक बढी भयो। काउन्सिलिङले अलि बिसेक भएकी उनलाई शारीरिक उपचारको पनि तीव्र खाँचो छ।

घटना नम्बर २: दुर्गम गाउँकी अबोध किशोरी। घर छेउमा मावि नभएका कारण विद्यालय जान पाइनन्। बिहानभर घरधन्दा सकेर गोठालो गएकी थिइन्। बन्दुकेहरु कताबाट माओवादी खोज्दै आए। रिसले चुर भएका उनीहरुले गोठाला गएका स्थानीय युवाहरुलाई नराम्रोसंग पिटे। दुई किशोरीलाई ४/५ जनाले पालैपालो बलात्कार गरे।

च्यातिएको कपडा अनि रगताम्य यौनाङ्ग लिएर घर आएकी उनलाई परिवार र समाजले हेला गर्न थाल्यो। समय बित्दै जाँदा पल्लो गाउँमा पाको उमेरका एकल पुरुषसँग उनको बिहे भयो। रक्सीले गल्दै गएका उनको श्रीमानले दुई सन्तान काखमा दिएर संसार छोडे। यतिबेला उनलाई मानसिक समस्यासंगै आधी दर्जन बढी रोगले घेरेको छ। तर आर्थिक अभावका कारण सदरमुकामसम्मको अस्पतालसमेत पुग्न सक्ने अवस्था छैन।

घटना नम्बर ३: छाेरीलाई माओवादीमा हिँड्न नदिएपछि विवादमा तानिएका श्रीमानलाई बेपत्ता पारिएको धेरै वर्ष भयो। श्रीमानको मृत्युदर्ता नहुँदा न सामाजिक सुरक्षा भत्ता पाइन्, न त भएको थोरै जग्गा पनि नामसारी भयो। छोरा-बुहारीले अंश माग्न थालेका छन् तर उनी अलमलमा छिन्।

घरमा मिठो खाना पाक्दा उनलाई श्रीमान आउँछन् कि जस्तो लाग्छ, त्यसैले एक भाग देउता कोठामा राखिदिन्छिन्। ठुलो नाती हाँस्दै आएर बेपत्ता हजुरबुवाको भाग खाइदिन्छ। अभावका बिचमा छोराछोरी हुर्काएकी उनलाई यतिबेला सम्पत्ति हस्तान्तरण हुन नसक्दा असाध्यै गाह्रो भएको छ।

घर छेउको स्थानीय सरकारका प्रतिनिधिले बस्तीका समस्या नबुझेका हैनन्। महिलाहरुलाई मानसिक र शारीरिक उपचारको खाँचो जानकारी छ तर मौन छन्। टाढाको अस्पताल पुग्न नसक्नेका लागि वर्षमा एक/दुई पटक शिविरसम्म पनि सञ्चालन गर्दैनन्। हिजो दिउँसै देखाइएका सपनाहरु खुसीसंगै बलि चढेका छन्। आधारभूत कुराहरुसमेत दैलोमा छिर्न नपाएपछि स्थानीयहरुमा जनप्रतिनिधिप्रति मोह मर्दै गएको छ।

संक्रमणकालीन न्याय भन्ने केही नबुझेका धेरै द्वन्द्वपीडितहरु परिपुरणको आशामा छन्। फेरि अदालत, न्याय अनि मुद्धाभन्दा पनि समाजमा सहज जीवनयापन गर्न पाए पीडितलाई धेरै हुन्छ। द्वन्द्वका क्रममा जोखिम भोगेका महिलाहरु शान्ति स्थापनापछि पनि फरक जोखिममा छन्। हेला, अपमान सँगै मनको भारीले थिचिएका उनीहरु मनको भारी बिसाएर सहज जीवन बिताउने अपेक्षामा छन्।

पञ्चायत ढलेको सुइँको नपाएका धेरैले माओवादी युद्ध सकिँदासम्म पनि प्रजातन्त्रविरुद्धको लडाइँ बुझेका थिएनन्। गणतन्त्र आउँदासम्म पनि राजाको देश र राजाकै शासन मानसपटलमा बोकेका स्थानीयहरु अहिले भने छोटे राजाको हालिमुहालीसँग परिचित हुँदैछन्। अभावले मुर्झाएका दुर्गमका बस्तीमा यतिबेला अधिकारसँगै मौलिक हक मात्रको परिपूर्तिले पनि धेरै हुने देखिन्छ।

(लेखक ओरेक रुकुमका जिल्ला संयोजक हुन्।)


दुर्गमका महिलाको स्वास्थ्य दर्दनाक, कहिले जान्छ राज्यको ध्यान ?

व्यवस्था फेरियो, मन फेरिएन

निर्वाचनमा महिला: कागलाई बेल !

प्रकाशित मिति: : 2023-05-15 21:00:00

प्रतिकृया दिनुहोस्

    घर छेउको स्थानीय सरकारका प्रतिनिधिले बस्तीका समस्या नबुझेका हैनन्। महिलाहरुलाई मानसिक र शारीरिक उपचारको खाँचो जानकारी छ तर मौन छन्। टाढाको अस्पताल पुग्न नसक्नेका लागि वर्षमा एक/दुई पटक शिविरसम्म पनि सञ्चालन गर्दैनन्। हिजो दिउँसै देखाइएका सपनाहरु खुसीसंगै बलि चढेका छन्। आधारभूत कुराहरुसमेत दैलोमा छिर्न नपाएपछि स्थानीयहरुमा जनप्रतिनिधिप्रति मोह मर्दै गएको छ। मलाइ नाम्राे लाग्याे, मिस

    • 11 महिना अगाडि
    • lalit dk oli

    good article madam

    • 11 महिना अगाडि
    • लालसिंह थापा (प्रशान्त)

    रूकुमकाे कथालाइ राम्राेसँग देखाउनुभएकाे धन्यवाद छ माअाेवादीहरूले जनतालाइ दुख दिएर केही गर्न सकेन

    • 11 महिना अगाडि
    • प्रमेश हमाल