गर्भपतन सेवा लिन बाहिरी जिल्ला जानुपर्ने बाध्यतामा रोल्पाली

BreaknLinks
BreaknLinks

रोल्पाका कुलेन्द्र (परिवर्तित नाम) र रेविका (परिवर्तित नाम)ले विवाह गरेको चार वर्ष भयो। चार वर्षमा दुई सन्तान जन्मिसके। कुलेन्द्र २१ वर्ष हुँदा र रेविका २० वर्ष हुँदा भागी विवाह गरेका थिए। 

विवाह गरेको चार वर्षमा दुई सन्तान बनाइसकेका उनीहरुलाई थप सन्तान जन्माउने चाहना थिएन। तर, रेविकाको अनइच्छुक गर्भ रहन पुग्यो। गर्भ रहेको थाहा भएपछि रेविकाले गर्भपतन सेवा लिने सोच बनाइन्।

तर, उनले सोचेको जस्तो गर्भपतन सेवा लिन सहज भएन। श्रीमान कुलेन्द्र कमाउन बाहिर गएकाले घरमा छैनन्। घरमा सासु–ससुरा छन्, उनीहरुलाई गर्भपतन गर्छु भन्न रेविकाले सकिनन्। 

गाउँमा सरकारी स्वास्थ्य चौकी छ। उनी स्वास्थ्य चौकीमा समयमै पुग्न सकिनन्। स्वास्थ्य चौकी पुग्दा गर्भवती भएको १० हप्ता बढी भइसकेको थियो। स्वास्थ्य चौकीबाट १० हप्तासम्मको र औषधिबाट मात्र गरिने गर्भपतन सेवा पाइन्छ।

रेविका स्वास्थ्य चौकीमा पुग्दा गर्भवती भएको १० हप्ता नाघेको भन्दै उनलाई घर फर्काइयो। स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीले गर्भपतन गर्न नमिल्ने जानकारी दिएपछि उनी थप तनावमा परिन्। सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ अनुसार १० हप्तासम्मको गर्भपतन औषधि सेवनबाट गर्न पाइन्छ। १० हप्तापछिको गर्भपतन गर्न सर्जिकल (शल्यचिकित्साह) गर्नुपर्छ।   

रेविकाका श्रीमान कुलेन्द्र घर आएपछि उनीहरु गर्भपतन सेवा लिन दाङ जाने योजना बनाए। उनीहरुको घरबाट रोल्पाको सदरमुकाम लिवाङमा रहेको रोल्पा अस्पताल र दाङ पुग्न लाग्ने समय लगभग एउटै (कबिर ६ घण्टा) छ। अझ उनीहरुलाई बसको यात्रामा दाङ पुग्नलाई सहज हुने गर्छ। 

त्यसपछि उनीहरु दाङ पुगेर मान्यता प्राप्त स्वास्थ्य संस्थामा गर्भपतन सेवा लिए। 

०००

नन्दनी (परिवर्तित नाम) गर्भ पहिचान गर्न चाहन्छिन्। पहिलो सन्तानको रुपमा छोरी भएकाले अब उनी छोरा बनाउने योजनामा छिन् र गर्भ पहिचान गर्न चाहन्छिन्। तर, उनलाई गर्भ पहिचान गर्न समस्या भएको छ।

गाउँमा भएको स्वास्थ्य चौकीमा भिडियो एक्सरे मेसिन छैन। उनी गर्भ पहिचान गर्न बसमा पाँच घण्टाको यात्रा गरेर सदरमुकाम लिवाङमा पुग्नुपर्छ, नत्र दाङ जानुको विकल्प छैन। उनलाई लिवाङ जानुभन्दा दाङ जानुमा थप सहज छ। नजिकै अन्य स्वास्थ्य संस्था छैनन्।

कुन स्वास्थ्य संस्था र कहाँ जाने भन्दैमा नन्दनी र उनका श्रीमानलाई समय लाग्यो। उमेरले २६ वर्ष भएकी नन्दनी गर्भ पहिचान गर्न दाङ पुग्दा उनको गर्भ रहेको १२ हप्ता बढी भइसकेको थियो। सरकारद्वारा मान्यता प्राप्त स्वास्थ्य संस्थामा गर्भ पहिचान गरेर गर्भपतन सेवा लिन पाइँदैन। 

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ अनुसार नेपालमा गर्भवती व्यक्तिको मञ्जुरीले १२ हप्तासम्मको मात्र गर्भपतन गर्न पाइन्छ। त्यो पनि गर्भ पहिचान गर्न पाइँदैन।

१२ देखि २८ हप्तासम्मको गर्भपतन गर्न श्रीमानको मञ्जुरीसहित गर्भवती व्यक्तिको शारीरिक तथा मानसिक अवस्था बिग्रिएमा, जवरजस्ती करणी वा हाडनाता करणीबाट गर्भरहन गएमा, एचआइभीजस्ता निको नहुने रोग लागेमा, भ्रुणमा खराबी भएमा मात्र गर्भवती व्यक्तिको मञ्जुरीले गर्भपतन गर्न पाइन्छ।

नन्दनीलाई आफ्नो जिल्ला रोल्पामा अस्पताल नहुँदा समस्या भयो। दाङ पुग्दासम्म कानुन बाधक बन्यो। त्यसपछि उनले ८० हजार बढी खर्च गरेर दाङको एक निजी स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा लिइन्। 

०००

माथि उल्लेखित दुई उदाहरणले रोल्पामा सहज रुपमा गर्भपतन सेवा लिन गर्भवती व्यक्तिलाई कठिनाइ भएको प्रष्ट्याउँछ। रोल्पा पहाडी जिल्ला हो। एक नगरपालिकासहित १० वटा स्थानीय तह रहेको यस जिल्लामा गर्भवती भएका व्यक्तिले सहज रुपमा गर्भपतन सेवा लिन पाइरहेका छैनन्।

रोल्पामा सुविधा सम्पन्न स्वास्थ्य संस्था नहुँदा महंगो पैसा खर्च गरेर दाङ वा अन्य जिल्लामा जानुपर्ने बाध्यता छ। जिल्ला छाडेर जानुपर्ने अवस्था वा घरदेखि टाढा लिवाङसम्म जानुपर्ने बाध्यताका कारण कतिपय गर्भवती व्यक्तिहरु धेरै सन्तान जन्माउनुपर्ने अवस्थामा रहेको स्वास्थ्य कार्यालय रोल्पाका पूर्व कर्मचारी कुमार थापा बताउँछन्। थापा हाल लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयमा छन्।

रोल्पामा गर्भपतन सेवा दिनका लागि पालिका तहसम्म स्वास्थ्य संस्थाहरु नभएका होइनन्। जिल्लाका १० पालिकाका २२ वटा स्वास्थ्य चौकीमा गर्भपतन सेवा पाइन्छ। तर, यी सबै स्वास्थ्य चौकीमा विशेषज्ञ सेवा पाइँदैन। औषधिबाट १० हप्तासम्मको मात्र गर्भपतन सेवा यी स्वास्थ्य चौकीमा पाइन्छ।

स्वास्थ्य कार्यालय रोल्पाका निमित्त प्रमुख कृष्णप्रसाद पोखरेलले हाल जिल्लाका २२ वटा स्वास्थ्य चौकीबाट गर्भपतन सेवा दिइरहेको र यसलाई बढाउने गरी सरकारद्वारा स्वीकृति लिने तयारी भएको बताए। उनकाअनुसार रोल्पामा गर्भपतन सेवा दिनका लागि ३९ जना चिकित्सकले स्वीकृति पाएका छन्। उनै चिकित्सकको संख्याअनुसार थप स्वास्थ्य चौकीहरुमा पनि सेवा विस्तारको तयारी छ।

डाक्टरसहितको गर्भपतन सेवा पाइने रोल्पा अस्पताल एक मात्र हो। यस अस्पतालमा १२ हप्तासम्मको अप्रेसनसहितको गर्भपतन सेवा पाइन्छ। अब छिट्टै १२ हप्तादेखि २८ हप्तासम्मको सेवा दिनका लागि पनि तयारी गरिएको स्वास्थ्य कार्यालय रोल्पाका निमित्त प्रमुख पोखरेलले जानकारी दिए।

गुणस्तरीय उपचार नहुँदा रोल्पालीले अकालमै ज्यान गुमाइरहेको भन्दै डाक्टरको व्यवस्था गर्न सांसद ईश्वरी जीएमले संसदमै माग गरेकी थिइन। रोल्पाकी सांसद जीएमले वैशाखमा संसदमा बोल्दै भनेकी थिइन, ‘रोल्पामा एक जना विशेषज्ञ चिकित्सकको समेत व्यवस्था छैन। जिल्ला बाहिर बिरामीलाई रेफर गर्दा बिरामी रोल्पालीहरुले अस्पताल नपुग्दै बाटोमै अकालमा ज्यान गुमाउनुपरिरहेको छ। यसमा सरकारलाई अलिकति लाज अप्ठयारो लाग्छ कि लाग्दैन ?’

एउटै अस्पतालबाट पाँच वर्षमा ४६९ जनाले लिए गर्भपतन सेवा 

रोल्पामा सर्जिकलविधिद्वारा (औजार प्रयोग) गर्भपतन सेवा दिने अस्पताल एक मात्र छ। लिवाङमा रहेको रोल्पा अस्पतालले १२ हप्तासम्मको गर्भपतन सेवा दिइरहेको छ। एउटा अस्पतालबाट मात्रै पाँच वर्षमा सर्जिकलविधिद्वारा चार सय ६९ जनाले गर्भपतन सेवा लिएका छन्।

स्वास्थ्य कार्यालय रोल्पाकाअनुसार आर्थिक वर्ष २०७५/०७६ देखि आ.व. २०७९/०८० को छ महिनामा गरी चार सय ६९ जनाले गर्भपतन सेवा लिएका हुन्। यो तथ्यांकले गर्भपतन गर्न ईच्छुक धेरै रहेको देखाउँछ। तर, धेरै अनइच्छुक गर्भ रहेका व्यक्तिहरु अस्पतालको पहुँचमा नहुँदा धेरै बच्चा जन्माउन बाध्यसमेत रहेको रोल्पामा कार्यरत स्वास्थ्यकर्मी बताउँछन्।

रोल्पामा औषधि प्रयोग गरेर र सर्जिकल विधिद्वारा गर्भपतन गर्नेको संख्या अझ धेरै छ। आर्थिक वर्ष २०७५/०७६ देखि आ.व. २०७९/०८० को छ महिनामा रोल्पामा तीन हजार ६८८ जनाले गर्भपतन सेवा लिएका छन्। यो रोल्पाका सूचिकृत स्वास्थ्य संस्थाबाट सेवा लिनेको संख्या मात्र हो।

जिल्ला बाहिर गएर गर्भपतन सेवा लिनेको संख्या सोही हाराहारीमा हुन सक्ने चिकित्सक अनुमान गर्छन।

यो पनि 

चाहेर पनि पाइँदैन गर्भपतन सेवा, कानुनी अड्चनले समस्या बढ्दो

प्रजनन् स्वास्थ्य : अस्पताल नगएर प्रयोग गर्न सकिने ‘सायन प्रेस’ के हो ?

पाठेघर मुखकाे क्यान्सरकाे जाेखिममा महिलाहरू

प्रकाशित मिति: : 2023-05-15 21:45:00

प्रतिकृया दिनुहोस्